close

नागरिक एपबाट लिएको भोटर आईडीको स्क्रिनशट देखाएर मतदान गर्न पाइन्छ कि पाइँदैन ?

टेकपाना टेकपाना

फागुन १७, २०८२ ९:५८

नागरिक एपबाट लिएको भोटर आईडीको स्क्रिनशट देखाएर मतदान गर्न पाइन्छ कि पाइँदैन ?

काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक एपमा मतदाता परिचयपत्रको स्क्रिनशट लिन मिल्ने सुविधा थपिएको छ । यससँगै कतिपय मतदातामा उक्त स्क्रिनशट प्रयोग गरी मतदान गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न वा जिज्ञासा छ ।

मतदान निर्देशिका २०८२ को दफा ८४ मा मतदान गर्न जाँदा मोबाइल साथमा लिएर जान नपाइने व्यवस्था गरिएको छ । जसले गर्दा नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाउने सम्भावना हुँदैन ।

यद्यपि, यस्तोमा मोबाइलबाट लिइएको स्क्रिनशट भने प्रिन्ट गरेर साथमा लान भने सकिने भयो । अब यसरी लिइएको मतदाता परिचयपत्रको प्रिन्टलाई आधिकारिक परिचयपत्र मान्छ कि मान्दैन भन्ने प्रश्न रह्यो ।

निर्देशिकाको दफा ४३ मा मतदाताको नाम जाँच गरी रुजु गर्ने सम्बन्धी व्यवस्था छ । जसअनुसार मतदान केन्द्रमा मतदाता प्रवेश गरेपछि मतदान अधिकृत वा खटाइएको कर्मचारीले मतदाता परिचयपत्र हेरेर सम्बन्धित व्यक्तिको नाम मतदाता नामावलीमा समावेश भएको छ, छैन र मतदाता नामावलीमा भएको फोटो र ब्यहोरासँग भिड्छ, भिड्दैन सो जाँच गर्नु पर्छन् ।

यसरी गर्दा मतदाताको नाम, थर, उमेर, सो मतदाताको पिता/माताको नाम, विवाहित भए पति वा पत्नीको नाम आदि सोधी जाँच गर्दा मतदाता नामावलीमा लेखिएको व्यक्ति निज नै हो भन्ने कुरामा मतदान अधिकृत वा मतदाता नामावली जाँच गर्न खटिएको कर्मचारी विश्वस्त भएमा मतपत्र उपलब्ध गराउँछन् ।

मतदाता परिचयपत्रमा मतदाता नम्बर समेत उल्लेख हुने भएकाले मतदान अधिकृतलाई नाम रुजु गर्न सहज हुन्छ । तर मतदाता परिचयपत्र नै साथमा नभए के गर्ने त ?

चिन्ता नलिनुहोस् । निर्देशिकाको दफा ८४ ले मतदाता परिचयपत्रको विकल्प समेत दिएको छ । जसअनुसार मतदाता परिचयपत्र बाहेक नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी (पासपोर्ट), जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आधारमा पनि मतदान गर्न पाइन्छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मतदानका लागि यी मध्ये कुनै एक सक्कल परिचयपत्र साथमा हुनुपर्ने बताए । "साथमा मतदाता परिचयपत्रको प्रिन्ट वा फोटोकपी हुँदा नाम रुजु गराउँदा केही छिटो र सजिलो भने अवश्य हुन्छ," उनले भने, "तर अहिलेसम्म स्क्रिनशटको प्रिन्टको आधारमा मात्रै मतदान गर्न पाउने भन्ने किसिमको निर्णय भने आयोगबाट भएको छैन ।"

यद्यपि नागरिक एपको भोटर आईडीमा एउटा क्यूआर कोड समेत समावेश गरिएको छ । जुन क्यूआर कोड स्क्यान गरेर मतदान अधिकृतहरूले मतदाताको रुजु तथा प्रमाणीकरण भने गर्न सक्ने सुविधा छ । तर आयोगले यस विषयमा निर्णय नगरिसकेको अवस्थामा भोटर आईडीको स्क्रिनशट तथा प्रिन्टकै आधारमा भोट हाल्न पाउने अवस्था बनिसकेको छैन । 

सबै मतदान स्थलहरूमा भरपर्दो इन्टरनेटको सुनिश्चितता भइ नसकेको, आयोगकै डेटाबेसमा त्रुटि हुनसक्ने आदि कारणले २१ फागुनमा हुने निर्वाचन अगावै त्यस किसिमको निर्णय हुने सम्भावना एकदमै कम रहेको सूचना प्रविधि शाखाका एक अधिकृतले बताए । 

पछिल्लो अध्यावधिक: फागुन १७, २०८२ १०:३६