मुगुका युवाले सञ्चारमन्त्री तिमिल्सिनालाई उपहारमा किन दिए पुरानो नाेकिया माेबाइल ?
चैत १८, २०८२ १८:५९
काठमाडौँ । मुगुका युवाले जिल्लाको सञ्चार अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनालाई ‘नाेकिया माेबाइल’ उपहार दिएका छन् । आशिष देवकोटाको नेतृत्वमा मङ्गलबार मन्त्रालय गएकाे टाेलीले मन्त्री तिमिल्सिनालाई सरकारको सय नीति तथा कार्यक्रममा मुगुको सञ्चार समस्या नसमेटिएको भन्दै गुनासो गरेको थियो ।
भेटका क्रममा युवाहरूले मुगुकाे सञ्चार अवस्थालाई व्यङ्ग्य गर्दै मन्त्री तिमिल्सिनालाई पुरानो नोकिया मोबाइल उपहार दिएका थिए । तर, मन्त्रीले उक्त उपहार लिन अस्वीकार गरेकाे देवकाेटाले जानकारी दिए । देवकाेटाका अनुसार त्यस क्रममा मन्त्रालय भित्र फोटो र भिडिओ खिच्न समेत रोक लगाइएकाे थियाे ।
“हामीले हाम्राे समस्या सुनाउँदै उहाँलाई बधाई साथै मुगुका जनताकाे तर्फबाट नाेकियाकाे माेबाइल उपहार पनि दिएका थियाैँ” उनले भने, “तर उहाँले माेबाइल चाहिँ लिन सक्दिन भन्नुभयाे । त्यसपछि सामूहिक तस्विर खिच्ने अवस्था पनि बनेन ।”
युवाकाे टाेलीले मन्त्रीलाई बुझाएको विवरण अनुसार जिल्लाका कूल २४ टावरमध्ये हाल १२ वटा मात्रै सञ्चालनमा छन् भने ६४ हजार जनसङ्ख्या भएको मुगुमा इन्टरनेटको प्रभावकारी पहुँच ५ प्रतिशतभन्दा कम छ । देवकाेटाका अनुसार ४५ वटा वडा मध्ये १५ वडा इन्टरनेट सेवाबाट अझै वञ्चित छन् ।


“हामीले त्यस क्षेत्रकाे समस्याकाे अवस्था र समाधानका लागि गर्न सकिने कामकाे राेडम्याप सहित उहाँको ध्यानाकर्षण गराएका छाैं,” देवकाेटाले टेकपानासँग भने । सञ्चार र प्रविधिको अभावका कारण मुगुका ६० प्रतिशत नागरिक गाउँ छोडेर सहरी क्षेत्रमा बसाइँ सरेकाे विषय समेत मन्त्रीलाई बुझाइएकाे ज्ञापनपत्रमा उल्लेख छ । मोबाइल सिग्नल पाउन अझै पनि डाँडाकाँडा धाउनुपर्ने बाध्यता रहेको भन्दै युवाहरूले तत्काल सुधार नगरे गाउँ नै खाली हुने अवस्था रहेकाे जानकारी समेत मन्त्रीलाई गराएका छन् ।
जवाफमा मन्त्री तिमिल्सिनाले यस क्षेत्रमा धेरै काम हुन बाँकी रहेकाे स्वीकार गर्दै कभरेजकाे कार्य भइरहेकाे बताए । “टावर धेरै चाहिएकाे छ । तीन हजार टावर भए नेपालभर कभरेज दिन सक्छाैँ” तिमिल्सिनाले ज्ञापनपत्र बुझाउन गएको टोलीलाई भने, “झन्डै १२ सय टावर आजभाेलिबाटै प्रक्रियामा जान्छ । अरू टावर किन्ने प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेकाे छु ।”
मन्त्री तिमिल्सिनाले आगामी ६ महिनाभित्र मुगु, नुवाकाेट लगायतका दुर्गम क्षेत्रमा गुणस्तरीय फोरजी सेवा पुऱ्याउने लक्ष्य राखिएकाे समेत बताए । मन्त्री तिमिल्सिनाकाे सचिवालयका अनुसार मुगुका युवाहरूले समस्यालाई प्रतीकात्मक बोध गराउन माेबाइल दिन खाेजेकाे तर, मन्त्रीले नलिएकाे र फाेटाे खिचेर प्रिन्ट गरेर राखेकाे जनाएकाे छ ।
“उहाँहरू आउनुभएकाे थियाे । आफ्नाे ठाउँकाे समस्या सिम्बाेलिक रूपमा पुरानो नोकिया माेबाइल उपहार दिन खाेज्नुभएकाे थियाे । अब त्याे माेबाइल लिएर के गर्नु थियाे र ? हामीले त्यसकाे फाेटाे खिचेर प्रिन्ट गरेर राखेका छाैँ” सचिवालयका एक सदस्यले भने, “मन्त्री ज्यू उहाँहरूकाे समस्यामा जानकार हुनुहुन्छ । उहाँहरू आउँदा समय अलि अभाव थियाे । तर हामीले उहाँहरूकाे कुरा सुनेर सम्बाेधन गर्ने गरि पठाएका छाैँ ।”
पछिल्लो अध्यावधिक: चैत १८, २०८२ २०:३९
