close

युट्युबले ४ वर्षमै क्रियटरहरूलाई बाँड्यो १०० अर्ब डलरभन्दा बढी रकम

टेकपाना टेकपाना

असोज १, २०८२ ७:३९

युट्युबले ४ वर्षमै क्रियटरहरूलाई बाँड्यो १०० अर्ब डलरभन्दा बढी रकम

काठमाडौँ । युट्युबले सन् २०२१ देखि हालसम्म क्रियटर, कलाकार र मिडिया कम्पनीहरूलाई १०० अर्ब डलरभन्दा बढी भुक्तानी गरेको जनाएको छ । गुगलको स्वामित्वमा रहेको भिडिओ प्लेटफर्म युट्युबले टिभी स्क्रिनबाटै १ लाख डलरभन्दा बढी कमाउने च्यानलहरूको सङ्ख्यामा वार्षिक ४५% को वृद्धि भएको समेत जनाएको छ ।

कम्पनीको २० औँ वर्षगाँठको अवसरमा न्युयोर्क सहरमा आयोजित वार्षिक 'मेड अन युट्युब' कार्यक्रमको क्रममा यस बारे जानकारी दिइएको हो । युट्युबका सीईओ निल मोहनका अनुसार गत वर्ष कम्पनीले २०२१ र २०२४ को बीचमा क्रियटरहरूलाई ७० अर्ब डलर भुक्तानी गरेको थियो ।

युट्युबका प्रमुख उत्पादन अधिकृत जोहाना वुलिचले एक विज्ञप्तिमार्फत संस्कृति र मनोरञ्जनलाई हामीले सोच्न नसक्ने तरिकाले आकार दिने क्रियटरहरूको शक्तिको प्रशंसा गरेका छन् ।

शर्ट्सका लागि नयाँ एआई टुल

युट्युबले आफ्नो छोटो भिडिओ उत्पादन युट्युब शर्ट्सका लागि नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलहरू पनि सार्वजनिक गरेको छ । यी नयाँ सुविधाहरूले क्रियटरहरूलाई एआई प्रयोग गरी कच्चा फुटेजलाई सङ्गीत, ट्रान्जिसन र भ्वाइस ओभरसहितको सम्पादित क्लिपमा परिणत गर्न अनुमति दिनेछन् । साथै अब योग्य भिडियोहरूमा भएको संवादलाई शर्ट्समा प्रयोग गर्न मिल्ने गीतमा बदल्न सकिनेछ ।

कम्पनीले गुगलको पछिल्लो एआई भिडिओ जेनेरेटर भिईओ ३ लाई पनि शर्ट्समा एकीकृत गर्ने बताएको छ । गुगलले भीईओ ३ लाई तालिम दिन युट्युब भिडिओहरूको एक उपसमूह प्रयोग गर्ने गरेको कुरा यस अघि नै बताइसकेको छ ।

अप्रिलमा २० वर्ष पुरा भएको युट्युबले आफ्नो प्लेटफर्ममा म्युजिक, शर्ट्स, पोडकास्ट लगायत २० अर्बभन्दा बढी भिडिओहरू रहेको जनाएको थियो । 

 

पछिल्लो अध्यावधिक: असोज १, २०८२ ७:४०