६ स्टार्टअप व्यवसायीलाई २ लाखका दरले पुरस्कृत गर्दै युवा परिषद्, यसरी दिनुहोस् अनलाइन आवेदन
चैत २८, २०८२ १४:१७
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्ले सूचना प्रविधि उद्यमी र स्टार्टअप व्यवसायीहरूका लागि विशेष पुरस्कार योजना सार्वजनिक गरेको छ । परिषद्को आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय पुरस्कार प्रदान गर्न आवेदन आह्वान गरिएको हो ।
परिषद्ले जारी गरेको सूचना अनुसार यो कार्यक्रम अन्तर्गत देशभरबाट कूल १५ वटा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायहरू छनोट गरिनेछ । छनोटमा परेका ती व्यवसायहरूलाई केन्द्रस्तरमा आयोजना गरिने विशेष प्रदर्शनीमा सहभागी गराइनेछ । उक्त प्रदर्शनीमा सहभागीमध्येबाट सबैभन्दा उत्कृष्ट हुने ६ जना व्यवसायीहरूलाई प्रोत्साहन स्वरूप जनही २,०००,००० (दुई लाख) रुपैयाँका दरले पुरस्कृत गरिने परिषद्ले जनाएको छ ।
यो कार्यक्रमले देशका सिर्जनशील युवा उद्यमीहरूलाई आफ्नो सीप र प्रविधि प्रदर्शन गर्ने एउटा ठुलो मञ्च प्रदान गर्ने र स्टार्टअप इकोसिस्टमलाई थप बलियो बनाउने विश्वास राष्ट्रिय युवा परिषद्ले लिएको छ ।
कसरी हुने सहभागी ?
सूचना प्रविधि वा स्टार्टअप व्यवसाय दर्ता गरी सञ्चालन गरिरहेका व्यवसायीहरू यो पुरस्कारका लागि आवेदन दिन योग्य हुनेछन् । व्यवसायी आवेदन दिने अन्तिम मितिसम्म १६ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
योग्य युवा व्यवसायीहरूले परिषद्को आधिकारिक वेबसाइटमा रहेको अनलाइन फाराम पोर्टल (Online form Portal system: http://form.nyc.gov.np:81/) मार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम समयसीमा आगामी ११ वैशाख २०८३ राति १२:०० बजेसम्म तोकिएको छ ।
आवेदन परेका व्यवसायीहरूमध्येबाट सङ्क्षिप्त सूची (Shortlist) प्रकाशन गरिनेछ । कार्यक्रम हुने मिति र प्रदर्शनी हुने स्थानको जानकारी भने सङ्क्षिप्त सूची प्रकाशनको समयमा नै उपलब्ध गराइने परिषद्का उप-सचिव तारापति खरेलले जारी गरेको सूचनामा उल्लेख छ ।
विस्तृत जानकारीका लागि परिषद्ले ९८४५४७८१५२ वा ९८६३४६५५५६ मा फोन गर्न सकिने व्यवस्था मिलाएको छ । यदि अनलाइन फाराम भर्दा कुनै प्राविधिक समस्या आएमा ९८०३१६४६६४ मा सम्पर्क गरी प्राविधिक सहयोग लिन सकिनेछ ।
स्टार्टअप व्यवसायीहरूलाई आवेदन दिन सहज होस् भन्नका लागि परिषद्ले देशका विभिन्न उद्योग वाणिज्य संघहरूसँग समन्वय गरेको छ । व्यवसायीहरूले निम्न स्थानहरूबाट सहयोग लिन सक्नेछन्:
-
नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु, काठमाडौँ (९८५१०५०८३८)
-
उद्योग सङ्गठन मोरङ, विराटनगर (९८५२०८२०६०)
-
वीरगन्ज उद्योग वाणिज्य सङ्घ, पर्सा (९८४५०३९६५५, ९८५११३७९२७)
-
उद्योग सङ्घ मकवानपुर, हेटौँडा (९८५५०३५४१४)
-
मकवानपुर उद्योग वाणिज्य सङ्घ, हेटौँडा (९८५५०६८३६४)
-
व्यवसाय प्रवर्धन केन्द्र, पोखरा (९८५६०३४२३४)
-
पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा (९८५६०१६९५२)
-
बुटवल उद्योग वाणिज्य सङ्घ, बुटवल (९८५७०४४७७६, ०७१-५३०१४६)
-
कैलाली उद्योग वाणिज्य सङ्घ, धनगढी (९८५८४२०५३७)
-
सुर्खेत उद्योग वाणिज्य सङ्घ, वीरेन्द्रनगर (९८५८०२१२७८)

पछिल्लो अध्यावधिक: चैत २८, २०८२ १४:१९
