close

मिलेर लाइक-फलोअर बढाउन र मनिटाइजबाट पैसा कमाउन फेसबुकमा नेपालीका दर्जनौँ ग्रुप, गर्ला त काम ?

टेकपाना टेकपाना

कात्तिक २७, २०८२ २०:१९

मिलेर लाइक-फलोअर बढाउन र मनिटाइजबाट पैसा कमाउन फेसबुकमा नेपालीका दर्जनौँ ग्रुप, गर्ला त काम ?

काठमाडौँ । नेपालमा फेसबुकले कन्टेन्ट मोनिटाइजेसनको सुविधा उपलब्ध गराएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताबिच आम्दानीका लागि योग्यता पुर्‍याउन एकआपसमा सहकार्य गर्ने अभियान नै चलेको छ । यो अभियान विशेषगरी फेसबुकमा बनाइएका विभिन्न ग्रुपमार्फत सञ्चालनमा रहेको हो । 

यी त्यस्ता ग्रुप हुन्, जहाँ प्रयोगकर्ताले एक-अर्कालाई फलो गर्ने, पोस्टमा लाइक, कमेन्ट जस्ता इङ्गेजमेन्ट बढाउने र फेसबुकले तोकेका अन्य मापदण्ड पुरा गर्न सहयोग आदान प्रदान गर्छन् । यस्तै ग्रुपमध्ये ‘Facebook monetize सहकार्य’ नामक एउटा निकै सक्रिय ग्रुप छ । 

त्यसमा ५७ हजारभन्दा बढी सदस्य जोडिएका छन् । सन् २०२२ मा स्थापित यो ग्रुपको नाम हालसालै परिवर्तन गरिएको देखिन्छ । यस ग्रुपका सदस्यहरूले आफूलाई फलो गर्न आग्रह गर्दै दैनिक सयौँ पोस्ट राख्छन् र बदलामा आफूले पनि फलो गर्ने प्रतिबद्धता जनाउँछन् ।

यसैगरी ‘Facebook Monetize हामीसँगै, आम्दानी पनि सँगै’ नामको अर्को ग्रुपमा पनि १० हजारभन्दा बढी सदस्यबिच यस्तै सहकार्य चलिरहेको छ । उनीहरूले एक-अर्कालाई फलोअर बढाउन र आपसमा सक्रिय रूपमा सहयोग गर्न आग्रह गरिरहेका हुन्छन् । यस्ता ग्रुप फलोअर बढाउनमा केन्द्रित भए पनि केही ग्रुपहरू भने ज्ञान र सूचना आदानप्रदानमा पनि लागेका छन् । 

उदाहरणका लागि ११ सयभन्दा बढी सदस्य रहेको ‘Nepali Facebook Comminity Junction’ नामक प्राइभेट ग्रुपमा फेसबुक मनिटाइजेसनसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी बाँडिन्छ । उक्त ग्रुपमा कस्तो सामग्री राख्दा फेसबुकले मनिटाइजेसन नीति उल्लङ्घन भएको मान्छ, कन्टेन्टको रिच कसरी बढाउने र फेसबुकका नीति के-के हुन् भन्ने जस्ता विषयमा सल्लाह र सुझाव आदानप्रदान हुने गर्दछ । 

यी केही प्रतिनिधि फेसबुक ग्रुप मात्र हुन् । यस्ता कैयौँ ग्रुप फेसबुकमा छन् जो फलोअर बढाउने र मनिटाइजेसनमा सघाउने उद्देश्यले सञ्चालित छन् । केहीले सुरुवातदेखि नै यही अभियान चलाएर ग्रुप सञ्चालन गरेका छन् भने केहीले पछि नाम परिवर्तन गरेर यसमा जोडिएका छन् ।

फेसबुकबाट आम्दानी गर्न आफ्नो व्यक्तिगत अकाउन्टलाई ‘प्रोफेसनल मोड’मा बदल्नुपर्छ, जसले गर्दा तपाईँका सबै सामग्री पब्लिक हुन्छन् र जोसुकैले त्यसमा लाइक, कमेन्ट गर्न सक्छन् । प्रोफेसनल मोडमा बदलिएपछि फेसबुकको एल्गोरिदमले तपाईँका पोस्टलाई अन्य प्रयोगकर्ता माझ पुर्‍याउन थाल्छ । 

यस्ता ग्रुपबाट फलोअर र तत्कालको इङ्गेजमेन्ट बढाउनु सुरुवाति प्रयोगकर्ताका लागि सहयोगी देखिए पनि यो तरिका दिगो समाधान भने होइन । किनभने यसरी जोडिएका फलोअर तपाईँको कन्टेन्टमा साँच्चै रुचि राख्ने भ्युअर नहुन सक्छन् । तपाईँले रुचि देखाउन छाड्नुभयो भने उनीहरूले पनि तपाईँको कन्टेन्टमा रुचि देखाउन छाड्न सक्छन् । 

यसले गर्दा दीर्घकालमा तपाईँको पेज वा प्रोफाइलको इङ्गेजमेन्ट घट्दै जान सक्छ । फेसबुकको आधुनिक रिकमेन्डेसन इन्जिनले तपाईँको कन्टेन्टको गुणस्तरलाई प्राथमिकता दिन्छ । यदि तपाईँको कन्टेन्ट साँच्चिकै दमदार र पृथक् छ भने कम फलोअर हुँदा पनि त्यसमा हजारौँ रियाक्सन र लाखौँ भ्युज आउन सक्छन् ।

फेसबुकबाट दिगो आम्दानी गर्न केही महत्त्वपूर्ण टिप्स अपनाउनु अनिवार्य छ । सबैभन्दा पहिला कुनै एउटा विशेष क्षेत्र (निश) छान्नुहोस् र सोही विषयमा केन्द्रित रहेर कन्टेन्ट बनाउनुहोस् । उदाहरणका लागि आफ्नो अनुभव र विज्ञता भएको क्षेत्र जस्तै खाना, घुमघाम, प्रविधि, शिक्षा वा मनोरञ्जन आदिमा केन्द्रित हुन सक्नुहुन्छ । 

यसले तपाईँलाई सोही क्षेत्रमा रुचि राख्ने वास्तविक अडियन्स बनाउन मद्‍दत गर्छ । दोस्रो आफ्नो कन्टेन्टको गुणस्तरमा कहिल्यै सम्झौता नगर्नुहोस् । आकर्षक भिडिओ, स्पष्ट अडियो र पृथक् प्रस्तुतिले दर्शकलाई आकर्षित गर्छ ।

तेस्रो नियमित रूपमा र एउटा निश्चित समयमा कन्टेन्ट पोस्ट गर्ने बानी बसाल्नुहोस् । यसो गर्दा तपाईँका फलोअर तपाईँको नयाँ कन्टेन्टको प्रतीक्षामा रहन्छन् । 

चौथो सधैँ आफ्नो पृथक् कन्टेन्ट बनाउनुहोस् र अरूको नक्कल वा कपी-राइट लाग्ने म्युजिक प्रयोग नगर्नुहोस् । अनि सबैभन्दा महत्त्वपूर्ण पक्ष धैर्ययता राख्नुहोस् । 

सामाजिक सञ्जालमा सफल हुन समय लाग्छ । सहकार्य ग्रुपबाट क्षणिक लाभ लिनुको सट्‍टा गुणस्तरीय सामग्री मार्फत वास्तविक अडियन्सको मन जित्ने प्रयास गर्नु नै सफलताको सही र दिगो बाटो हो ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ ७:२४