नाम मिलेकै कारण ‘बले’ प्रकरणमा मुछिइन् असम्बन्धित युवती, भनिन्- म त्यो व्यक्ति होइन, गाली नगर्नुस्
चैत २१, २०८२ १६:५४
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’माथि लागेको बलात्कारको आरोप र उनको पक्राउको घटनाले चर्चा पाइरहँदा, नाम मिलेकै कारण एक असम्बन्धित युवती सामाजिक सञ्जालमा ‘साइबर बुलिङ’को सिकार बनेकी छिन् । अमेरिकामा रहेकी ‘सङ्गम विष्ट’ नामक युवतीले कलाकार लम्सालमाथि बलात्कारको आरोप लगाएपछि फिनल्यान्डमा बस्दै आएकी अर्की ‘सङ्गम विष्ट’लाई टिकटक लगायतका सामाजिक सञ्जालमा गालीको वर्षा हुन थालेको हो ।
फिनल्यान्डमा रहेकी सङ्गम विष्टले एक भिडिओ सार्वजनिक गर्दै आफूमाथि भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छिन् । उनले आफूलाई पछिल्लो समय नेपालमा भएको घटनाक्रमबारे जानकारी नभएको र कामका सिलसिलामा व्यस्त रहने हुनाले न्युजफिड हेर्ने समय समेत नहुने स्पष्ट पारेकी छिन् । टिकटकमा अत्यधिक गाली र नकरात्मक टिप्पणी आउन थालेपछि उनले स्पष्टीकरण दिँदै भनेकी छिन्, “संयोगवश मेरो नाम र आरोप लगाउने युवतीको नाम एउटै पर्न गएको छ । तर हामी व्यक्ति फरक हौँ । नाम मात्रै हेरेर गाली गर्नुभन्दा पहिले प्रोफाइल हेरेर व्यक्ति चिन्न र ममाथि भइरहेको बुलिङ बन्द गर्न म सबैलाई आग्रह गर्दछु ।”
@sangamm08 #foryoupage#fyp ♬ original sound - Sangam Bista
वास्तवमा अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले कलाकार सागर लम्साल ‘बले’ले झन्डै एक वर्षअघि आफू मानसिक तनावमा रहेको बेला अपार्टमेन्टमै बलात्कार गरेको भन्दै फेसबुकमार्फत आरोप लगाएकी थिइन् । सोही आरोप र सार्वजनिक चर्चाका आधारमा प्रहरीले शनिबार बिहान लम्साललाई काठमाडौँको बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको छ । यो घटना सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस सुरु भएको छ ।
पीडित र आरोपित दुवैमाथि सामाजिक सञ्जालमा अश्लील र अपाच्य टिप्पणी भइरहेका बेला नाम मिलेकै भरमा असम्बन्धित युवतीसमेत निशानामा परेकी हुन् । फिनल्यान्डमा रहेकी सङ्गमले धेरै नकरात्मक कमेन्ट आएपछि बाध्य भएर आफ्नो टिकटकको कमेन्ट सेक्सन नै अफ गरेकी छिन् ।
पछिल्लो अध्यावधिक: चैत २२, २०८२ १६:११
