काठमाडौँ । तपाईँको एन्ड्रोइड फोनको डायलरमा पनि अचानक परिवर्तन आएको छ ? कम्पनीले मटेरियल ३ एक्सप्रेसिभ रिडिजाइनसहितको अपडेट जारी गरेपछि यो परिवर्तन देखिएको हो ।
त्यसैले यो डार्क थिमसहित आएको बदलाब तपाईँको फोनमा मात्रै देखिएको होइन । यो अपडेट प्रयोगकर्ताको सहमति बिना नै रोल आउट भएको छ । जसमा इन्टरफेस पुरै नयाँ छ र ट्याबहरू मर्ज गरिएका छन् भने बटनहरू गोलाकार बनाइएका छन् । कल काट्नको लागि ठुलो 'इन्ड कल' (End Call) बटन राखिएको छ ।
धेरै एन्ड्रोइड प्रयोगकर्ताहरूले आफैँ अपडेट बटन नथिचे पनि नयाँ कल र डायलर स्क्रिनमा परिवर्तन भएको पाएका छन् । यो परिवर्तनलाई केहीले आकर्षक र ताजा भनेका छन् भने, अरूले यसलाई अत्यधिक ठुलो, भद्दा र अनावश्यक भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
खासमा के परिवर्तन भएको छ ?
छुट्टाछुट्टै रहेका फेभ्रेट (Favourites) र भर्खरका कलहरू (Recents) लाई 'होम' (Home) ट्याबमा मर्ज गरिएको छ । जसले कल हिस्ट्री र शीर्ष सम्पर्कहरू दुवैलाई एउटै क्यारोसेल जस्तो दृश्यमा देखाउँछ ।
किप्याडलाई पनि छुट्टै ट्याबमा सारिएको छ, जसमा गोलाकार बटनहरू छन् । कन्ट्याक्ट मेनुलाई नयाँ डिजाइन दिइएको छ । यो नयाँ डिजाइनमा आगमन कल स्क्रिन पनि फरक तरिकाले काम गर्छ ।
कललाई अब आईफोनमा जस्तै तेर्सो स्वाइप गरेर उठाउन वा काट्न सकिन्छ वा क्लासिक सिङ्गल ट्याप सेटिङमा लैजान सकिन्छ । कलमा हुँदा बटनहरू पिल-आकारका आइकनमा विस्तार हुन्छन् र चम्किलो रातो 'कल इन्ड बटन ले ध्यान खिच्छ ।
केही प्रयोगकर्ताको समस्या परिवर्तनमा नभएर तर यो जसरी आयो, त्यसमा हो । धेरै प्रयोगकर्ताहरूले आफूले कहिल्यै म्यानुअल अपडेट नगरेको दाबी गरेका छन् । अपडेट नगर्दा पनि फरक डायलर स्क्रिनमा आउँदा अचम्मित महसुस गरेको उनीहरूले बताएका छन् ।
परिचित बटनहरू अब अत्यधिक ठुला र अनौठो रूपमा भद्दा देखिन्छन् । एक पटक मिनिमलिस्टिक रहेको डिजाइनलाई अब बोल्डर आकार र भारी भिजुअलको प्रयोगले प्रतिस्थापन गरेको छ । सामाजिक सञ्जालमा यो नयाँ डिजाइन परिवर्तनको पक्ष र विपक्षमा प्रयोगकर्ताहरूले आआफ्ना अनुभूतिहरू बाँडिरहेका छन् ।
के अझै पुरानो डिजाइन फर्काउन सकिन्छ ?
पूर्ण रूपमा नभए पनि आंशिक रूपमा पुरानो डिजाइनमा फर्किन सकिन्छ । स्वाइप-टु-आन्सर सुविधालाई सेटिङ्स > इन्कमिङ कल जेस्चर मार्फत पुरानो सिङ्गल-ट्याप शैलीमा फर्काउन सकिन्छ । यद्यपि, बाँकी रिडिजाइनलाई भने फिर्ता गर्ने कुनै टोगल देखिँदैन ।
केही प्रयोगकर्ताहरूले पुरानो डिजाइनमा फर्किन फोन एपको पछिल्लो अपडेट अनइन्स्टल गरिरहेका छन् । यद्यपि यो दिगो विकल्प भने होइन । हालका लागि रिडिजाइन स्थायी जस्तो देखिन्छ । गुगलले बिल्ट-इन क्लासिक भ्यु मोड उपलब्ध नगराएसम्म प्रयोगकर्ताहरूसँग यो नयाँ परिवर्तनमा भिज्नुको विकल्प नहुन सक्छ ।
पछिल्लो अध्यावधिक: भदौ ८, २०८२ १३:१४
