close

नयाँ प्रणालीमा भेटियो लाइसेन्स डाउनलोड गर्न सकिने फिचर, के ट्राफिकले मान्यता देला ?

टेकपाना टेकपाना

साउन ४, २०८३ १८:१६

नयाँ प्रणालीमा भेटियो लाइसेन्स डाउनलोड गर्न सकिने फिचर, के ट्राफिकले मान्यता देला ?

काठमाडौं । गत शुक्रबारदेखि लागु भएको नयाँ प्रणालीमा सेवाग्राहीले ‘सवारी चालक अनुमतिपत्र’ (ड्राइड्रिङ लाइसेन्स) डाउनलोड गर्न सकिने फिचर फेला परेको छ । सवारी चालक अनुमतिपत्रका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेर योग्य भएका सेवाग्राहीले अनलाइनबाटै आफ्नो लाइसेन्सको पीडीएफ फाइल डाउनलोड गर्न सक्ने भएका हुन् । 

यातायात व्यवस्था विभागले सातै प्रदेशका लागि सञ्चालनमा ल्याएको फरक-फरक पोर्टलमा यो फिचर देखिएको छ । यद्यपि यातायात व्यवस्था विभाग वा यातायात कार्यालयहरूले यसबारे औपचारिक रूपमा जानकारी दिएका छैनन् । 

जुनसुकै प्रदेशको ‘इलेक्ट्रोनिक्स ड्राइभिङ पोर्टल’ मा गएर ड्राइभिङ लाइसेन्स डिटेल्समा आफ्नो विवरण इन्ट्री गरेपछि मोबाइलमा एसएमएसमार्फत ओटीपी कोड प्राप्त हुन्छ । उक्त कोड सिस्टममा राखेपछि लाइसेन्सको फोटो र विवरणसहितको कार्ड देखिन्छ, जसलाई पीडीएफ भर्सनमा डाउनलोड गर्न सकिन्छ । यसरी डाउनलोड गरिएको लाइसेन्स क्यूआर कोडसहित हुबहु नयाँ डिजिटल कार्डजस्तै देखिन्छ ।

यसरी डाउनलोड गरिएको लाइसेन्सको प्रयोग र मान्यताका विषयमा भने अहिले अन्योल देखिएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यसबारे आफूलाई आधिकारिक जानकारी नभएको बताए ।

“डाउनलोड भएको पीडीएफ फाइलको लाइसेन्सलाई मान्यता दिनेबारे हालसम्म कुनै निर्णय नभएको छैन,” उनले टेकपानासँग भने, “पछिल्लो समय नागरिक एपमा रहेको लाइसेन्स, चिपयुक्त लाइसेन्स र क्यूआर कोडयुक्त भौतिक लाइसेन्सलाई मात्र ट्राफिक प्रहरीले कारबाहीका क्रममा मान्यता दिइरहेको छ । यसमा केही निर्णय भए जानकारी गराउनेछौं ।”

नयाँ फिचरको प्राविधिक तथा व्यावहारिक पक्षबारे ट्राफिक प्रहरी निरीक्षक दीपेन्द्रप्रसाद साहले यो एक सहयोगी सुविधा भएको टिप्पणी गरे । उनले भने, “यसरी लाइसेन्स डाउनलोड गर्न पाउँदा भविष्यमा सेवाग्राहीले हार्डकपी नै बोक्नुपर्ने बाध्यता हट्न सक्छ । यद्यपि, तत्कालका लागि भने सडक चेकजाँचका क्रममा मोबाइलमा डाउनलोड गरिएको फोटो वा पीडीएफ देखाएर मात्र कारबाहीबाट जोगिन मिल्ने अवस्था छैन । सडकमा गुडिरहेको अवस्थामा एकजनाको मोबाइलमा रहेको पीडीएफ अर्को व्यक्तिलाई फरवार्ड गरेर देखाउन सक्ने जोखिम हुने भएकाले यसलाई सिधै मान्यता दिन अहिले सकिंदैन ।”

तर, यो डाउनलोड गरिएको लाइसेन्स तत्कालका लागि अन्य कतिपय प्रशासनिक कार्यमा भने उपयोगी बन्न सक्ने देखिएको छ । धेरै चालकको भौतिक लाइसेन्स पुरानो भएर वा घिस्रिएर नम्बर नदेखिने अवस्थामा पुगेको हुन्छ । यस्तो अवस्थामा कार्यालयमा चिट काटेर ब्लु बुक लिन आउने चालकको लाइसेन्स नम्बर प्रणाली (ईभीआरएस) मा अनिवार्य इन्ट्री गर्नुपर्ने हुन्छ ।

डाउनलोड गरिएको लाइसेन्समा विवरण स्पष्ट देखिने भएकाले यस्ता काममा यसले सजिलो बनाउने र सम्बन्धित व्यक्ति वास्तविक लाइसेन्स होल्डर हो वा होइन भन्ने यकिन गर्न प्रमाण पुग्ने साहले जानकारी दिए ।

हाल ट्राफिक प्रहरीले ई-चलानमार्फत कारबाही गर्दा नागरिक एपको क्यूआर कोड स्क्यान गर्ने व्यवस्था मिलाएको भए पनि भौतिक लाइसेन्स वा डाउनलोड गरिएको फाइलमा भएको क्यूआर कोड स्क्यान गर्ने प्रणाली बनाइसकेको छैन ।

प्रहरी निरीक्षक साहले भने, “आगामी दिनमा यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीसँग आवश्यक पहल र समन्वय गरेर लाइसेन्सको क्यूआर कोड स्क्यान गरी कारबाही अभिलेख राख्न मिल्ने प्रविधि ई-चलानमा विकास गरेमा यो प्रणाली उपयोगी बन्न सक्छ ।” 

त्यसपछि मोबाइलमा डाउनलोड गरिएको लाइसेन्स वा त्यसको फोटोको क्यूआर कोड स्क्यान गरेरै पनि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाउन सक्नेछ तर हाललाई भने यो प्राविधिक व्यवस्था लागु भइसकेको छैन ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८३ १८:३३