close

आफूलाई चाहिने सफ्टवेयर आन्तरिक जनशक्तिबाटै विकास गर्दै नेपाल टेलिकम, होला त गुणस्तर ?

टेकपाना टेकपाना

असार ११, २०८३ १८:३

आफूलाई चाहिने सफ्टवेयर आन्तरिक जनशक्तिबाटै विकास गर्दै नेपाल टेलिकम, होला त गुणस्तर ?

काठमाडौं । नेपाल टेलिकमले सेवा प्रवाहलाई प्रभावकारी बनाउन आन्तरिक जनशक्तिबाटै विभिन्न सफ्टवेयर प्रणाली विकास गरी कार्यान्वयनमा ल्याएको छ । संस्थागत सुधार र डिजिटल रूपान्तरणको लक्ष्यसहित टेलिकमले ‘इन-हाउस’ सफ्टवेयरमा जोड दिएको हो ।

साना र दैनिक कार्य सञ्चालनमा सघाउने टुलहरू आफैँले विकास गरेर लागत घटाउन खोजिएको कम्पनीको भनाइ छ । यसअन्तर्गत कम्पनीले केन्द्रीय कार्यालयदेखि क्षेत्रीय निर्देशनालय र मातहतका कार्यालयहरूको सम्पूर्ण खरिद प्रक्रियालाई डिजिटल माध्यमबाट व्यवस्थापन गर्न ‘प्रोक्युरमेन्ट म्यानेजमेन्ट सिस्टम’ विकास गरेको छ ।

सार्वजनिक खरिदका विभिन्न पक्षहरूलाई मध्यनजर गरी बनाइएको यस प्रणालीले सम्झौता र त्यसपछिका चरणहरूको प्रभावकारी व्यवस्थापन, अनुगमन र अभिलेखीकरणमा सुधार आउने कम्पनीको भनाइ छ ।

आफ्नै प्राविधिक दक्षता प्रयोग गरी निर्माण गरिएको यो प्रणालीले खरिद प्रक्रियामा पारदर्शिता र एकरूपता कायम गर्दै प्रक्रियागत ढिलाइलाई न्यूनीकरण गरी सुशासन प्रवद्र्धनमा सहयोग पुर्‍याउने कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै, मर्मत सम्भार र सेवा सञ्चालनलाई व्यवस्थित बनाउन कम्पनीले 'ड्युटी चार्ट म्यानेजमेन्ट सिस्टम' सञ्चालनमा ल्याएको छ । यसबाट देशभरका विभिन्न कार्यालयमा सिफ्ट ड्युटीमा रहेका जनशक्तिको विवरण र उनीहरूले गर्ने कार्यको बारेमा निश्चित समयमा जानकारी लिन सकिने टेलिकमले जनाएको छ ।

त्यसैगरी, आन्तरिक बैठकहरूलाई व्यवस्थित गर्न ‘मिटिङ म्यानेजमेन्ट सिस्टम’ प्रयोगमा ल्याइएको छ । यस प्रणालीमा बैठकको एजेन्डा, सहभागी सदस्यहरू र माइन्युट लेखनका लागि आवश्यक फर्म्याटहरू उपलब्ध छन् । बैठकसम्बन्धी जानकारी एसएमएस र ईमेलमार्फत पठाउने तथा भविष्यमा यसैमार्फत अनलाइन भिडिओ कन्फरेन्सिङ समेत गर्न सकिने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।

हाल सञ्चालनमा रहेको टिकेटिङ प्रणालीलाई परिष्कृत बनाउन ‘युनिफाइड टिकेटिङ सिस्टम’ विकासको काम अगाडि बढाइएको छ । यस प्रणालीले नेटवर्क र सूचना प्रविधिसम्बन्धी समस्याहरूको दर्ता, ट्र्याकिङ र समाधानलाई एकीकृत रूपमा व्यवस्थापन गर्ने र ग्राहकका गुनासा छिटो सम्बोधन गर्न मद्दत पुग्ने कम्पनीको भनाइ छ ।

कम्पनीले एफटीटीएच नेटवर्कको कन्फिगरेसन, ग्राहकको माग संकलन र गुनासो व्यवस्थापनका लागि आन्तरिक सफ्टवेयरहरू प्रयोग गर्दै आएको छ । ग्राहकले एसईई र कक्षा १२ को नतिजा हेर्ने, अनलाइन रिचार्ज गर्ने र सीयूजी सम्बन्धी जानकारी लिने कार्यमा पनि इन-हाउस टुलहरू नै प्रयोग भइरहेका छन् । साथै, टावर साइट म्यानेजमेन्ट र अन-एयर स्टाटस सम्बन्धी जानकारीका लागि ‘साइट म्यानेजमेन्ट पोर्टल’ पनि सञ्चालनमा रहेको टेलिकमले जनाएको छ ।

कम्पनीले प्रशासनिक र प्राविधिक प्रक्रियाहरूलाई पूर्ण रूपमा डिजिटल र कागजविहीन बनाउन ‘वर्कफ्लो म्यानेजमेन्ट सिस्टम’ विकास गरी अगाडि बढाएको छ । फाइलहरूको डिजिटल व्यवस्थापन र निर्णय प्रक्रियाको वास्तविक समयमै अनुगमन गर्न सहज बनाउन यो प्रणालीले सघाउने कम्पनीको भनाइ छ । आगामी दिनमा मानव संसाधन, वित्त र व्यापार लगायतका विभागहरूका लागि छुट्टाछुट्टै ड्यासबोर्डहरू समेत यसमा समावेश गरिने जनाइएको छ ।

आलोचकले भने टेलिकमले आफैँ सफ्टवयेर बनाउँदा सुरक्षा गुणस्तरमा प्रश्न उठाउने गरेका छन् । टेलिकमले आन्तरिक रूपमै सबै काम गर्दा बजारमा स्वस्थ प्रतिस्पर्धा खुम्चिने र नयाँ प्रविधि भित्रिन अवरोध पुग्ने उनीहरूको तर्क छ । व्यावसायिक टेस्टिङ र अडिटिङको अभावमा इन-हाउस टुलहरूमा प्राविधिक त्रुटि र डेटा सुरक्षाको जोखिम रहन सक्ने उनीहरूको भनाइ छ ।

 

पछिल्लो अध्यावधिक: असार ११, २०८३ १८:११