नेपाल टेलिकमको अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा अब डेनमार्क र दक्षिण कोरियामा पनि
चैत १०, २०८२ १८:७
काठमाडौँ । नेपाल टेलिकमले डेनमार्क र दक्षिण कोरियामा अन्तर्राष्ट्रिय भोल्टे (भ्वाइस ओभर एलटीई प्रविधि) रोमिङ सेवा विस्तार गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले यसबारे जानकारी दिएको हो ।
यस सेवाका लागि डेनमार्कको ‘टेलिनोर डेनमार्क’ र दक्षिण कोरियाको ‘एसके टेलिकम’ सँग व्यावसायिक सम्झौता गरिएको छ । योसँगै नेपाल टेलिकमको भोल्टे रोमिङ सेवा विश्वका आठ देशमा पुगेको छ ।
क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवानमा यसअघि यो सेवा उपलब्ध थियो । हालसम्म टेलिकमले यी देशका नौ सेवा प्रदायकसँग रोमिङ सम्झौता गरिसकेको छ ।
अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवामार्फत ग्राहकले विदेशमा रहँदा पनि नेपालमा जस्तै एचडी क्वालिटीमा भ्वाइस कल, डेटा र एसएमएस सेवा प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ ।
यो सेवा प्रयोग गर्न ग्राहकको मोबाइल सेट भोल्टे सपोर्ट गर्ने हुनुपर्छ र सिम कार्डमा यो सेवा पहिले नै एक्टिभेट गरिएको हुनुपर्छ । मोबाइल स्क्रिनको माथिल्लो भागमा HD वा VoLTE लेखिएको भएमा सेवा उपलब्ध छ भन्ने बुझिन्छ ।
यदि सेवा सक्रिय छैन भने ग्राहकले *444# डायल गरी ‘Activate VoLTE’ विकल्प छनोट गरेर सेवा सुरु गर्न सक्ने टेलिकमले जनाएको छ ।
रोमिङ सेवा र यसको महसुल सम्बन्धी थप विस्तृत जानकारी टेलिकमको आधिकारिक वेबसाइटमार्फत लिन सकिन्छ ।
पछिल्लो अध्यावधिक: चैत १०, २०८२ १८:७
