close

राज्यले दलित समुदायसँग क्षमायाचनाको तयारी गरिरहँदा जुम्लामा जातीय विभेदको भिडिओ भाइरल

एक महिला पक्राउ

टेकपाना टेकपाना

चैत १६, २०८२ १४:५१

राज्यले दलित समुदायसँग क्षमायाचनाको तयारी गरिरहँदा जुम्लामा जातीय विभेदको भिडिओ भाइरल

काठमाडौँ । सरकारले दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायसँग औपचारिक क्षमायाचना माग्ने निर्णय गरेको बेला जुम्लामा जातीय विभेदको घटना बाहिरिएको छ । दलित समुदायलाई अपमान गरेको भिडिओ भाइरल भएपछि प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।

आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडिओमा ‍एक महिलाले दलित समुदायका युवालाई अपाच्य शब्द प्रयोग गर्दै गालीगलौज गरेको सुनिन्छ । भिडिओमा ती महिलाले “डुम त डुमै हुन्, किन नभन्ने ? डुम भनेर किन नभन्ने ?” भन्दै खस भाषामा जातीय विभेदजन्य अभिव्यक्ति दिएकी छन् ।

‘भैँसीको मासु खाने भएकाले’ आफूले होच्याउन पाउनुपर्ने तर्क ती महिलाले राखेकी छन् । त्यहाँ रहेका अन्य व्यक्तिले कुनै पनि जातिका व्यक्तिलाई उनीहरूकै जातले बोलाउन पाउनु स्वाभाविक भए पनि होच्याउन वा विभेद गर्न नपाउने बताएका छन् । त्यसैको विरोध गर्दै उनले थप होच्याउने किसिमका अभिव्यक्ति दिंदै आफूलाई थुन्न चुनौती दिएको सुन्न सकिन्छ । 

यो घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय जुम्लाले भिडिओमा देखिएकी महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अन्दाजी ३० वर्षीया कविता बुढा छिन् । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निर्देश बरालका अनुसार पीडित पक्षले हालसम्म औपचारिक जाहेरी नदिए पनि भिडिओको प्रमाणका आधारमा नियन्त्रणमा लिइएको हो । 

प्रहरी निरीक्षक बरालले टेकपानासँग भने, “आइतबार बेलुकीको यो घटना जुम्लाको गुठिचाैर गाउँपालिका-३ को हो । हामीले भिडिओमा देखिएकी महिलालाई नियन्त्रणमा लिइसकेका छौँ । अहिले मी जाहेरीको पर्खाइमा छौँ, पीडित पक्षबाट जाहेरी आउनासाथ थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढ्छ ।”

बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले दलित समुदायमाथि वर्षौंदेखि भएको अत्याचारप्रति राज्यका तर्फबाट माफी माग्ने निर्णय गरेकै समयमा जातीय विभेद दर्साउने घटना बाहिर आएको हो । सरकारले सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ को बुँदा नम्बर ५ मा दलित समुदायले भोग्दै आएको अन्याय र विभेदलाई राज्यले औपचारिक रूपमा स्वीकार गर्दै माफी माग्ने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८२ १७:४८