close

जब सामाजिक सञ्जालको बहसले निम्त्यायो परमाणु युद्धको चिन्ता !

टेकपाना टेकपाना

साउन २०, २०८२ १७:५१

जब सामाजिक सञ्जालको बहसले निम्त्यायो परमाणु युद्धको चिन्ता !

 

काठमाडौँ । सामाजिक सञ्जालमा सुरु भएको सामान्य लाग्ने एक बहसकै कारण परमाणु युद्धको चिन्ता बढेको छ । पूर्व रुसी राष्ट्रपति दिमित्री मेदवेदेवका सामाजिक सञ्जालका पोस्टहरूको शृङ्खलाबद्ध प्रतिक्रिया स्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस नजिक दुई परमाणु पनडुब्बी तैनाथ गर्न आदेश दिएका हुन् ।

ट्रम्प र मेदवेदेवबिचको तनाब सामाजिक सञ्जालमा धेरै दिनदेखि चलिरहेको थियो । यो विवाद ट्रम्पले युक्रेन युद्ध रोक्नका लागि रुसलाई दिएको ५० दिनको समयसीमा घटाएर दुई हप्ताभन्दा कम गरेपछि सुरु भएको हो । यसको जवाफमा मेदवेदेवले एक्समा पोस्ट गर्दै ट्रम्प रुससँग अल्टिमेटमको खेल खेलिरहेको र हरेक नयाँ अल्टिमेटम एक धम्की र युद्धतर्फको कदम भएको बताएका थिए ।

ट्रम्पले तुरुन्तै जवाफ फर्काउँदै मेदवेदेवलाई बोल्दा सावधान रहन चेतावनी दिए । उनले मेदवेदेवलाई 'असफल पूर्व रुसी राष्ट्रपति' को रूपमा आलोचना गरे । "जो अझै पनि आफू सत्तामा भएको सोच्छन्, र धेरै खतरनाक क्षेत्रमा कदम चाल्ने भन्दै चेतावनी दिँदै छन्," ट्रम्पले भनेका थिए ।

मेदवेदेवले पछिल्लो पोस्टमार्फत 'डेड ह्यान्ड'को सन्दर्भ उल्लेख गरेपछि तनाव झन् चर्कियो । 'डेड ह्यान्ड' सोभियत कालिन रुसमा विकसित एक स्वचालित परमाणु जवाफी हमला प्रणाली हो । यो सन्दर्भले डोनल्ड ट्रम्पलाई रुष्ट बनायो ।

सामाजिक सञ्जालमा मेदवेदेवसँगको टकरावकै कारण ट्रम्पले रुस नजिक दुई परमाणु पनडुब्बी तैनाथ गर्ने आदेशको दिएको घोषणा गरे । न्युज म्याक्ससँगको एक अन्तर्वार्तामा उनले जिकिर गरे, "मेदवेदेवले परमाणु हतियारहरूको बारेमा धेरै नराम्रा कुराहरू भनेका छन् ।" परमाणु शब्द उल्लेख गरेपछि अन्तिम खतराको रूपमा लिएर तुरुन्तै आफूले उच्च सतर्कता अपनाएको उनको भनाई छ ।

यसरी ट्रम्पले मेदवेदेवको पछिल्लो सामाजिक सञ्जाल पोस्टलाई अत्यन्तै व्यक्तिगत रूपमा लिए र त्यसै अनुसार प्रतिक्रिया दिँदै परमाणु पनडुब्बी तैनाथ गर्ने घोषणा गरे । यस घटनालाई लिएर आधिकारिक प्रतिक्रिया दिँदै रुसका प्रवक्ता दिमित्री पेस्कोभले मस्को कुनै पनि विवादमा पर्न नचाहेको बताए । पेस्कोभले अमेरिकी पनडुब्बीहरू पहिले देखि नै खटाइएको स्पष्ट पार्दै यसबाट तनाव बढ्ने कुरालाई खारेज गरिदिए । यद्यपि, उनले परमाणु सम्बन्धी बयानबाजीलाई लिएर सबैले धेरै सावधान रहनुपर्नेमा जोड दिए ।

रुसी मिडियाले ट्रम्पको घोषणालाई खासै गम्भीरताका साथ लिएका छैनन् । कोमर्सान्त अखबारसँग कुरा गर्दै रुसका एक अवकाश प्राप्त लेफ्टिनेन्ट जनरलले ट्रम्पको पनडुब्बी सम्बन्धी बयानलाई बेमतलबको बकवास भनेका छन् । यसलाई 'उनको रमाइलो गर्ने तरिका मात्र' भएको उनले बताए ।

युक्रेनमा रुस पूरा स्तरमा आक्रामक भएदेखि मेदवेदेव तीखा र पश्चिमा विरोधी पोस्ट सामाजिक सञ्जालमा गरिरहन्छन् । उनका अधिकांश पोस्टहरूलाई सामान्यतया धेरैले बेवास्ता गरिरहेका हुन्छन् । किनभने उनको भनाईलाई रुसको आधिकारिक धारणा मानिँदैन ।

यद्यपि, उनका हालका बयानहरूले अमेरिकी राष्ट्रपतिको ध्यान खिच्न सफल भएका छन् । जसले उनलाई निकै आक्रोशित तुल्याएको छ । मेदवेदेवले सामाजिक सञ्जालमार्फत यस अघि पनि परमाणु धम्की दिने गरेका थिए । त्यसैले उनका हालका टिप्पणीहरू कुनै नयाँ विषय होइनन् ।

सामाजिक सञ्जालको पोस्टका कारण परमाणु पनडुब्बी तैनाथ गर्ने घोषणाले भने धेरैलाई अचम्मित तुल्याएको छ । विश्लेषकहरूले व्यापार वा राजनीति दुवैमा अप्रत्याशित कमद चाल्नुलाई ट्रम्पको कार्यशैलीको मुख्य विशेषताको रूपमा अर्थ्याउने गरेका छन् ।

कोमर्सान्तले सन् २०१७ को यस्तै एक घटनालाई सन्दर्भको रूपमा उल्लेख गरेको छ । जब ट्रम्पले उत्तर कोरियालाई चेतावनी दिन दुई परमाणु पनडुब्बी कोरियाली प्रायद्वीपमा पठाएको दाबी गरेका थिए । तर पछि उत्तर कोरियाली नेता किम जोङ उनसँग उनी आफैले भेटेका थिए ।

पछिल्लो अध्यावधिक: साउन २०, २०८२ १७:५१