close

यसरी जेनजी विद्रोहलाई अन्तर्राष्ट्रिय मिडियासम्म पुर्‍याउने शक्तिशाली माध्यम बन्यो टिकटक

टेकपाना टेकपाना

कात्तिक ३, २०८२ १७:११

यसरी जेनजी विद्रोहलाई अन्तर्राष्ट्रिय मिडियासम्म पुर्‍याउने शक्तिशाली माध्यम बन्यो टिकटक

काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी विद्रोहले सामाजिक सञ्जाल टिकटकको सहायताले अन्तर्राष्ट्रिय चर्चा पाएको निष्कर्ष मिडिया कुराकानीले सार्वजनिक गरेको भिडिओ रिपोर्टले निकालेको छ । सोमबार सार्वजनिक भएको भिडिओले नेपालमा अन्य सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागिरहेको समयमा युवाले टिकटकले सूचना प्रवाहमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।

आन्दोलनको पहिलो दिन माइतीघरमा रोज कँडेल नामकी एक युवती अङ्ग्रेजीमा बोलिरहेको भिडिओ भाइरल भयो । कुनै अन्तर्राष्ट्रिय मिडियाका लागि रिपोर्टिङ गरिरहेको जस्तो देखिने उनको भिडिओ २९ लाखभन्दा बढी पटक हेरियो । तर, उनी पत्रकार थिइनन् । उनले त्यसै रात टिकटकबाटै अन्तर्राष्ट्रिय मिडियालाई यहाँको सरकारी दमनबारे समाचार बनाउन अपिल गरिन् । उनको त्यो प्रयासले छिट्टै सार्थकता पायो र उनी भारतीय टेलिभिजन च्यानलमा लाइभ अन्तर्वार्ता दिँदै देखिइन् ।

रोज एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै सयौँ युवाले अङ्ग्रेजी भाषामा टिकटक भिडिओ बनाएर प्रदर्शनको वास्तविकताबारे विश्वलाई जानकारी गराए । मिडिया कुराकानीले ‘ओपन सोर्स इन्टेलिजेन्स (ओसिन्ट)’ विधिबाट ६० भन्दा बढी टिकटक भिडिओको अध्ययन गरी यो निष्कर्ष निकालेको हो ।

सुरुवातमा बीबीसी, सीएनएन, न्युयोर्क टाइम्स जस्ता ठुला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो आन्दोलनलाई ‘सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको प्रदर्शन’ भनेर समाचार बनाए । तर, आन्दोलनको मुख्य माग भ्रष्टाचारको अन्त्य र सुशासन थियो ।

जब अन्तर्राष्ट्रिय मिडियाले तथ्य बङ्ग्याए, जेनजी प्रदर्शनकारीहरूले टिकटक र अन्य सञ्जालमार्फत नै उनीहरूलाई झकझक्याउन थाले । उनीहरूले आन्दोलनको मूल मर्म भ्रष्टाचारविरोधी भएको र सरकारले दमन गरिरहेको भन्दै निरन्तर भिडिओ पोस्ट गरे । यही दबाबका कारण पछि अन्तर्राष्ट्रिय मिडियाले आफ्नो समाचार सच्याउँदै यसलाई भ्रष्टाचारविरुद्धको आन्दोलन भनेर उल्लेख गर्न थाले ।

“सोसल मिडिया खासगरी डिस्कर्ड र रेडिटमा एकत्रित भएर छलफल गरिरहेका युवा विद्यार्थी भ्रष्टाचार अन्त्यको मुख्य माग राखेर सडकमा आए,” भिडिओका प्रस्तोता रविराज बरालले भनेका छन्, “बिहान प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भयो । प्रत्येकजसोले स्मार्टफोनबाट मिनेट-मिनेटका गतिविधिका फोटा र भिडिओ खिचिरहेका मात्र थिएनन्, लाइभ पनि गरिरहेका थिए । गोली लागेर सडकमा प्रदर्शनकारी ढल्न थालेपछि उनीहरूले अन्तर्राष्ट्रिय मिडियालाई आह्वान गरेर भिडिओ बनाउन थाले र त्यो क्रम जारी रह्यो ।”

प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि सरकारले दमन गर्न थाल्यो र सडकमा गोली चल्न थाल्यो । त्यसपछि युवाले भिडिओमार्फत अन्तर्राष्ट्रिय मिडियालाई मात्र होइन, संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय मानवअधिकार समुदायलाई समेत यसबारे जानकारी दिंदै सहयोगका लागि आह्वान गरे । “यति धेरै ईमेल गरौँ कि उनीहरूलाई दबाब सिर्जना होस्,” भन्दै उनीहरूले अभियान नै चलाए ।

यसको परिणाम तत्काल देखियो । सोही दिन साँझ संयुक्त राष्ट्र संघले प्रदर्शनमा भएको हत्या र दमनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिनका लागि आग्रह गर्‍यो । यो घटनाले ‘प्रयोगकर्ता निर्मित सामग्री’ (User-Generated Content) को शक्तिलाई प्रमाणित गरेको मिडिया कुराकानीको निष्कर्ष छ । व्यावसायिक पत्रकार नभए पनि स्मार्टफोन र इन्टरनेटको पहुँच भएका यी युवाले गरेको काम कुनै पत्रकारिताभन्दा कम प्रभावकारी नभएको भिडिओमा उल्लेख गरिएको छ । 

“यस्ता सामग्रीले प्रचलित पत्रकारिताको अभ्यासलाई खरो चुनौती दिएको छ,” भिडिओका प्रस्तोता बराल भन्छन्, “अन्तर्राष्ट्रिय मिडियामा जेनजी प्रदर्शनको व्यापक कभरेज हुनुमा टिकटक सहितका सोसल मिडिया प्रयोगकर्ताले बनाएका सामग्रीको उल्लेख्य भूमिका छ भन्नेमा दुईमत छैन ।” 

उनी अगाडि भन्छन्, “स्मार्टफोन र इन्टरनेटले सुसज्जित जोकोहीलाई आजको विश्वमा खबर प्रवाह गर्नबाट रोक्न असम्भव प्रायः छ । आम मानिसले अन्तर्राष्ट्रिय मिडियामा आफ्ना कुरा सुनाउने सामर्थ्य मात्रै राख्दैनन्, उनीहरूलाई पनि जवाफदेही बनाउँदै आफ्ना मुद्दा स्थापित गर्न सक्छन् भन्ने यो स्पष्ट प्रमाण हो ।”

 

 

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८२ १७:११