कन्सल्टेन्सीबाट २ वर्षअघि फिर्ता पाएको ५० हजारले एक महिला राइडरलाई पुर्यायो साइबर ब्युरो
चैत २३, २०८२ ९:३४
काठमाडौँः काठमाडौँको व्यस्त सडकमा स्कुटर डोर्याउँदै गुजारा गरिरहेकी ३२ वर्षीया रिचा मगर (परिवर्तित नाम) अचानक एउटा यस्तो झमेलामा फसिन्, जसको उनले कल्पनासम्म गरेकी थिइनन् । राजधानीको एक कार्यालयमा लामो समयदेखि काम गर्दै आएकी उनी आफ्नो महिनौँसम्म तलब रोकिएपछि दिक्क भएर नयाँ विकल्पको खोजीमा थिइन् ।
आफूसँग स्कुटर र लाइसेन्स भएको हुँदा कसैको दबाबमा बस्नु नपर्ने र समयको स्वतन्त्रता हुने देखेर उनले केही महिनाअघि मात्र राइड शेयरिङलाई आफ्नो पेसा बनाएकी थिइन् । “कामका लागि कसैलाई भन्नु पनि नपर्ने, पैसाको पनि समस्या नहुने, आफूले चाहेको समयमा चाहे जति काम गर्न पाइने, त्यसमाथि आफ्नै साधन पनि भयो,” उनी भन्छिन्, “मेरा लागि यो उत्तम अवसर थियो । त्यसैले म राइड शेयरिङमा काम गर्न थालेँ ।”
पठाओ, इन्ड्राइभ र पछिल्लो समय याङ्गो जस्ता प्लेटफर्ममा उनी सक्रिय भइन् । इमानदारीपूर्वक काम गर्ने उनको रेटिङ इन्ड्राइभमा ४.९९ र याङ्गोमा ५ थियो, जुन निकै लोभलाग्दो हो । “मैले कहिल्यै कुनै यात्रुलाई दुःख दिइनँ । एक जनाले झुक्किएर १ स्टार रेटिङ दिनु भएको रहेछ । त्यो बाहेक कहिल्यै कसैलाई नराम्रो भएन,” यात्रुबाट पाएको साथ स्मरण गर्दै उनी भन्छिन्, “त्यसमाथि महिलाले राइड गरेको भन्दै प्रोत्साहन गरेर केही रकम बढी हाल्दिनु हुन्थ्यो ।” विभिन्न राइड शेयरिङ प्लेटफर्ममा आफूले कमाएको रकम देखाउँदै उनी भन्छिन्, “हेर्नुस् न कम्तीमा दिनमा औसत १२०० रुपैयाँ कमाइरहेकी थिएँ ।”
सबथोक राम्रै चलिरहेको बेला शनिबार दिउँसो उनको व्यावसायिक जीवनमा अचानक रहस्यमय तरिकाले ब्रेक लाग्यो । एक यात्रुलाई गन्तव्यमा पुर्याएपछि उनले भाडा लिन आफ्नो इसेवाको क्यूआर कोड देखाइन् । यात्रुले स्क्यान गरेर पैसा पठाउन खोज्दा रकम गएन । उनले अर्को खाता दिएर भाडा त लिइन्, तर आफ्नो इसेवा खातामा के समस्या आयो भनी बुझ्न कस्टमर केयरमा फोन गरिन् । ग्राहक प्रतिनिधिले उनको खाता अनलाइन ठगीमा मुछिएका कारण ब्लक गरिएको र विस्तृत जानकारीका लागि साइबर ब्युरो जानुपर्ने बताए ।
सुरुमा त उनलाई कुनै यात्रुले नै ठगीको रकम पठाएर यस्तो भएको होला भन्ने लागेको थियो । किनभने राइड शेयरिङ बाहेक अन्तबाट पछिल्ला केही वर्षयता उनको इसेवामा कुनै रकम आएको थिएन । खाता ब्लक भएपछि उनको काम गर्ने उत्साह नै मरेर गयो । कसले झुक्याएर ठगीको रकम तिरेर राइड गर्यो होला भन्ने सोच्न थालिन् । पछिल्ला केही दिनयता आफ्नो स्कुटरमा राइड शेयर गरेका यात्रुका अनुहार सम्झिन थालिन् । सम्झिए जति यात्रु उनको आँखा अगाडि आए । उनीसँग राइड शेयर गरेका हरेकले उनकै अघि क्यूआर स्क्यान गरेर रकम पठाएका थिए ।
“मैले शनिबार १५ राइडको लक्ष्य राखेकी थिएँ । अकाउन्ट ब्लक भएपछि त काम गर्ने जाँगर नै हरायो,” उनी भन्छिन् । दुई वटा राइड बाँकी छँदै खाता ब्लक भएपछि थप राइड गर्ने ऊर्जा नै गायब भयो । त्यसपछि उनले पाउने बोनस रकम पनि गुम्यो । आइतबार साइबर ब्युरो पुगेर सोधपुछ गरेपछि उनको खाताको कनेक्सन मोरङको एक प्रहरी कार्यालयमा परेको उजुरीसँग जोडियो । जब अनुसन्धानका तथ्य खुल्दै गए, तब बल्ल यस घटनाको वास्तविक रहस्य बाहिरियो ।
उनको खाता ब्लक हुनुको कारण कुनै यात्रुको भाडा नभई, दुई वर्षअघिको एउटा पुरानो र बिर्सिसकेको लेनदेन थियो । त्यतिबेला रिचा जापान जाने तयारीमा थिइन् ।
“एउटा कन्सल्टेन्सीबाट आवेदन गरेकी थिएँ,” उनी सम्झिन्छिन्, “जानका लागि सबैभन्दा पहिले ५० हजार रुपैयाँ पठाउन भनियो । पछि उनीहरूले वास्ता गर्न छाडे ।” लामो समयसम्म कन्सल्टेन्सीले कुनै चालचुल नगरेपछि उनले विदेश जाने आश मारिन् र आफ्नो पैसा फिर्ता माग्न थालिन् । “मेरो पैसा फिर्ता दिनु भनेर मैले धेरै अनुरोध गरेँ । उहाँहरूले दिँदै नदिने । फोन पनि नउठाइदिने गर्न थाल्नुभयो,” उनी भन्छिन् ।
अति भएपछि उनले कानुनी उपचार खोज्ने चेतावनी दिइन् । त्यसपछि सञ्चालक पैसा फिर्ता गर्न राजी भए । तर, उनलाई एकै पटक पैसा दिइएन । “फरक फरक अकाउन्टबाट फरक फरक समयमा पाँच हजार, १० हजार रकम आउँथ्यो । मलाई त मेरो पैसा फिर्ता चाहिएको थियो,” अन्जानमै भएको गल्ती सम्झिँदै उनी भन्छिन्, “त्यो बेला पैसा मात्र चाहिएको भएर कसरी, कहाँबाट पठायो भन्नेमा वास्ता पनि भएन ।”
वास्तवमा, कन्सल्टेन्सी सञ्चालकले उनलाई अनलाइन ठगीको रकम (स्क्याम मनी) पठाएर आफ्नो ऋण तिरेको कुरा बल्ल उनले बुझिन् । इमानदारीपूर्वक काम गरेर खाने एउटी महिला, आफ्नो कुनै गल्ती नै नहुँदा पनि अचानक ‘मनी म्युल’को फन्दामा परिसकेकी थिइन् ।
“त्यो कन्सल्टेन्सी सञ्चालकले नै स्क्याम गरेको रकम थियो वा उसलाई पनि कसैले स्क्याम गरेको रकम थियो भन्ने खुलेको छैन,” उनी निरास हुँदै भन्छिन्, “म त इमानदारीका साथ काम गरिरहेको मान्छे । काम नै चौपट भयो । म अपराधी जस्तो पुलिस चौकी धाउने, विभिन्न चौकीमा फोन गर्नुपर्ने बाध्यता आइलाग्यो ।”
यस घटनाले डिजिटल कारोबारमा हुनसक्ने जोखिमलाई पुनः सतहमा ल्याएको छ । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार यो घटना अझै अनुसन्धानकै क्रममा भएकाले विस्तृत रूपमा खुलिसकेको छैन । तर, यसमा ‘मनी म्युल’ कनेक्सन स्पष्ट देखिन्छ । “मनि म्युल अकाउन्टको बिगबिगी वर्षौँदेखि नै छ । यसमा पनि जो महिलाको अकाउन्ट ब्लक भएको छ, उहाँले नै स्क्याम गरेको हो भन्ने त देखिँदैन,” प्रवक्ता गिरी भन्छन्, “तर, रकम त पीडितको खाताबाट आएको देखियो । पीडितले निवेदन दिएपछि अनुसन्धानको क्रममा जुन जुन अकाउन्टमा पीडितको रकम गएको देखियो, ती अकाउन्ट ब्लक हुन्छन् ।” रकम अनलाइनबाट पाउँदा वा पठाउँदा सही व्यक्ति वा संस्था पहिचान गरेर मात्र कारोबार गर्नुपर्ने सुझाव प्रहरी उपरीक्षक गिरीले दिएका छन् ।
पछिल्लो अध्यावधिक: चैत २३, २०८२ ११:१५
