close

सामाजिक सञ्जालमा एकाएक किन चर्चामा आयो पुरानो गीत ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा…’ ?

टेकपाना टेकपाना

चैत १९, २०८२ ८:४

सामाजिक सञ्जालमा एकाएक किन चर्चामा आयो पुरानो गीत ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा…’ ?

काठमाडौँ । बुधबार दिउँसोदेखि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा एउटा पुरानो कालजयी नेपाली गीत ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा...’ एकाएक चर्चामा आएको छ । प्रयोगकर्ताले यो गीतको बोललाई स्टाटसका रूपमा लेख्ने, टिकटक बनाउने र एमाले नेताका तस्बिरसँग जोडेर शेयर गर्ने क्रम बढेको हो । 

यो गीत एकाएक चर्चामा आउनुको पछाडिको सम्बन्ध भने  नेकपा एमालेको बुधबार मात्र सम्पन्न एक राजनीतिक घटनाक्रमसँग जोडिएको छ । वास्तवमा, बुधबार नेकपा एमालेको संसदीय दलको नेता चयन गर्ने कार्यतालिका थियो । सो पदमा पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भए । 

तर, इलाम क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुहाङ नेम्वाङले पनि उक्त पदका लागि दाबी गरेका थिए । सुहाङले उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिए पनि अन्त्यमा समर्थक र प्रस्तावक नपाएपछि उम्मेदवारी नै दर्ता गर्न सकेनन् । 

परिणाम स्वरूप बादल निर्विरोध एमालेको संसदीय दलको नेतामा चुनिए । यही राजनीतिक सन्दर्भलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यङ्ग्यात्मक तथा विम्बात्मक रूपमा प्रस्तुत गर्दै पुरानो गीत जोडेका हुन् । नेता रामबहादुर थापा ‘बादल’ को नाम र सुहाङ नेम्वाङको गृहजिल्ला ‘इलाम’ लाई जोडेर ‘बादल (नेता) ले इलाम (सुहाङ) लाई छोपिदिएको’ अर्थमा यो गीत भाइरल बनाइएको हो । 

प्रयोगकर्ताले बादल र सुहाङको फोटो सँगै राखेर ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा, आज आएर यो गीतले न्याय पायो’ भन्दै टिप्पणी गरिरहेका छन् । चर्चामा आएको यो गीत करिब ३२ वर्ष पुरानो हो । गायक यम बरालले गाएको उक्त गीतका रचनाकार बुद्धवीर लामा हुन् भने सङ्गीतकार दिनेश सुब्बा हुन् । वास्तवमा यो गीत गाउने गायक यम बराल स्वयं पनि इलामकै स्थानीय बासिन्दा हुन् । यो गीतमा इलामका चियाबारी र पर्यटकीय स्थलको वर्णन गरिएको छ ।

३२ वर्ष पुरानो एउटा साङ्गीतिक सिर्जना राजनीतिक घटनाक्रमसँग संयोगवश जोडिन पुग्दा यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले रोचक मानिरहेका छन् । कतिपयले यसलाई राजनीतिक व्यङ्ग्यका रूपमा लिएका छन् भने कतिपयले इलामको चियाबारीमा खिचिएका पुराना भिडिओमा यो गीत राखेर पुनः स्मरण गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८२ ९:४६