भाइबरपछि नेपालमा सर्वाधिक डाउनलोड भइरहेको 1.1.1.1 + WARP एप के हो अनि कसरी प्रयोग गर्ने ?
भदौ २२, २०८२ १३:४६
काठमाडौँ । नेपाल सरकारले फेसबुक, मेसेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम, एक्स, रेडिट, युट्युब, स्न्यापच्याट लगायतका सामाजिक सञ्जाल प्रतिबन्ध गरेपछि नेपालीहरूले नयाँ नयाँ एप डाउनलोड गरिरहेका छन् । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपछि सबैभन्दा धेरै डाउनलोड हुने एपहरूको सूचीमा पहिलो नम्बरमा भाइबर छ भने दोस्रोमा 1.1.1.1 + WARP नामक एउटा एप छ ।
नेपालमा अहिले यतिधेरै लोकप्रिय भइरहेको यो कस्तो एप हो र कसरी प्रयोग गर्ने भन्ने विषयमा यहाँ चर्चा गर्दैछौँ । आजको डिजिटल युगमा इन्टरनेटको गति र सुरक्षा हाम्रो दैनिक जीवनको लागि अपरिहार्य बनिसकेको छ ।
हामी अनलाइनमा के गर्छौँ, हाम्रा डेटाहरू कसले देख्छ र कसरी सुरक्षित राखिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यसै सन्दर्भमा, क्लाउडफ्लेयरले ल्याएको १.१.१.१ पब्लिक डीएनएस रिजल्भर (Public DNS Resolver) र यसको पूरक र्याप (WARP) सेवाले इन्टरनेट प्रयोगकर्ताहरूका लागि गति, सुरक्षा र गोपनीयताको एउटा राम्रो समाधान प्रदान गर्दछ । तर अहिले नेपालमा भने धेरैले यसलाई डीएनएस स्तरबाट ब्लक वा फिल्टरिङ गरिएका सामाजिक सञ्जाल चलाउनका लागि समेत प्रयोग गरिरहेका छन् । डीएनएस लेभलमा गरिएको ब्लकलाई यसले बाइपास गरी आफ्नो डीएनएस १.१.१.१ मा स्विच गरिदिन्छ ।
के हो १.१.१.१ डीएनएस रिजल्भर ?
१.१.१.१ क्लाउडफ्लेयरद्वारा सञ्चालित एक सार्वजनिक डीएनएस रिजल्भर हो, जसले इन्टरनेटलाई छिटो र गोप्य बनाउँछ । डीएनएसलाई इन्टरनेटको फोनबुक भनिन्छ । जब तपाईँले कुनै वेबसाइट खोल्नुहुन्छ, तपाईँको फोन वा कम्प्युटरले उक्त वेबसाइटको आईपी ठेगाना कहाँ छ भनेर डीएनएसलाई सोध्छ ।
सामान्यतया तपाईँको इन्टरनेट सेवा प्रदायकले तपाईँका डीएनएस अनुरोध ह्यान्डल गर्छ । तर त्यो प्रायः ढिलो र असुरक्षित हुन्छ । आईएसपीले तपाईँले भिजिट गर्ने हरेक साइट र प्रयोग गर्ने हरेक एप देख्न सक्छ र केही डीएनएस प्रदायकहरूले तपाईँको इन्टरनेट गतिविधिको डेटा विज्ञापनदाताहरूलाई बेच्न पनि सक्छन् ।
यसै समस्यालाई मध्यनजर गर्दै १.१.१.१ डीएनएस रिजल्भर डिजाइन गरिएको हो, जसले प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकतामा राख्छ । क्लाउडफ्लेयरले प्रयोगकर्ताको व्यक्तिगत डेटा थर्डपार्टीलाई बेच्दैन वा विज्ञापनका लागि प्रयोग गर्दैन । डीएनएस अनुरोधहरूबाट प्राप्त स्रोत आईपी ठेगानाहरू स्थायी प्रकृतिको स्टोरेजमा राखिँदैन र २४ घण्टाभित्रै मेटिन्छ । यसले तपाईँको ब्राउजिङलाई छिटो र निजी पनि बनाउँछ ।
त्यसो भए WARP के हो?
WARP १.१.१.१ मा निर्मित एउटा वैकल्पिक एप हो । जहाँ १.१.१.१ ले डीएनएस अनुरोधहरूलाई मात्र सुरक्षित गर्छ, र्यापले तपाईँको मोबाइल वा कम्प्युटरबाट हुने सम्पूर्ण इन्टरनेट ट्राफिकलाई सुरक्षित गर्छ । र्यापले तपाईँको ट्राफिकलाई सार्वजनिक इन्टरनेटको सट्टा क्लाउडफ्लेयरको विश्वव्यापी नेटवर्कमार्फत पठाएर सुरक्षा प्रदान गर्दछ ।
यसले तपाईँको डिभाइस र क्लाउडफ्लेयरको नेटवर्क बीचमा सबै कनेक्सनलाई स्वचालित रूपमा इन्क्रिप्ट गर्छ । र्यापलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्राविधिक रूप मानिए पनि यसलाई परम्परागत भीपीएनभन्दा फरक तरिकाले डिजाइन गरिएको छ । यसको मुख्य लक्ष्य गति र विश्वसनीयता हो, न कि जियो-अनलकिङ (geo-unblocking) वा पूर्ण रूपमा गुमनाम अर्थात् एनोनिमस राख्न सघाउने टुल ।
र्यापले वायरगार्ड नामक एक आधुनिक र प्रभावकारी भीपीएन प्रोटोकल प्रयोग गर्दछ, जसले ब्याट्री खपतलाई कम गर्छ र मोबाइल इन्टरनेट असहज भएको बेला पनि राम्रो काम गर्न सक्छ । क्लाउडफ्लेयरले र्याप प्रयोगकर्ताको पहिचानयोग्य लग डेटा डिस्कमा नलेख्ने, ब्राउजिङ डेटा बेच्ने वा विज्ञापनका लागि प्रयोग नगर्ने र सेवा प्रयोग गर्न कुनै व्यक्तिगत जानकारी (नाम, फोन नम्बर, इमेल) आवश्यक नपर्ने जनाएको छ ।
1.1.1.1 + WARP किन प्रयोग गर्ने ?
यसका उपयोगिता अनेक छन् । जसमा पहिलो हो, गोपनीयता । तपाईँको आईएसपी र अन्य पक्षहरूलाई तपाईँको अनलाइन गतिविधि ट्र्याक गर्नबाट यसले रोक्छ ।
यसले तपाईँको इन्टरनेट ट्राफिकलाई इन्क्रिप्ट गरी ह्याकर र आक्रमणहरूबाट जोगाउँछ । क्लाउडफ्लेयरको विशाल नेटवर्क ३३० भन्दा बढी सहरहरूमा फैलिएको छ । यसको कस्टमाइज गर्न सकिने प्रोटोकलका कारण डीएनएस अनुरोधहरू र समग्र इन्टरनेट ब्राउजिङ छिटो हुन्छ ।
मोबाइल नेटवर्कमा सिग्नल कमजोर हुँदा वा कनेक्सन टुट्दा पनि र्यापको प्रोटोकलले छिटो रिकभर गर्न मद्दत गर्छ । निःशुल्क रूपमा उपलब्ध यो टुल इन्स्टल तथा प्रयोग गर्न पनि एकदमै सरल छ ।
1.1.1.1 + WARP कसरी प्रयोग गर्ने ?
1.1.1.1 + WARP सेवा मोबाइल र कम्प्युटर दुवैमा प्रयोग गर्न सकिन्छ । जसमा एउटा ट्याप गरे पुग्छ । एन्ड्रोइड र आईओएस मोबाइलमा यो टुल प्रयोग गर्न गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा जानुहोस् र "1.1.1.1 + WARP: Safer Internet" खोजेर डाउनलोड तथा इन्स्टल गर्नुहोस् ।
एप खोल्नुहोस् र सेवाका सर्तहरू स्वीकार गर्नुहोस् । स्क्रिनमा देखिने ठुलो 'WARP' बटनमा ट्याप गरी 'Connected' अवस्थामा राख्नुहोस् ।
एपले तपाईँको डिभाइसमा भीपीएन प्रोफाइल इन्स्टल गर्न अनुमति माग्छ । यसलाई उक्त अनुमति दिनुहोस् । यति गरेपछि अब तपाईँको इन्टरनेट कनेक्सन सुरक्षित हुनेछ । यदि तपाईँ र्यापको फुल इन्क्रिप्सन बिना फास्ट डीएनएस सेवा मात्र प्रयोग गर्न चाहनुहुन्छ भने एपको सेटिङमा गएर 'Switch to DNS only mode' वा '1.1.1.1' मोडमा परिवर्तन गर्न सक्नुहुन्छ ।
ल्यापटपमा प्रयोग गर्ने तरिका
सबैभन्दा पहिला क्लाउडफ्लेयरको आधिकारिक वेबसाइट (one.one.one.one) मा जानुहोस् र आफ्नो अपरेटिङ सिस्टम (विन्डोज वा म्याकओएस) को लागि डेस्कटप क्लाइन्ट डाउनलोड गर्नुहोस् ।
अब डाउनलोड गरिएको इन्स्टलर रन गर्नुहोस् र स्क्रिनमा देखाइएका निर्देशनहरू पालना गर्नुहोस् । इन्स्टल भएपछि यो तपाईँको सिस्टम ट्रे (विन्डोजमा) वा मेनु बार (म्याकओएसमा) मा देखिनेछ ।
त्यहाँबाट क्लाउडफ्लेयर आइकनमा क्लिक गर्नुहोस् र WARP मा कनेक्ट गर्नको लागि टोगल बटन (on/off button) अन गर्नुहोस् ।सेटिङ आइकनमा क्लिक गरेर तपाईँले मोडहरू परिवर्तन गर्न सक्नुहुन्छ । जस्तैः '1.1.1.1 for Families' सुविधा इनेबल गर्न सक्नुहुन्छ, जसले मालवेयर (1.1.1.2) वा मालवेयर तथा एडल्ट कन्टेन्ट (1.1.1.3) लाई ब्लक गर्छ ।
यस बाहेक क्रोम ब्राउजरको सेटिङबाट प्राइभेसी एन्ड सेक्युरिटी हुँदै सेक्युरिटीमा गएर Add custom DNS service provider बाट पनि 1.1.1.1 डीएनएसलाई छानेर प्रयोग गर्न सकिन्छ ।
बुझ्नु पर्ने बाँकी कुरा
१.१.१.१ डीएनएस सेवाले वेबसाइटहरूलाई छिटो फेला पारेर तपाईँको इन्टरनेटको गति बढाउँछ । जबकि र्याप (WARP) एक भीपीएन जस्तो सेवा हो । जसले तपाईँको सबै ट्राफिकलाई इन्क्रिप्ट गरी तपाईँको गोपनीयता र सुरक्षा सुनिश्चित गर्छ ।
यी सेवाहरू प्रयोग गर्ने सबैभन्दा सरल र सुरक्षित तरिका भनेको म्यानुअल रूपमा डीएनएस सेटिङ परिवर्तन गर्नुको सट्टा आधिकारिक एप वा डेस्कटप क्लाइन्ट प्रयोग गर्नु हो । यसले कनेक्सन सधैँ सुरक्षित र अन रहेको सुनिश्चित गर्छ ।
र्यापले तपाईँको इन्टरनेट ट्राफिक इन्क्रिप्ट गर्दा पनि इन्टरनेटको गतिमा न्यूनतम प्रभाव पार्ने गरी यसको डिजाइन गरिएको छ । कहिलेकाहीँ यसले तपाईँको कनेक्सनलाई अझ छिटो पनि बनाउन सक्छ ।
र्यापको निःशुल्क भर्सन पर्याप्त भए पनि क्लाउडफ्लेयरको अप्टिमाइज्ड नेटवर्क प्रयोग गरेर अझ छिटो गति प्रदान गर्ने सशुल्क र्याप प्लस (WARP+) विकल्प पनि उपलब्ध छ ।
१.१.१.१ पब्लिक डीएनएसले कुनै सामग्री ब्लक गर्दैन । तर '1.1.1.1 for Families' ले मालवेयर र एडल्ट कन्टेन्टलाई ब्लक गर्न मद्दत गर्छ ।
पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ १४:१४
