सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक दफावार छलफलका लागि अब संसदीय समितिमा
भदौ ६, २०८२ १३:४८
काठमाडौँ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइने भएको छ । शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकको कार्यसूचीको चार नम्बरमा यो प्रस्ताव राखिएको छ । प्रस्ताव पास भएमा यो विधेयक दफावार छलफलका लागि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुग्नेछ ।
समिति सदस्य सांसदहरूले विधेयकको दफावार छलफलमा भाग लिनेछन् । विधेयकका दफा हटाउने, थप्ने वा अन्य संशोधनको काम यही समितिले गर्छ । आवश्यक परेमा समितिले उपसमिति गठन गरेर विधेयकका जटिल तथा आउन सक्ने विवादित विषयलाई अन्तिम रूप दिन सक्छ । समितिले विधेयक पारित गरेर प्रतिनिधि सभामा प्रतिवेदनसहित पुन: प्रस्ताव प्रस्तुत गर्नेछ ।
गत २८ साउनको प्रतिनिधि सभा बैठकमा उक्त विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको थियो । सोही दिन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची भएपनि गणपूरक सङ्ख्या नपुग्दा अघि बढ्न सकेन । उक्त प्रस्ताव २९ साउनमा मात्रै स्वीकृति भएको थियो । यो विधेयक २७ जेठमा प्रतिनिधि सभामा दर्ता भएको थियो ।
यो विधेयकले विद्युतीय कारोबार ऐन, २०६३ लाई प्रतिस्थापन गर्दै मुलुकको साइबर सुरक्षा तथा तथ्याङ्क प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राखेको छ । विधेयक पारित भएमा प्रचलित कानुनमा लिखित वा मुद्रित रूपमा हुनुपर्ने भनिएका सबै कागजातले विद्युतीय स्वरूपमा पनि कानुनी मान्यता पाउने बताइएको छ ।
यसमा डिजिटल हस्ताक्षर, डेटाको गोपनीयता, साइबर सुरक्षा र विद्युतीय माध्यमबाट हुने अपराधलाई समेत विस्तृत रूपमा समेटिएको छ । साइबर सुरक्षाको बहानामा अभिव्यक्ति स्वतन्त्रता र डेटा सुरक्षामा खतरा पुग्ने विधेयक आएको विश्लेषण समेत भइरहेको छ ।
पछिल्लो अध्यावधिक: भदौ ६, २०८२ १३:४८
