महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने युट्युबर प्रवृत्ति अलि धेरै नै भयो: सांसद धिताल
बैशाख ६, २०८३ ११:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद तथा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जालमा महिला जनप्रतिनिधि तथा युवा महिलाहरूलाई हेर्ने र प्रस्तुत गर्ने दृष्टिकोणप्रति गम्भीर प्रश्न उठाएकी छन् । पत्रकारिता पृष्ठभूमिबाट आएकी सांसद धितालले एक फेसबुक पोस्टमार्फत मिडियाले महिलाको बौद्धिकताभन्दा बाह्य रूप र हाउभाउलाई बढी महत्त्व दिने गरेकोमा चिन्ता व्यक्त गरेकी हुन् ।
सांसद धितालका अनुसार विशेषगरी युवा महिलाहरूसँग प्रश्न सोध्नुअघि 'राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनु भएको छ' जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास बढ्दै गएको छ । यसलाई उनले व्यक्तिगत टिप्पणी मात्र नभएर संरचनागत समस्याको रूपमा व्याख्या गरेकी छन् । यस्ता टिप्पणीले महिलालाई मूल विषयवस्तुबाट विमुख गराई केवल बाह्य रूपमा मात्र सीमित गर्ने उनको बुझाई छ ।
“हामीले समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि निरन्तर सङ्घर्ष गर्दै आएका हौँ,” धितालले भनेकी छन्, “तर बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले हाम्रो आवाजलाई कमजोर पार्छ, मुद्दालाई ओझेलमा पार्छ र सार्वजनिक बहसको स्तरलाई घटाउँछ ।”
सांसद धितालले पछिल्लो समय सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति अत्यधिक बढेको टिप्पणी गरेकी छन् । राम्रो नियतले गरिएका भनिएका अभ्यासहरूले पनि अन्ततः महिलालाई वस्तुको रूपमा हेर्ने संस्कारलाई नै बलियो बनाउने उनको दाबी छ । उनले थपेकी छन्, “हामी आफ्नो भूमिकाबाट यति धेरै नभड्कौँ । सामाजिक सञ्जालमा महिलाको प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति अलि धेरै नै भयो” ।
पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक रूपमा आलोचना गरोस् र गहिरो प्रश्न उठाओस् भन्ने चाहना धितालले व्यक्त गरेकी छन् । उनले पत्रकारहरूलाई सम्झाउँदै भनेकी छन्, “तपाईंले बोक्नु भएको माइक विचार बोक्ने माध्यम हो, सौन्दर्यको मूल्याङ्कन गर्ने होइन । सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्म छन् ।”
मिडिया र सूचना प्रवाह गरिरहेका युट्युब च्यानलहरूले आफ्नो प्रश्नको स्तर उकासेर मात्र मूलधारको मिडियासँगको दूरी घटाउन सक्ने उनको सुझाव छ । केही युट्युब च्यानलहरू आफैँ मूलधारसँग प्रतिस्पर्धामा रहेकाले आवश्यक परे त्यहाँबाट पनि सिक्न उनले आग्रह गरेकी छन् । सांसद धितालले आफूहरू गम्भीर र तयारीका साथ आउने प्रश्नहरूको जवाफ दिन सधैँ तयार रहेको समेत स्पष्ट पारेकी छन् ।
मिडियालाई मात्र दोष नदिई सांसद धितालले महिलाहरू आफैँ पनि यस्ता विषयमा सचेत हुनुपर्नेमा जोड दिएकी छन् । अरूले लगाइदिएको सौन्दर्यको लेपनमा मात्र रमाउनुको सट्टा आफ्ना विचार र मुद्दामा अडिग रहन उनले आग्रह गरेकी छन् ।
मिडिया सूचना दिने माध्यम मात्र नभई समाजको चेतना निर्माण गर्ने शक्ति समेत भएको उल्लेख गर्दै उनले यसलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउनु सबैको अपरिहार्य दायित्व भएको बताएकी छिन् ।
पछिल्लो अध्यावधिक: बैशाख ६, २०८३ ११:४८
