ह्वाट्सएपले ल्यायो मेसेज अनुवाद गर्ने नयाँ सुविधा, अब गुगल ट्रान्सलेटमा भर पर्नु नपर्ने
असोज ८, २०८२ ९:१५
काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा एक महत्त्वपूर्ण नयाँ सुविधाको रूपमा इन-बिल्ट मेसेज अनुवाद (built-in message-translation) थप गरेको छ । यो सुविधा एन्ड्रोइड र आईओएस दुबै प्रयोगकर्ताहरूका लागि सुरु गरिएको हो ।
यसभन्दा पहिले प्रयोगकर्ताहरूले विदेशी भाषाका मेसेजहरू बुझ्नका लागि गुगल ट्रान्सलेट जस्ता तेस्रो-पक्षका सेवा वा उपकरणहरूमा भर पर्नुपर्थ्यो, तर अब त्यो झन्झट हटेको छ ।
यो सुविधा प्रयोग गर्न एकदमै सरल छ । प्रयोगकर्ताहरूले अनुवाद गर्न चाहेको मेसेजमा केहीबेर थिचेर (long-press) 'Translate' विकल्पमा ट्याप गर्नुपर्नेछ । यो सुविधा व्यक्तिगत च्याट, ग्रुप च्याट र च्यानल अपडेटहरूमा पनि उपलब्ध छ ।
यो सुविधा एन्ड्रोइड र आईओएस दुबै अपरेटिङ सिस्टममा उपलब्ध भए पनि केही भिन्नताहरू छन् । एन्ड्रोइडमा हाल ६ भाषाहरू अङ्ग्रेजी, स्पेनिस, हिन्दी, पोर्चुगिज, रुसी र अरबीका लागि सपोर्ट उपलब्ध छन् । एन्ड्रोइड प्रयोगकर्ताहरूलाई अर्को एउटा विशेष सुविधा पनि दिइएको छ, जसअनुसार उनीहरूले कुनै पनि च्याटको लागि स्वचालित अनुवाद (automatic translation) अन गर्न सक्छन् । यसो गर्दा उक्त कुराकानीमा आउने सबै मेसेजहरू आफैँ अनुवाद हुनेछन् । एन्ड्रोइडमा अनुवाद गर्न मेसेजमा लामो समयसम्म थिचेर, दायाँ कुनामा रहेको तीन-डट आइकनमा गई अनुवाद फङ्क्सन फेला पार्न सकिन्छ ।
यसैगरी आईओएस प्रयोगकर्ताहरूले एप्पलको आईओएस ट्रान्सलेट एप (Apple's iOS Translate app) को प्रयोग गरी १९ भाषाहरूमा पहुँच पाउनेछन् । जसमा म्यान्डरिन चिनियाँ, जापानी र कोरियाली जस्ता भाषाहरू पनि समावेश छन् । ह्वाट्सएपले आईओएसमा एप्पलको ट्रान्सलेसन एपीआई (Apple’s Translations API) प्रयोग गरिएको पुष्टि गरेको छ ।
ह्वाट्सएपको प्यारेन्ट कम्पनी मेटाका अनुसार यो सुविधा प्रयोगकर्ताको च्याटको गोपनीयतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । अनुवादको सम्पूर्ण प्रक्रिया प्रयोगकर्ताको आफ्नै डिभाइसमा हुने भएकाले व्हाट्सएपले ती मेसेजहरू हेर्न सक्दैन । यही कारणले गर्दा एन्ड्रोइडमा प्रत्येक भाषाको लागि अनुवाद सुरु गर्न २४ एमबीको प्याक डाउनलोड गर्न आवश्यक हुन्छ । आगामी दिनमा अन्य भाषाहरू पनि थपिने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: असोज ८, २०८२ ९:१५
