close

जेनजी विद्रोहको समर्थनमा भिडिओ बनाउँदा मलाई एमाले कार्यकर्ताले कुटपिट गरे: टिकटकर एआरके

टेकपाना टेकपाना

मंसिर ६, २०८२ १४:१८

जेनजी विद्रोहको समर्थनमा भिडिओ बनाउँदा मलाई एमाले कार्यकर्ताले कुटपिट गरे: टिकटकर एआरके

काठमाडौँ । राजनीतिक दल र तिनको नेतृत्वमाथि सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेकै भरमा एक कन्टेन्ट क्रियटरमाथि साङ्घातिक आक्रमण भएको छ । टिकटकमा ‘अर्जुन एआरके’ नामले परिचित कन्टेन्ट क्रियटर अर्जुन खड्काले एमाले कार्यकर्ताबाट आफूमाथि कुटपिट भएको दाबी गरेका हुन् ।

पछिल्लो समय ‘जेनजी’ विद्रोह र नेकपा एमाले लक्षित व्यङ्ग्यात्मक भिडिओ बनाएर चर्चामा आएका खड्काले आफूमाथि भौतिक आक्रमण भएको भन्दै चोटपटक लागेका तस्बिर र भिडिओ सार्वजनिक गरेका छन् ।

आमासँग मिलेर रमाइला भिडिओ बनाउँदै आएका अर्जुनका टिकटकमा सात लाखभन्दा बढी फलोअर छन् । टेकपानासँगको कुराकानीमा अर्जुनले आफूमाथि भएको घटनाबारे विवरण सुनाएका छन् ।

“अस्ति (बिहीबार) बेलुका म आफ्नो डान्स स्टुडियोबाट कोठामा फर्किंदै थिएँ । हतारमा गल्लीको बाटो जाँदै गर्दा एक जनाले बोलायो । म फ्यान होला भनेर नजिक गएँ,” घटनाको विवरण सुनाउँदै उनले भने, “नजिक जानासाथ ती व्यक्तिले ‘झोले ग्याङ माचिस’ भन्ने मेरो व्यङ्ग्यात्मक भिडिओको कुरा निकाले ।”

अर्जुनका अनुसार ती व्यक्तिले ‘त्यो भिडिओ किन बनाइस् ? हटाउँछस् कि नाइँ ?’ भन्दै धम्क्याएका थिए । उनले भिडिओ नहटाउने जवाफ फर्काउनासाथ अन्य चार जना आएर उनलाई घेरेर हातपात सुरु गरेका थिए ।

“मैले हटाउँदिन भन्नासाथ अरू चार जना आएर सोझै हातपात गर्न थाले । के केले कुटे थाहा भएन । म त बेहोस् भएछु,” उनले भने, “पछि नजिकैका अरू मान्छेले देखेपछि उनीहरू भागेछन् ।” उनले आफूलाई एमालेका कार्यकर्ताले नै आक्रमण गरेको दाबी गरेका छन् ।

बुवाको निधनपछि आमाकै सहारामा हुर्किएका अर्जुनमाथि आक्रमण हुँदा उनकी आमा भावविह्वल भएकी छिन् । अर्जुनले सार्वजनिक गरेको एक भिडिओमा उनकी आमाले रुँदै आफ्नो छोरा निर्दोष रहेको बताएकी छिन् ।

“मेरो छोरालाई चार/पाँच जना मिलेर कुटेको रहेछ । के गल्ती गरेको थियो र मेरो छोराले ? ऐलेसम्म मेरो छोराले गल्ती पनि गरेको छैन । राम्रै काम गरेको छ, कसैलाई नराम्रो गरेको छैन,” भिडिओमा उनकी आमाले भनेकी छिन् । एकल महिला रहेकी उनले आफ्नो बाँच्ने सहारा नै छोरा भएको भन्दै भावुकता प्रकट गरेकी छिन् ।

अर्जुनले पनि आमाको सङ्घर्ष सम्झँदै भनेका छन्, “एउटा भिडिओका कारणले मप्रति हातपात भयो । बाबा बित्नु भएपछि मेरी आमाले मलाई पाल्न, पढाउन र हुर्काउन धेरै दुःख गर्नु भएको छ ।”

आक्रमणपछि आफूलाई बाहिर निस्किन समेत डर लागिरहेको उनले बताएका छन् । यद्यपि जस्तोसुकै धम्की आए पनि आफू पछि नहट्ने उनको अडान छ । आक्रमणकारी विरुद्ध कानुनी उपचार खोज्ने तयारीमा रहेका उनले भने, “अहिले मलाई बाहिर निस्किनै डर लागिरहेको छ, तर भिडिओ त मलाई मारे पनि म हटाउँदिन ।”

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध र जेनजी विद्रोहका क्रममा उनले बनाएका एक भिडिओमा ३५ र अर्को भिडिओमा १६ लाख बढी भ्युज छ । अर्जुनमाथि भएको आक्रमणको स्ट्यान्ड-अप कमेडियन हिमेश पन्तले भर्त्सना गरेका छन् । रोस्ट वा मिम बनाएकै भरमा भौतिक आक्रमण हुनु लोकतन्त्रको उपहास भएको उनको टिप्पणी छ ।

पन्तले सामाजिक सञ्जालमा लेखेका छन्, “हास्य सहन नसक्ने, तर्क बुझ्न नसक्ने र ‘मासुभात घिचेर नेताका भजन गाउनेहरू’– यिनै हुन् देश बिगार्ने वास्तविक बोझ,” उनले सरकारलाई प्रश्न गर्दै भनेका छन्, “सरकारलाई सोध्ने एक मात्र प्रश्न- जनताको सुरक्षा दिन्छौ कि मासुभाते झोलेको दादागिरीलाई संरक्षण गर्छौ ?”

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८२ १५:११