ओप्पोले ल्यायो नयाँ फोल्डेबल फ्ल्यागशिप फोन फाइन्ड एन-६, यस्ता छन् आकर्षक फिचर
चैत १२, २०८२ १९:४०
काठमाडौँ । ओप्पोले आधिकारिक रूपमा आफ्नो अर्को पुस्ताको फोल्डेबल स्मार्टफोन फाइन्ड एन-६ बजारमा ल्याएको छ । डिजाइन, कार्यक्षमता र क्यामेराको क्षेत्रमा महत्त्वपूर्ण सुधारका साथ आएको यो डिभाइसले फोल्डेबल स्मार्टफोनको अनुभवलाई अझ परिष्कृत र टिकाउ बनाउने लक्ष्य राखेको छ । फोनको मूल्य करिब २ लाख ७० हजार रुपैयाँ रहेको छ ।
फोल्डेबल फोनहरूको मुख्य चुनौतीको रूपमा रहेको डिस्प्ले क्रिज (screen crease) लाई कम गर्न ओप्पोले यस पटक विशेष प्रविधि अपनाएको छ । यसमा दोस्रो पुस्ताको टाइटानियम फ्लेक्सन हिन्ज (Titanium Flexion Hinge) प्रयोग गरिएको छ, जुन एड्भान्स थ्रीडी लिक्विड प्रिन्टिङ प्रविधिबाट निर्माण गरिएको हो । यसको भित्री स्क्रिनमा सेल्फ-रिपेयरिङ मेमोरी ग्लास र लचिलो ग्लास लेयर प्रयोग गरिएको छ । जसले गर्दा यसको क्रिज औँलाले महसुस गर्न नसकिने र आँखाले देख्न मुस्किल हुने 'जिरो-फिल' अनुभव प्रदान गर्दछ ।
यसको हिन्जले ६ लाख पटकसम्मको फोल्ड सहन सक्ने र १० लाख पटकसम्मको फोल्डिङ परीक्षण सफलतापूर्वक पार गरेको कम्पनीले जनाएको छ । ग्रेड ५ टाइटेनियम र एयरक्राफ्ट-ग्रेड आल्मुनियमबाट बनेको यो फोन खुला हुँदा मात्र ४.२ एमएम र फोल्ड हुँदा ८.९ एमएम पातलो छ । यसको तौल २२५ ग्राम रहेको छ । सुरक्षाका लागि यसमा आईपी-५६, आईपी-५८ र आईपी-५९को रेटिङ दिइएको छ, जसले धुलो र पानीबाट सुरक्षा प्रदान गर्छ । यो फोन स्टेलर टाइटेनियम, ब्लोसम अरेन्ज, पर्ल ब्ल्याक र केही क्षेत्रमा डिप ब्ल्याक रङमा उपलब्ध हुने बताइएको छ ।
फाइन्ड एन-६ मा ८.१२ इन्चको ठुलो एलटीपीओ ओलेड भित्री स्क्रिन छ । जसको रिजोलुसन २२४८ × २४८० र रिफ्रेश रेट १२० हर्ज रहेको छ। यसको अधिकतम ब्राइटनेस २५०० निट्स छ र यसले डल्बी भिजन तथा एचडीआर-१० प्लस सपोर्ट गर्छ । आँखाको सुरक्षाका लागि यसमा २१६० हर्जको पीडब्लूएम डिमिङ प्रविधि राखिएको छ ।
बाहिरी भागमा ६.६२ इन्चको एलटीपीओ ओलेड कभर डिस्प्ले छ । जसको ब्राइटनेस ३६०० निट्ससम्म पुग्न सक्छ । यसले गर्दा चर्को घाममा पनि फोन सहजै चलाउन सकिन्छ । दुवै डिस्प्लेले स्टाइलस इनपुट सपोर्ट गर्छन् ।
कार्यक्षमता र सफ्टवेयर
यो स्मार्टफोनमा ३ एनएम आर्किटेक्चरमा आधारित शक्तिशाली Snapdragon 8 Elite Gen 5 प्रोसेसर र Adreno 840 GPU प्रयोग गरिएको छ । यसमा १६ जीबीसम्मको र्याम र १ टिबी सम्मको UFS 4.1 स्टोरेज उपलब्ध छ ।
फाइन्ड एन-६ एन्ड्रोइड १६ मा आधारित कलरओएस-१६ मा चल्छ । यसको 'फ्रि-फ्लो विन्डो' फिचरले प्रयोगकर्तालाई एकै पटक चारवटा एपहरू चलाउन र व्यवस्थापन गर्न अनुमति दिन्छ । साथै 'ओ+ कनेक्ट' मार्फत म्याक, विन्डोज र आईओएस उपकरणहरू बीच फाइल शेयरिङ र स्क्रिन मिररिङ गर्न सहज बनाइएको छ ।
क्यामेरा
ओप्पोले यसमा ह्यासलब्ल्याडसँगको सहकार्यमा शक्तिशाली ट्रिपल क्यामेरा सेटअप राखेको छ । जसमा २०० एमपी मुख्य सेन्सर (ओआईएस सहित), ५० एमपी पेरिस्कोप टेलिफोटो लेन्स (3x जुम र OIS सहित) र ५० एमपी अल्ट्रा-वाइड क्यामेरा (अटोफोकस सहित) समावेश छन् ।
यसका सबै रियर क्यामेराहरूले ६० एफपीएसमा फोरके डल्बी भिजन भिडिओ रेकर्ड गर्न सक्छन् भने मुख्य सेन्सरले १२० एफपीएसमा फोरके रेकर्डिङ सपोर्ट गर्छ । सेल्फीका लागि भित्री र बाहिरी दुवै स्क्रिनमा २० एमपीका क्यामेराहरू राखिएका छन् ।
ब्याट्री र चार्जिङ
यो फोनमा ६,००० एमएएचको ठुलो सिलिकन-कार्बन ब्याट्री प्रयोग गरिएको छ । जुन फोल्डेबल फोनहरूमध्येकै सबैभन्दा ठुलो ब्याट्री क्षमता मध्येमा पर्छ । यसले ८० वाटको वायर्ड फास्ट चार्जिङ र ५० वाटको वायरलेस चार्जिङ सपोर्ट गर्छ । ८० वाटको चार्जरले फोनलाई एक घण्टाभन्दा कम समयमै फुल चार्ज गर्न सक्छ ।
अन्य विशेष फिचर
यसले ४,०९६ तहको प्रेसर सेन्सिटिभिटी भएको ओप्पो एआई पेनलाई सपोर्ट गर्छ । जसले गर्दा हातले लेखेका नोटहरूलाई तालिकामा र स्केचहरूलाई डिजिटल चित्रमा बदल्न सक्छ । यसको १ टीबी भेरियन्टमा स्याटलाइट सञ्चारको सुविधा पनि छ ।
जसले मोबाइल नेटवर्क नभएको ठाउँमा पनि सम्पर्क कायम राख्न मद्दत गर्छ । यसैगरी डल्बी एटमस सहितको स्टेरियो स्पिकरहरू पनि यसमा जडान गरिएका छन् ।
पछिल्लो अध्यावधिक: चैत १२, २०८२ १९:४०
