एआईले कोडिङ सहज बनाउँदा नयाँ एपको बाढी, देखियो ८० प्रतिशतसम्मको भारी वृद्धि
बैशाख ६, २०८३ १८:२७
काठमाडौँ । धेरैले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उदयले मोबाइल एपहरूको युग समाप्त गर्ने भविष्यवाणी गरेका थिए । तर सन् २०२६ को सुरुवातसँगै यसको ठीक उल्टो नतिजा देखिएको छ ।
मार्केट इन्टेलिजेन्स प्रदायक एपफिगर्स (Appfigures) को पछिल्लो विश्लेषणले देखाए अनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा विश्वभर एप रिलिज हुने दर गत वर्षको तुलनामा ६० प्रतिशतले बढेको छ । एप्पलको एप स्टोर र गुगल प्ले स्टोर दुवैमा यो वृद्धि देखिएको हो ।
विशेष गरी एप्पलको आईओएस एप स्टोरमा मात्रै ८० प्रतिशतको उछाल आएको छ । अप्रिल २०२६ को अहिलेसम्मको तथ्याङ्क हेर्दा यो वृद्धि अझै तीव्र छ । दुवै स्टोरमा १०४ प्रतिशत र आईओएसमा ८९ प्रतिशतले नयाँ एपहरूको सङ्ख्या बढेको छ।
एप्पलका मार्केटिङ सिनियर भाइस प्रेसिडेन्ट ग्रेग जोज जोस्वियाकले हालैको एक अन्तर्वार्तामा ठट्टा गर्दै भनेका थिए, "एआई युगमा एप स्टोरको मृत्यु हुने हल्लाहरू निकै बढाइचढाइ गरिएका थिए ।" यो टिप्पणी त्यति बेला आएको हो, जब उद्योगका केही व्यक्तिहरू, जस्तै नथिङका सीईओ कार्ल पेइ एआई स्मार्टफोन बनाउनमा केन्द्रित छन् । उनी भविष्यमा एपहरूको आवश्यकता नपर्ने तर्क गरिरहेका छन् । न्युयोर्क टाइम्सले पनि गत वर्ष स्मार्ट ग्लास, एम्बियन्ट कम्प्युटिङ उपकरण र एआई विशेषता भएका स्मार्टवाचहरूले स्मार्टफोनलाई ओझेलमा पार्न सक्ने सम्भावनाबारे रिपोर्ट गरेको थियो ।
एआईले बनायो एप निर्माण गर्न सहज
एआईले गर्दा अब जोसुकैले पनि सजिलै एपहरू बनाउन सक्ने भएका छन्, जसले एप स्टोरको पुनर्जन्म गराएको छ । क्लाउड कोड वा रेप्लिट जस्ता एआई-सञ्चालित टुलहरूको मद्दतले प्राविधिक सीप र कोडिङ ज्ञान नभएका व्यक्तिहरूले पनि 'भाइब कोडिङ' मार्फत छिट्टै मोबाइल सफ्टवेयर तयार गर्न थालेका छन् ।
एपफिगर्सको तथ्याङ्क अनुसार सन् २०२६ मा एपका श्रेणीहरूमा पनि परिवर्तन देखिएको छ । मोबाइल गेमहरू अझै पहिलो स्थानमा भए तापनि युटिलिटी श्रेणी दोस्रो स्थानमा उक्लिएको छ । लाइफस्टाइ एपहरू गत वर्षको पाँचौँ स्थानबाट तेस्रो स्थानमा आएका छन् भने प्रोडक्टिभिटी र हेल्थ एण्ड फिटनेस एपहरूले पनि उत्कृष्ट पाँचमा ठाउँ बनाएका छन् ।
चुनौती र सुरक्षा जोखिम
नयाँ एपहरूको यो ठुलो सङ्ख्या एप्पलका लागि टाउको दुखाइ पनि बनेको छ । रिभ्युका लागि अत्यधिक एपहरू आउँदा केही गल्तीहरू भएका छन् । उदाहरणका लागि एप्पलले फ्रिक्याश नामक रिवार्ड्स एपलाई नियम उल्लङ्घनको कारण हटायो । जुन महिनौँसम्म टप चार्टमा बसेको थियो । झन् गम्भीर कुरा त, लेजर्स लाइभको नक्कल गरी बनाइएको एउटा नक्कली क्रिप्टो एपले पीडितहरूको खाताबाट ९५ लाख डलर चोर्न सफल भयो ।
एप स्टोरमा ठगी गर्ने र नक्कली एपहरूलाई निगरानी गर्न एउटा विशेष टोली (Bunco Squad) को आवश्यकता रहेकोमा एप्पल विज्ञ जोन ग्रुबरले जोड दिएका छन् । एआईको सहयोगमा एप बनाउने प्रक्रिया सहज हुँदा बजारमा नराम्रा नियत भएका एपहरूको बाढी आउन सक्ने चेतावनी पनि दिइएको छ ।
यद्यपि एप्पलले शङ्कास्पद एपहरू रोक्ने कामलाई निरन्तरता दिएको छ । सन् २०२४ को विश्लेषण अनुसार एप्पलले १७,००० भन्दा बढी 'बेट-एण्ड-स्विच' एपहरू हटाएको थियो भने ३ लाख २० हजारभन्दा बढी स्पाम वा नक्कल गरिएका एपहरूलाई अस्वीकार गरेको थियो ।
पछिल्लो अध्यावधिक: बैशाख ६, २०८३ १८:३४
