close

छिनछिनमा डाउन भइरहेको छ मतदाता नामावली दर्ताको वेबसाइट, आयोग भन्छः  ह्याक भएको होइन

टेकपाना टेकपाना

कात्तिक ३०, २०८२ १४:४१

छिनछिनमा डाउन भइरहेको छ मतदाता नामावली दर्ताको वेबसाइट, आयोग भन्छः  ह्याक भएको होइन

काठमाडौँ । राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिए पनि निर्वाचन आयोगको वेबसाइटमा भने बारम्बार समस्या देखिने क्रम चलिरहेको छ । वेबसाइट चुस्त रूपमा नचल्दा कतिपय नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन नपाएको गुनासो गरिरहेका छन् । 

पछिल्लो समय राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले बायोमेट्रिक दिन निर्वाचन कार्यालय धाउनै नपर्ने भएपछि नाम दर्ता गर्न खोज्नेको सङ्ख्या अधिक बढेको छ । यसै कारण वेबसाइटमा बेलाबेला ट्राफिक धान्न नसकेर नखुल्ने देखिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर  जीसीले बताए ।

निर्वाचन आयोगको वेबसाइट बेलामौकामा खुलिरहे पनि मतदाता नामावली नयाँ दर्ता र अद्यावधिक गर्ने सब डोमेन (applyvr.election.gov.np) खुलिरहेको छैन । ‘The Service is Unavailable’ भन्ने सन्देश आइरहेको  छ । 

“राष्ट्रिय परिचयपत्रबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने र बायोमेट्रिक दिन जानै नपर्ने भएपछि उत्साह बढेको छ । सामान्य समयमा नामावली दर्ता गर्ने नागरिकको सङ्ख्या एकदमै न्यून हुने गर्थ्यो । तर, २१ फागुनमा चुनाव घोषणा भएपछि नाम दर्ता गर्न खोज्ने अधिक भए । जसका कारण हाम्रो र राष्ट्रिय परिचयपत्रको सर्भरमा ज्यादै चाप परिरहेको छ,” जीसीले भने ।

तर ‘नेपाली फर नेपाल’ नामक ह्याकर समूहले निर्वाचन आयोगको वेबसाइटमा अनधिकृत रूपमा छिरेर मतदाताको जानकारी सम्बन्धी करिब ६५० पृष्ठ मेटाएको दाबी गरेको छ । तर, निर्वाचन आयोगले त्यो भ्रमपूर्ण र गलत भएको प्रतिक्रिया दिएको छ । 

ह्याकर समूहले आयोगको वेबसाइट ह्याक गरी सात बुँदे माग सरकार समक्ष पेश गरेको भन्दै त्यसको फोटो र भिडिओ सामाजिक सञ्जालमा राखेको छ । साथै विभिन्न सञ्चारमाध्यमलाई समेत त्यसको जानकारी इमेलमार्फत दिइएको छ ।

जीसीले अहिलेसम्म आयोगको वेबसाइटमा कुनै साइबर आक्रमण नभएको र मतदातासहित सबै डेटा सुरक्षित रहेको जानकारी दिए । 

“साइबर आक्रमण वा अरू केही भएको छैन । वेबसाइटमा रहेका संवेदनशील डेटा सुरक्षित छन् । वेबसाइटमा हामीले राखेका पब्लिक डेटालाई नै ह्याक भयो भन्दै भ्रम फैलाउने काम भएको देखिन्छ । वेबसाइट ह्याक भएको छैन,” जीसीले टेकपानासँग भने ।

मतदाता नामावली दर्ता गर्न खोज्नेको रिक्वेस्ट अधिक रहेकै कारण आयोगको वेबसाइटमा समस्या आउने बाहेक अरू कुनै पनि समस्या नरहेको जीसीको भनाइ छ । अहिले आयोगको वेबसाइट सामान्य अवस्थामा चलिरहेको दाबी उनले गरे । 

आयोगकै एक प्राविधिकले मतदाता नामावली दर्ता गर्ने म्याद थप भएकाले क्रमशः ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा व्यक्त गरे  । “हाम्रो टिम मतदाता नामावली दर्तालाई सहज बनाउन क्रियाशील छ । अनपेक्षित सङ्ख्याको ट्राफिकले वेबसाइटमा रिक्वेस्ट पठाइरहेकाले त्यसलाई व्यवस्थापन गर्ने काम गरिरहेका छौँ  । ट्राफिक बढी धान्ने गरी प्रणाली विस्तार गरिरहेका छौँ,” ती प्राविधिकले भने । 

निर्वाचन आयोगले आगामी २१ फागुन २०८२ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ९ असोजदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । आज ३० कात्तिकसम्मका लागि तय मतदाता नामावली दर्ताको समयावधि ५ मङ्सिरसम्म थप गरिएको छ । 

आयोगले २७ कात्तिकमा मतदाता नामावली दर्ता प्रणाली (Pre-registration system) र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NID-MIS) बिच इन्टिग्रेसन गरेको थियो । त्यसपछि राष्ट्रिय परिचयपत्र नम्बर रहेका नागरिकले आफ्नो जैविक विवरण (फोटो र औँठाछाप) दिन निर्वाचन कार्यालय नगई आफू रहेकै ठाउँबाट मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन मिल्ने सुविधा उपलब्ध गराइएको छ । 

सहायक प्रवक्ता जीसीकाअनुसार हालसम्म चार लाख ८५ हजार नयाँ मतदाता थपिएका छन् । राष्ट्रिय परिचयपत्रमार्फत हालसम्म दुई लाखभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराइसकेको उनले जानकारी दिए । 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १४:४२