close

टेकपाना फ्याक्टचेकः आशिका तामाङ रास्वपा प्रवेश गरेको भन्दै एआई सिर्जित फोटो भाइरल

हिक्मत आचार्य हिक्मत आचार्य

पुस १९, २०८२ २०:३८

टेकपाना फ्याक्टचेकः आशिका तामाङ रास्वपा प्रवेश गरेको भन्दै एआई सिर्जित फोटो भाइरल

काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जालमा सामाजिक अभियन्ता आशिका तामाङको फोटोले चर्चा पाइरहेको छ । उक्त फोटोमा आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले स्वागत गरेको देखाइएको छ । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त फोटो एआई सिर्जित भएको पुष्टि भएको छ । हालसम्म आशिका तामाङ कुनै पनि पार्टीमा प्रवेश गरेकी छैनन् । 

दाबी

फेसबुकमा ‘Sushila Shigu Khapung’ ले १ जनवरी २०२६ दिउसो १२ः२० बजे एउटा पोस्ट राखिन् । पोस्टको क्याप्सनमा लेखिएको छ, “हार्दिक बधाइ छ आसिका तामाङलाइ रास्वपा प्रबेश गरेकोमा अब नेपालको मुहार फेरिने भो💪💪 #foryouシ #foryoupageシ ।” एउटै फोटोलाई तीन ठाउँमा राखिएको छ । तर, फरक फरक देखिने गरी मिलाइएको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ४४०० बढी रियाक्सन र ८९६ कमेन्ट आएका छन् भने २३ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धानका क्रममा फेसबुकमा ‘आशिका’, ‘आसिका’, ‘रास्वपा’, ‘रासपा’, ‘राशपा’ लगायतका किवर्ड खोज्यो ।

‘चामलिङ हाङ’ नामक प्रयोगकर्ताले त्यही फोटोलाई आधार मान्दै आफ्नो धारणा राखेको पोस्ट फेला पर्‍यो । उनले लेखेका छन्, “(दुई बेहुला एक बेहुली) सामाजिक अभियन्ता आसिका नाना , पन्चे बाजा बजायर सिन्दुर पोते पोहिराय झै पोहिरिन्दै उसै दिदी बेहुली जस्तै सिङगारियकी आँखा मा गाजल नाख मा नथी सपक्क कोरेको कपाल कान मा झुम्का गाला भरी पोतियको लेपन ओठमा छर्लङ्ग देखिने तो रातो लाली आहा साचिकै बेहुली बिवाह को मन्डप मा सिन्दुर लगायर फेरो लगाउन आटेको बेहुली जस्तै लु स्याबास समानुपातिक छनोट  पक्का ।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २१६ रियाक्सन र २८ कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

त्यस्तै ‘Simroungadh New’ नामको पेजले पनि आशिका तामाङ रास्वपामा प्रवेश गरेको दाबी गर्दै तीन ओटा फोटो राखेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

रवि समर्थक सिन्धुली नामको फेसबुक पेजले रवि लामिछाने र आशिका तामाङले हात मिलाएको देखिने फोटो राखेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

‘मिस पबी ४१’ नामको पेजले आशिका तामाङ र बालेन शाह जस्तो देखिने फोटो राख्दै तामाङ रास्वपामा प्रवेश गरेको दाबी गरेको छ । हेर्नुहोस् आर्काइभ पोस्ट । आर्काइभ पोस्ट ।