याडिया भेलाक्स सिरिजका स्मार्ट फिचरयुक्त बिजुली स्कुटर बजारमा, सुरुवाति मूल्य २ लाख ७५ हजार
साउन २१, २०८२ २०:२२
काठमाडौँ । आफूलाई विश्वकै नम्बर १ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी ब्रान्ड भनेर दाबी गर्ने याडियाले आफ्नो भेलाक्स सिरिजका बिजुली स्कुटर नेपाली बजारमा ल्याएको छ । नेपालका लागि कम्पनीको आधिकारिक वितरक कुजु नेपाल प्रालिले बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आफ्ना नयाँ स्कुटर सार्वजनिक गरेको हो ।
याडिया भेलाक्स सिरिज प्रर्फमेन्स, स्मार्ट फिचर र दैनिक जीवनको सहजतामा आधारित रहेको कम्पनीले जनाएको छ । भेलाक्स फास्ट चार्जिङ, भेलाक्स यू: अल्ट्रा पर्फमेन्स र भेलाक्स एचः हाई पर्फर्मेन्स गरी तीन मोडेलमा यो स्कुटर बजारमा आएको छ । जसले नेपाली प्रयोगकर्ताहरूलाई सहरी मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ । स्कुटरको सुरुवाति मूल्य २ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
भेलाक्स फास्ट चार्जिङ मोडेल व्यस्त जीवनशैली अपनाउने र छिटो चार्जिङ गर्नुपर्ने आवश्यकता भएका प्रयोगकर्ताका लागि डिजाइन गरिएको हो । यो २० मिनेटमै ८० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । यसमा ७६ भोल्ट ३० एएच एलएफपी ब्याट्री छ, जसले ११० किमी सम्मको रेन्ज दिने बताइएको छ ।
कम्पनीका अनुसार ३.२ किलोवाट क्षमताको मोटर, ६२ किमी प्रति घण्टाको टप स्पिड र १७२ एनएम टर्क रहेको यो स्कुटरले फास्ट चार्जिङसँगै भरपर्दो पर्फमेन्स प्रदान गर्छ । विशेषगरी डेलिभरी सेवामा संलग्न वा दैनिक यात्रा गर्नेहरूका लागि यो उपयुक्त विकल्प हुन सक्छ ।
भेलाक्स यू (अल्ट्रा पर्फर्मेन्स) स्कुटर याडियाको प्रमुख मोडेल हो । डुअल ७४ भोल्ट २० एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित यो स्कुटरमा १४० किमी सम्मको रेन्ज रहेको छ । ४.९ किलोवाट क्षमताको मोटर रहेको यसले ८० किमि प्रति घण्टाको टप स्पिड र १७६ एनएम टर्क उत्पन्न गर्न सक्छ ।
सिरिजको तेस्रो मोडेलको रूपमा रहेको भेलाक्स एच खासगरी दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध विकल्प हो । यसमा ७२ भोल्ट ३० एएच ब्याट्री राखिएको छ, जसले १०० किमिसम्मको रेन्ज दिने बताइएको छ । ३.२ किलोवाट क्षमताको मोटर, ६२ किमि प्रति घण्टाको टप स्पिड रहेको भेलाक्स एचले १७२ एनएम टर्क उत्पन्न गर्न सक्छ ।
भेलाक्स सिरिजका स्कुटरहरूमा क्रुज कन्ट्रोल, रिभर्स मोड, कीलेस स्टार्ट, स्मार्ट अनलक, मोबाइल एप इन्टिग्रेसन, एन्टी-थेफ्ट अलर्ट, ट्य्राकिङ र डाइग्नस्टिक, रिजेनेरेटिभ ब्रेकिङ, यूएसबी पोर्ट, एलईडी लाइट, फुल डिजिटल ड्याशबोर्ड जस्ता फिचर छन् ।
कम्पनीले यी मोडेलहरूमा ३ वर्ष वा ३० हजार किमीको वारेन्टी उपलब्ध गराएको छ । कुजु नेपालका देशभर रहेका १२ भन्दा बढी आधिकारिक डिलरहरू मार्फत स्कुटरको टेस्ट राइड, प्रि-बुकिङ र फाइनान्सिङ सुविधा सरु गरिसकेको छ। आफूसँग विश्वका १०० भन्दा बढी देशमा ७ करोडभन्दा बढी प्रयोगकर्ता रहेको दाबी याडियाले गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: साउन २१, २०८२ २०:२२
