१० दिनपछि बेहोस बनाएर ‘धुर्वे’ को घाँटीमा लगाइयो अफ्रिकन हात्तीमा लगाउने स्याटलाइट कलर, कसरी गर्छ काम ?
असार ३२, २०८३ १५:५०
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज नजिकै हालै आमा र छोराको ज्यान लिएको जंगली हात्ती ‘धुर्वे’लाई नियन्त्रणमा लिएर घाँटीमा स्याटलाइट कलर जडान गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले १० दिनको निरन्तर प्रयास र खोजीपछि बुधबार राति करिब १० बजे सुकीभार पोस्टबाट २०० मिटर पूर्व क्षेत्रमा धुर्वेलाई सुरक्षित रूपमा डार्ट (बेहोस) गरी स्याटलाइट प्रविधिमा आधारित रेडियो कलर जडान गरिएको बताए ।
यस अभियानमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको प्राविधिक टोलीले निकै चुनौतीको सामना गर्नुपरिरहेको निकुञ्ज प्रशासनले जनाएको छ । प्रमुख संरक्षण अधिकृत पुनका अनुसार ‘धुर्वे’ लाई नियन्त्रणमा लिने काम २१ असारदेखि नै सुरु गरेको थियो ।
तर, निगरानीमा भए पनि त्यसलाई डार्ट गरेर रेडियो कलर जडान गर्न भने सकिएको थिएन । बुधबार बेलुका नयाँ गोरख गणका गणपति शिवराम बस्न्यातसहित निकुञ्जको टोलीले बर्खाको समय, घना झाडी र मौसमको प्रतिकूलताबिच माडी र बेंगौली लगायतका क्षेत्रमा लगातार स्थान परिवर्तन गरिरहेको धुर्वेलाई अथक मेहनतका साथ ट्र्याक गरेको पुनले जानकारी दिए ।
यो स्याटलाइट कलरको प्राविधिक पक्षबारे जानकारी दिँदै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले यो अफ्रिकामा बनेको स्याटलाइट कलर भएको र यसमा कुनै सिमकार्ड प्रयोग नहुने स्पष्ट पारे । थापा मगरले भने, “यसको बेल्टमा रहेको जीपीएस सिधै स्याटलाइटसँग कनेक्ट हुने भएकाले मौसम सफा रहँदा न्यूनतम १०-१० मिनेटको अन्तरालमा यसले हात्तीको लोकेसन अपडेट पठाउँछ ।”
प्राप्त हुने विवरण र मौसमको प्रभावबारे थापा मगरले सुरक्षित अनलाइन पोर्टलमा आफ्नो युजर आईडी र पासवर्ड प्रयोग गरी ‘गुगल अर्थ’ जस्तै देखिने म्याप्समा यसको सटीक लोकेसन ट्र्याक गरिने बताए । उनले थपे, “आकाशमा बाक्लो बादल लाग्ने वा भारी वर्षा हुने प्रतिकूल मौसममा भने स्याटलाइट सम्पर्क कमजोर भई कहिलेकाहीँ ५ देखि ६ घण्टासम्म डेटा प्राप्त हुन ढिलाइ हुन सक्छ ।”
सूचना अधिकारी थापा मगरका अनुसार यस प्रविधिमा जडान गरिएको ब्या खपत समयको सेटिङमा भर पर्छ । “यसमा मोबाइलमा जस्तै ठुलो ब्याट्री हुन्छ,” उनले भने, “यदि प्रत्येक १०-१० मिनेटमा अपडेट लिने गरी सेट गरियो भने ब्याट्री बढी खपत भएर यसको आयु डेढ वर्षदेखि दुई वर्ष जति मात्र हुन्छ, तर आधा वा एक घण्टाको अन्तरालमा विवरण लिने गरी सेट गर्दा यसको ब्याट्री दुईदेखि तीन वर्षसम्म टिक्छ ।”
उनका अनुसार यो जिओफेन्सिङ प्रविधिमा पनि आधारित छ । अर्थात् सामुदायिक वन क्षेत्रमा हात्ती आएको छ भने त्यसको नोटिफिकेसन तत्काल निकुञ्ज प्रशासनमा जान्छ । यसको एक्सेस निकुञ्ज बाहिरका व्यक्तिलाई भने हुँदैन । यद्यपि, हात्ती गाउँबस्ती छिर्न लागेको देखिएमा मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वन, चोरी-सिकार नियन्त्रण युवा परिचालन अभियान र स्थानीय जनप्रतिनिधि मार्फत तुरुन्तै स्थानीय बासिन्दालाई सजग रहन अलर्ट पठाइने उनले बताए ।
प्रमुख संरक्षण अधिकृत पुनले धुर्वे हात्ती विगत ८ वर्षदेखि जंगलमै बस्ने गरेको र यसले मानव बस्तीमा त्यस्तो कुनै ठुलो क्षति नपुर्याएको उल्लेख गरे । पुनले भने, “हालै अचानक उसले आक्रमण गरेर मानवीय क्षति पुर्याएपछि हामीले यसलाई विशेष निगरानीमा राख्न र स्थानीय बासिन्दालाई सुरक्षित राख्न यो प्रविधि जडान गरेका हौँ ।”
उनका अनुसार यो डिभाइस निकुञ्जका एक अनुसन्धानकर्ताको सहयोगमा प्राप्त भएको हो । खासगरी अफ्रिकन हात्तीमा यस्तो रेडियो कलर प्रयोग हुँदै आएको छ । निकुञ्जका अनुसन्धानकर्ताले हात्तीको बानीबारे अध्ययन गर्न यो डिभाइस ल्याएका थिए । यो निकुञ्जले नै खरिद नगरेको भएकाले यकिन मूल्य बाहिर आएको छैन । यद्यपि यसको मूल्य भने बढीमा आठ लाख रुपैयाँसम्म पर्ने प्रमुख संरक्षण अधिकृत पुनले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८३ १६:५
