काठमाडौँ । भारत, उत्तराखण्ड स्थित उत्तरकाशीमा मङ्गलबार बादल फाटेर आएको बाढीले ठुलो क्षति पुर्याएको छ । मौसम पूर्वानुमान प्रणालीले प्रभावकारी ढङ्गले पूर्वानुमान गर्न नसक्दा कम्तीमा ४ जनाको ज्यान गएको छ भने करिब सय जना अझै बेपत्ता छन् ।
भारतको मौसम विभागले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बिहान ८ः१५ बजेसम्मको पछिल्लो २४ घण्टामा उत्तर भारतका विभिन्न भागहरूमा २१० मिलिमिटरभन्दा बढीको अत्यधिक वर्षा मापन गरिएको थियो । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले उत्तरकाशीको धाराली गाउँमा लेदो सहितको बाढी आउनु अघि त्यहाँ क्लाउडब्रस्ट भएको थियो ।
विशेषगरी हिमालय र संवेदनशील पहाडी क्षेत्रहरूमा अङ्ग्रेजीमा क्लाउडब्रस्ट भनिने यस्ता घटनाहरूको जोखिम बढी हुन्छ । स्वचालित मौसम पूर्वानुमान स्टेसनको स्थापना र स्याटलाइट-आधारित अवलोकन प्रणाली प्रयोग प्रयोग गर्दा रियल-टाइम डेटा प्राप्त हुन सक्छ, जुन प्रारम्भिक अलर्ट जारी गर्न महत्वपूर्ण हुन सक्छ ।
सन् २०१३ को जुन महिनामा उत्तराखण्डको केदारनाथमा आएको विनाशकारी बाढीको मुख्य कारण पनि क्लाउडब्रस्टलाई नै मानिएको छ । संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टअनुसार उक्त विपद्मा छ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
एक अध्ययनले सो बाढीका समयमा भएको वर्षाको आधाभन्दा बढी भाग वायुमण्डलीय हरितगृह ग्यास र एयरोसोल कणहरूको वृद्धिसँग सम्बन्धित हुनसक्ने देखाएको थियो । पछिल्ला दशकहरूमा गरिएका विभिन्न अध्ययनहरूले भारतमा अत्यधिक वर्षाका घटनाहरूमा वृद्धि भइरहेको छ । जसको मुख्य कारण विश्व तापमानको निरन्तर वृद्धि हो ।
के हो क्लाउडब्रस्ट ?
क्लाउडब्रस्ट अर्थात् बादल फाट्ने भनेको छोटो समयमा एक सानो क्षेत्रमा हुने अत्यधिक तीव्र वर्षा हो । जसले प्रायः अचानक रूपमा बाढी निम्त्याउँछ । यस्ता घटनाहरूको पछाडि केही वायुमण्डलीय प्रक्रियाहरू जिम्मेवार हुन्छन् ।
जसमा वायुमण्डलीय संवाहन (Atmospheric convection) मुख्य रूपमा आउँछ । वायुमण्डलीय संवाहन भन्नाले वायुमण्डलभित्र तापमानको अन्तरका कारण हावाको चापमा हुने माथि तर्फको उछाल र तल तर्फको बहाब हो । जब सतहको हावा सूर्यको तापका कारण तातो हुन्छ, त्यो हलुका भएर माथि जान्छ र चिसो हावा तल झर्छ । उदाहरणका लागि गर्मी याममा जमीन नजिकको हावा तातेर माथि उठ्छ र चिसो हावा त्यसको स्थान लिन तल झर्छ । ऊर्जाको यही प्रक्रियालाई संवाहन भनिन्छ । वायुमण्डलमा ताप र ऊर्जाको परिवर्तनका कारण जब वायुमण्डल अस्थिर हुन्छ र संवाहन प्रक्रिया तीव्र हुन्छ । त्यसले गर्दा ठुला बादल (Cumulonimbus) बन्छन् ।
भारतीय मौसमविद्हरूले ३० वर्गकिलोमिटर वा सोभन्दा कम क्षेत्रफलमा एक घण्टामा १०० मिलिमिटर वा सोभन्दा बढी वर्षा हुनुलाई क्लाउडब्रस्टको रूपमा परिभाषित गरेका छन् । यस्तो घटना प्रायः पहाडी क्षेत्रहरूमा मनसुनको समयमा हुने गर्दछ ।
अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयमा अत्यधिक वर्षा सम्बन्धी अनुसन्धान गरिरहेकी भारतीय मौसम वैज्ञानिक रुचित कुलकर्णी भन्छन्, “हिमालय क्षेत्रको आसपास अरब सागरबाट आएको भिजेको हावा पहाडले माथि उचाल्ने प्रक्रियालाई ओरोग्राफिक लिफ्ट (orographic lift) भनिन्छ । र यही प्रक्रियाले विशाल क्युमुलोनिम्बस बादल तयार पार्छ ।”
उनका अनुसार जब यी बादलहरू लगातार बढ्दै जान्छन् र वर्षा गर्ने मौका नपाउँदा यति भारी हुन्छन् कि एक समयमा आफैँ फाट्छन् । त्यसैले यस्तो अचानक ठुलो वर्षा हुन्छ, जसलाई क्लाउडब्रस्ट भनिन्छ ।
नेपालमा पनि बादल फाट्ने र त्यसबाट हुने बाढीका घटनाहरू बेला बेला देखिने गरेका छन् । गत वर्ष कञ्चनपुरमा बादल फाट्दा डुबान र बाढी निम्तिएको थियो । गत वर्ष जुलाई ७ मा कञ्चनपुरमै रेकर्ड-ब्रेकिङ वर्षा भएको थियो, जसलाई जल तथा मौसम विज्ञान विभागले 'तराई क्लाउडब्रस्ट' भनेर प्रतिवेदनमा उल्लेख गरेको छ । सो समयमा ७ जुलाईको बिहान ८ः४५ देखि २४ घण्टासम्मको समयमा हनुमाननगरमा ५७३.६, सुन्दरपुरमा ५५६.४ र दोधारामा ६२४ मिलिमिटर वर्षा मापन गरिएको थियो ।
पछिल्लो अध्यावधिक: साउन २१, २०८२ २१:५८
