काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजा वीरेन्द्रको हातबाट टीका थापेको भन्दै एक पुरानो तस्बिर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त तस्बिर एआईबाट तयार भएको हुन सक्ने भन्दै महावीर पुन स्वयम् झुक्किएका छन् ।
तर टेकपाना तथ्यजाँचका क्रममा उक्त भाइरल तस्बिरमा देखिएका व्यक्ति शिक्षामन्त्री पुन नभइ ‘आहा कलिलो तामालाई’, ‘१६ वर्षे उमेरैमा’ लगायतका गीतका गायक पूर्ण नेपाली रहेको पाइएको छ ।
दाबी
‘Prince Yubaraj Karki’ नामक एक फेसबुक प्रयोगकर्ताले महावीर पुन उच्च शिक्षा अध्ययनका लागि अमेरिका जानु अघि वीरेन्द्रको हातबाट आशीर्वाद लिएको भन्दै बिहीबार राति १०:३८ मा सार्वजनिक गरेको पोस्ट फेला पर्यो । उनले लेखेका छन्, “उच्च शिक्षा हासिल गर्न अमेरिका जानु अघि महावीर पुन दशैँको अवसरमा तत्कालीन अभिभावक तथा राजा विरेन्द्रको हातबाट आशिर्वाद ग्रहण गर्दै” । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
फेसबुक पेज ‘Isha Maya Gurung’ ले शुक्रबार दिउँसो २:०३ मा Minister Mahabir Pun and King birendra Shah’ भन्दै त्यही फोटो राखेको छ । यो सामग्री तयार पार्दासम्म त्यसमा ११ सय भन्दा बढी रियाक्सन आइसकेको छ । उक्त पोस्टमा कमेन्ट गर्दै फेसबुक प्रयोगकर्ताहरूले उक्त पोस्ट एआई जेनेरेटेड भएको बताइरहेका छन् । हेर्नुहोस्, पोस्ट र स्क्रिनशट ।
अर्का फेसबुक प्रयोगकर्ता ‘Samir Tamang drastic changes’ ले सो फोटो महावीर पुनको पुरानो फोटोलाई लिएर गलत भन्न नमिल्ने भन्दै सोही तस्बिर सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, “राजाबाट टीका लगाउनु त्यो समयको परम्परा र सम्मान थियो, धन्दा होइन। डा. महाबीर पुनजस्ता निस्वार्थ र देशका लागि जीवन समर्पण गर्ने व्यक्ति माथि यसरी पुरानो दृश्य प्रयोग गरेर अपमान गर्नु आफैं देशप्रेमको अभाव हो । किताब बेचेर ३० बर्षदेखि बन्द रहेको कृषि औजार सन्चालन गर्ने अभियान सम्मलाइ कमाउन हिडेको भन्छ त्यस्ताहरुलाइ भन्ने के? हामीले मानिसको मूल्य उनको काम र योगदानले नाप्नुपर्छ, विगतको संस्कार वा परम्पराले होइन ।”
उनको उक्त पोस्टमा महावीर पुनले नै कमेन्ट गरेर तस्बिरमा रहेको व्यक्ति आफू नभएको भन्दै खण्डन गरेका छन् । उनले लेखेका छन्, “यो फोटो AI ले बनाएको हो। कहाँबाट आयो ?” हेर्नुहोस्, पोस्ट र स्क्रिनशट ।