close

फ्याक्टचेकः युट्युबर भोजराज थापा बिरामी भएको मौका छोपी लाइक भ्युजका लागि टिठलाग्दो देखिने एआई फोटोको खेती

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

पुस २७, २०८२ २१:८

फ्याक्टचेकः युट्युबर भोजराज थापा बिरामी भएको मौका छोपी लाइक भ्युजका लागि टिठलाग्दो देखिने एआई फोटोको खेती

काठमाडौँ । युट्युबर भोजराज थापा बिरामी भई अस्पतालको शय्यामा पल्टिएका तस्बिर केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा छ्यापछ्याप्ती फैलिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले उनलाई भेटेको र आँसु झारेको भन्दै हृदयविदारक अवस्था दर्साउने तस्बिरले चर्चा पाएका छन् । 

टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट भोजराज थापा बिरामी भएको पुष्टि त हुन्छ, तर रवि लामिछाने र बालेन शाहले उनलाई भेटेका भनिएका ती तस्बिर भने एआई सिर्जित हुन् । 

दाबी 

शनिबार राति ‘७:३१’ मा भोजराज थापा बिरामी भएको दाबिसहित ‘comrade jamu’ नामक फेसबुक पेजले एक पोस्ट गरेको छ । उक्त पोस्टमा लेखिएको छ, “सबै ले भोजराज थापा लाई Get well Soon लेखौ” । उक्त पोस्टको फोटोमा भोजराज थापा अस्पतालको बेडमा अक्सिजन मास्क लगाएर सुतेका छन् भने उनलाई डाक्टरले जाँच गरिरहेको जस्तो देखिन्छ । थापालाई हेरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुखित मुद्रामा हात जोडिरहेका छन् । 

सो पोस्टमा यो सामग्री तयार पार्दा सम्म २० हजारभन्दा धेरै लाइक, ४५ सय बढी कमेन्ट र २५१ पटक शेयर गरिएको छ । पोस्टमा अधिकांशले कमेन्ट गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

अनुसन्धान 

भोजराज थापा बिरामी भएको र रवि लामिछानेले अस्पतालमा भेटेको देखिने कमरेड जामुले शेयर गरेको तस्बिर निकै भाइरल भएको पाइएपछि हामीले अन्य पोस्टहरू पनि खोज्यौँ । ‘Bhojraj Thapa’ ग्रुपमा फेसबुक प्रयोगकर्ता ‘Narayan Bc’ ले पनि सोही प्रकृतिको तस्बिर शेयर गरेको पाइयो । 

आइतबार बिहान १०:४७ मा सार्वजनिक उक्त पोस्टमा पनि थापा अस्पतालको शय्यामा अक्सिजन मास्क लगाएको अवस्थामा देखिएका छन् ।  उक्त पोस्टमा लेखिएको छ, “भोजराजलाई भेट्न हामी बिहानै रबिदाई पुग्यौं। सबैले उनलाई चाँडै स्वस्थ होऊ भनी शुभकामना लेख्नु होला”  । उक्त पोस्टमा यो सामग्री तयार पार्दा सम्म १६ हजार बढि रियाक्ट र ३६ सय बढि कमेन्ट गरिएको छ । पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

यस्तै, आइतबार दिउँसो ४:०३ मा ‘Bikram King’ नामक फेसबुक अकाउन्टबाट पनि सोही किसिमको पोस्ट गरिएको छ । पोस्टमा लेखिएको छ,  “भोजराज थापा एक्कासी अस्पताल भर्ना, सबै जनाले Get Well Soon लेख्नुहोला ❤️🙏😭😭 ।” यो सामग्रीलाई तयार पार्दा सम्म उक्त पोस्टमा ३२ सय बढी रियाक्ट गरिएको छ ।  पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।  

‘Miss Pabi 41’ नामक फेसबुक पेजले बिहीबार दिउँसो १२:०५ मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, रवि लामिछाने, भोजराज थापा सहितको अस्पतालमा देखिने तस्बिर सार्वजनिक गरिएको छ । उक्त पोस्टमा लेखिएको छ, “भोजराज लाई भेट्न पुगे रबि बालेन, सबै जनाले Get Well Soon लेख्नुहोला ❤️🙏😭😭” । यो सामग्री तयार पार्दासम्म ११ हजार बढि लाइक र १५ बढी कमेन्ट गरिएको छ । हेर्नुहोस्  पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

‘Miss Pabi 41’ नामक पेजले नै थापाको अर्को पोस्ट पनि शेयर गरेको भेटियो । फेसबुकमा बिहान ८:४६ मा थापालाई भेट्न रवि लामिछाने गएको दाबि सहितको पोस्ट सार्वजनिक गरेको पाइएको हो । उक्त पोस्टमा १५ हजारभन्दा धेरैले लाइक गरेका छन् भने २४ सय भन्दा धेरै व्यक्तिले कमेन्ट गरेका छन् । उक्त पोस्टमा भनिएको छ, “भोजराज लाई भेटन बिहानै रबिदाई पुगे, सबैले Get Well Soon लेख्नुहोला ❤️🙏😭😭” । तस्बिरमा रवि लामिछाने भावुक भएर भोजराजतर्फ हेरेर हात जोडिरहेको तस्बिर राखिएको छ । पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

सामाजिक सञ्जालमा भाइरल तस्बिरहरूमा हजारौँले लाइक गरेका छन् । तर झट्ट हेर्दा नै ती तस्बिरहरू एआई सिर्जित जस्ता देखिन्छन् । त्यसैले हामीले ती तस्बिरलाई एआई डिटेक्सन टुलमा राखेर जाँच गरेर हेर्‍यौँ । 

सबैभन्दा पहिला हामीले ‘comrade jamu’ ले शेयर गरेको रवि लामिछानेसहितको तस्बिरलाई एआई डिटेक्सन टुल ‘हाइभ मोडरेसन’मा राखेर हेर्‍यौँ । हाइभ मोडरेसनले सो तस्बिर ९९.९ प्रतिशत एआई सिर्जित रहेको देखायो । जसमा जेमिनाईको प्रयोग भएको सम्भावना धेरै देखाएको छ ।