close

के साँच्चिकै डुब्दैछ शार्कट्याङ्क इन्डियाका चर्चित शार्क अमन गुप्ताको चर्चित कम्पनी बोट ?

टेकपाना टेकपाना

बैशाख ९, २०८३ ११:२५

के साँच्चिकै डुब्दैछ शार्कट्याङ्क इन्डियाका चर्चित शार्क अमन गुप्ताको चर्चित कम्पनी बोट ?

काठमाडौँ । भारतीय स्टार्टअप इकोसिस्टममा केही समयअघिसम्म बोट (boAt) लाई सबैभन्दा ठुलो सफलताको कथा मानिन्थ्यो । ३,००० करोड भारुभन्दा बढीको वार्षिक बिक्री, १.३२ अर्ब डलरको मूल्याङ्कन र शार्क ट्याङ्क इन्डिया मार्फत घर-घरमा चिनिएका अमन गुप्ताको लोकप्रियताले यो कम्पनीलाई एक गर्बिलो उचाइमा पुर्‍याएको थियो । 

तर, पछिल्लो समय कम्पनीका संस्थापकहरूले आईपीओ आउनु ठिक २९ दिन अगाडि आफ्नो पदबाट दिएको राजीनामा र कम्पनीले सामना गरिरहेका वित्तीय तथा प्राविधिक चुनौतीहरूले बोटको भविष्यमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ । आज हामी बोटको उदय, सङ्कट र वर्तमान अवस्थाको विषयमा चर्चा गर्दैछौँ । 

एउटा 'नटुट्ने' केबलबाट सुरु भएको यात्रा

बोटको कथा सन् २०१६ बाट सुरु हुन्छ । अमन गुप्ता र समीर मेहताले करिब ३० लाख भारुको व्यक्तिगत लगानीबाट 'इमेजिन मार्केटिङ प्राइभेट लिमिटेड' नामक कम्पनी दर्ता गरे । अमन गुप्ता चार्टर्ड एकाउन्टेन्ट हुनुका साथै प्रतिष्ठित इन्स्टिच्युटहरूबाट एमबीए गरेका थिए । उनले जेबीएलको प्यारेन्ट कम्पनी हारमन इन्टरनेसनलमा काम गर्दा भारतीय अडियो बजारलाई नजिकबाट बुझ्ने मौका पाएका थिए । उनले के देखे भने भारतमा गुणस्तरीय अडियो उत्पादनहरू कि त धेरै महँगा थिए (जस्तै सोनी, बोस, जेबीएल), कि त सस्तो भए पनि गुणस्तरमा निकै कमजोर थिए । मध्यम मूल्यमा राम्रो गुणस्तर दिने कुनै पनि ब्रान्ड बजारमा थिएन ।

बोटले आफ्नो पहिलो उत्पादनको रूपमा इयरफोन वा स्पिकर नभई एप्पलको चार्जिङ केबल रोज्यो । त्यो समयमा एप्पलका ओरिजिनल केबलहरू चाँडै टुट्ने समस्याबाट आईफोन प्रयोगकर्ताहरू हैरान थिए । बोटले १०,००० पटकसम्म मोड्दा पनि नटुट्ने 'ब्रेडेड' केबल ल्यायो र त्यसलाई अमेजनमार्फत आक्रामक रूपमा बेच्यो । एउटा टुटेको एप्पल केबलको तस्विर राखेर फेसबुकमा गरिएको विज्ञापनले धेरैको ध्यान खिच्यो र यो उत्पादन अमेजनको बेस्ट-सेलर बन्यो । यसरी बोटले भारतीय उपभोक्ताको समस्या समाधान गरेर बजारमा आफ्नो पहिलो पाइला टेक्यो ।

जियोको लहरसँगै लाइफस्टाइल ब्रान्डको उदय

सन् २०१६ मै रिलायन्स जियोको आगमनले भारतीय डिजिटल बजारमा क्रान्ति ल्यायो । सस्तो डेटाका कारण करोडौँ मानिसहरूले पहिलो पटक स्मार्टफोन चलाउन थाले । स्मार्टफोनको प्रयोग बढेसँगै इयरफोन र हेडफोनको माग पनि ह्वात्तै बढ्यो । बोट ठ्याक्कै सही समयमा सही ठाउँमा थियो । उनीहरूले भारतीय उपभोक्तालाई 'बेस' मनपर्छ भन्ने कुरा बुझेका थिए । त्यसैले आफ्ना उत्पादनहरूलाई पन्ची साउन्डमा ट्युन गरे र मूल्य ३५० देखि ५५० भारुको बीचमा राखे ।

बोटले आफूलाई केवल एउटा इलेक्ट्रोनिक्स ब्रान्ड मात्र नभई 'लाइफस्टाइल ब्रान्ड' को रूपमा स्थापित गर्‍यो । उनीहरूले हार्दिक पाण्ड्या, केएल राहुल र ज्याकलिन फर्नान्डिस जस्ता युवा सेलिब्रेटीहरूलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाए । उनीहरूले आफ्ना ग्राहकलाई 'बोटहेड्स' नामक कम्युनिटीमा आबद्ध गराए । सन् २०१९ को ल्याक्मे फेसन विकमा मोडेलहरूले र्‍याम्पमा बोटका उत्पादनहरू लगाएर हिँड्नु एउटा ठुलो फड्को थियो । जसले बोटलाई प्रिमियम र ट्रेन्डी ब्रान्डको रूपमा उभ्यायो । २०२० को महामारीले यो वृद्धिलाई अझै तीव्रता दियो । वर्क फ्रम होम र अनलाइन कक्षाका कारण अडियो उत्पादनको माग २० प्रतिशतले बढ्यो र बोट विश्वकै पाँचौँ ठुलो वेयरेबल ब्रान्ड बन्न सफल भयो ।

'मेड इन इन्डिया' को भ्रम, गुणस्तरमा समस्या

बोटको सफलताको चमक बाहिरबाट जति राम्रो देखिन्थ्यो, भित्रभित्रै केही गम्भीर समस्याहरू पनि विकसित भइरहेका थिए । कम्पनीले 'ह्वाइट लेबलिङ' मोडेल अपनाएको थियो । जहाँ उत्पादनहरू चीनका कारखानाहरूमा डिजाइन तथा निर्माण गरिन्थ्यो र भारतमा बोटको लोगो लगाएर बेचिन्थ्यो । जबसम्म प्रतिस्पर्धा कम थियो, यो मोडेल राम्रै चल्यो । तर बिस्तारै ग्राहकहरूले गुणस्तरमा गुनासो गर्न थाले । धेरैजसो इयरबड्सहरू ३-४ महिनामै बिग्रने, चार्ज नहुने र साउन्ड क्वालिटीमा स्थिरता नहुने समस्याहरू देखिन थाले । रेमिट र ट्वीटर जस्ता प्लेटफर्ममा बोटको 'कस्टमर सर्भिस' का बारेमा गुनासोको बाढी नै आयो ।

अर्को ठुलो विवाद 'मेड इन इन्डिया' को नारामा थियो । बोटले आफूलाई आत्मनिर्भर भारतको अभियानसँग जोडेर प्रचार गरे पनि वास्तविकता अर्कै थियो । बोटले डिक्सन टेक्नोलोजीसँग मिलेर 'क्यालिफोनिक्स' नामक जोइन्ट भेन्चर सुरु गरेको थियो । तर तथ्याङ्कले के देखायो भने क्यालिफोनिक्सले प्रयोग गर्ने कच्चा पदार्थको ९० देखि ९५ प्रतिशत हिस्सा चीन र ताइवानबाट आयात हुन्थ्यो । यसले गर्दा बोटका उत्पादनहरू 'मेड इन इन्डिया' भन्दा पनि 'एसेम्बल इन इन्डिया' मात्र भएको आरोप लाग्यो । जसले ब्रान्डको विश्वसनीयतामा धक्का पुर्‍यायो ।

डेटा लिक र स्मार्टवाच बजारमा गिरावट

अप्रिल २०२४ मा बोटले एउटा ठुलो सुरक्षा सङ्कटको सामना गर्नुपर्‍यो । ७५ लाखभन्दा बढी ग्राहकहरूको व्यक्तिगत विवरण (जसमा नाम, फोन नम्बर, ईमेल र घरको ठेगाना समावेश थियो) डार्क वेबमा लिक भयो । अझ अचम्मको कुरा त के थियो भने, यति धेरै मानिसको महत्त्वपूर्ण डेटा मात्र २१६ भारुमा बिक्रीका लागि राखिएको थियो । यसले भारतीय स्टार्टअपहरूले डेटा सुरक्षालाई कति बेवास्ता गर्छन् भन्ने बहस पनि सुरु गरायो ।

व्यावसायिक रूपमा बोटले स्मार्टवाच क्षेत्रमा पनि ठुलो हार बेहोर्नु परेको छ । २०२० मा स्मार्टवाचमा प्रवेश गर्दा बोट शीर्ष तीन ब्रान्डमा थियो । तर, नोइजले आफ्नै अपरेटिङ सिस्टम विकास गर्दा र फायर-बोल्टले मूल्य र फिचरमा आक्रामकता देखाउँदा बोटले प्रतिस्पर्धा गर्न सकेन । बोटका स्मार्टवाचहरूमा खासै नयाँ फिचर वा सेन्सर प्रविधि थिएन । केवल नयाँ रङ र डिजाइनमा मात्र केन्द्रित थियो । यसको नतिजा स्वरूप बोटको स्मार्टवाच बजार हिस्सा १८.८ प्रतिशतबाट घटेर १४.१ प्रतिशतमा झर्‍यो । स्मार्टवाचबाट हुने आम्दानी भारु ९१० करोडबाट घटेर मात्र ३३० करोड मा सीमित भयो । यद्यपि प्रिमियम स्मार्टवाच बजार (जहाँ एप्पल र सामसङ छन्) बढिरहेको बेला बोटले सस्तो सेगमेन्टमा मात्र ध्यान दिँदा यो नोक्सान ब्यहोर्नु परेको थियो ।

आईपीओको अनिश्चितता

बोटको वित्तीय तथ्याङ्कले पनि कम्पनी सङ्कटमा रहेको सङ्केत गर्दछ । आर्थिक वर्ष २०२२ सम्म नाफामा रहेको कम्पनी २०२३ मा १२९.५ करोड र २०२४ मा ८० करोड भारु घाटामा गयो । २०२५ मा कम्पनीले ६० करोडको नाफा देखाए पनि यो बिक्री बढेर आएको नाफा थिएन । वास्तवमा कम्पनीको बिक्री अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले घटेको थियो । नाफा त केवल विज्ञापन, गोदाम व्यवस्थापन र अन्य खर्चहरू कटौती गरेर मात्र देखाइएको थियो ।

कम्पनीले २०२५ मा १५०० करोड भारु उठाउने लक्ष्यका साथ आईपीओको तयारी थालेको थियो । तर आईपीओका लागि बुझाइएको महत्त्वपूर्ण कागजात 'डीआरएचपी' दर्ता गर्नु भन्दा २९ दिन अगाडि अमन गुप्ता र समीर मेहताले राजीनामा दिए । उनीहरूले यसलाई 'कम्पनीको व्यावसायिक व्यवस्थापन' (Professionalization) भने पनि बजारले यसलाई जिम्मेवारीबाट पन्छिन खोजेको रूपमा लियो । अमन गुप्ताको वार्षिक तलब २.५ करोड भारु थियो, जुन राजीनामा पछि शून्य भयो ।

अडिटरहरूले पनि बोटको हिसाब-किताबमा गम्भीर त्रुटिहरू फेला पारेका छन् । बोटले बैङ्कमा बुझाएको विवरण र कम्पनीको आन्तरिक खाताको विवरण तीन वर्षसम्म नमिलेको तथ्य सार्वजनिक भएको छ । साथै कम्पनीमा कर्मचारीहरूले जागिर छोड्ने दर ३४ प्रतिशत पुगेको छ, जसको अर्थ प्रत्येक तीन मध्ये एक कर्मचारीले हरेक वर्ष कम्पनी छोडिरहेका छन् । यी सबै कारणले गर्दा जनवरी २०२६ मा बोटले दोस्रो पटक आफ्नो आईपीओ स्थगित गर्नुपर्‍यो र अप्रिल २०२६ सम्म पनि आईपीओको कुनै निश्चित मिति छैन ।

अमन गुप्ताको व्यक्तिगत लगानी 

बोट कम्पनीमा समस्या देखिए पनि अमन गुप्ताले आफ्नो व्यक्तिगत पोर्टफोलियो भने निकै बलियो बनाएका छन् । उनले 'शार्क ट्याङ्क इन्डिया' मार्फत १४१ भन्दा बढी स्टार्टअपहरूमा लगानी गरेका छन् । उनले 'लेट्स ट्राई' नामक कम्पनीमा गरेको सानो लगानी आज १४० करोडभन्दा बढी मूल्यको भइसकेको छ ।

हालै अमन गुप्ताले 'अफबिट' नामक नयाँ स्टार्टअपका लागि १०० करोड भारुको फन्डिङ पनि जुटाएका छन् । यो कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र कन्टेन्टको क्षेत्रमा काम गर्ने बताइएको छ । यसबाट के देखिन्छ भने अमन गुप्ता अब आफ्नो ध्यान र लगानीलाई बोटभन्दा बाहिर पनि विस्तार गरिरहेका छन् ।

अब के होला ?

बोट अझै पनि पूर्ण रूपमा डुबिसकेको ब्रान्ड भने होइन । यो अझै पनि भारतको सबैभन्दा ठुलो अडियो ब्रान्डहरू मध्ये एक हो र यसको बजार हिस्सा उल्लेख्य छ । तर कम्पनीले आफ्ना पुराना गल्तीहरूबाट सिक्नुपर्ने आवश्यकता छ । केवल विज्ञापन र सेलिब्रेटीको भरमा मात्र लामो समयसम्म बजारमा टिक्न सकिँदैन भन्ने पाठ बोटले सिकिरहेको छ ।

बोटले अब प्रिमियम सेगमेन्टमा ध्यान दिने र आफ्नै प्रविधि विकास गर्ने योजना बनाएको छ । तर त्यो बजारमा पहिलेदेखि नै एप्पल, सोनी र सामसङ जस्ता दिग्गजहरूको वर्चस्व छ । जसको विश्वसनीयता दशकौँदेखि स्थापित छ । यदि बोटले उत्पादनको गुणस्तर सुधार्न, आफ्नै अनुसन्धान र विकासमा लगानी गर्न र उपभोक्ताको विश्वास पुनः जित्न सकेन भने बोट छिटो उचाइमा पुगेर छिट्टै हराउने ब्रान्डको रूपमा इतिहासमा सीमित हुन सक्छ । यसले सबै स्टार्टअपहरूलाई एउटा स्पष्ट सन्देश दिएको छ - बजारमा टिक्नका लागि मार्केटिङ मात्र पर्याप्त छैन, उत्पादनको वास्तविक मूल्य र गुणस्तर नै अन्तिम सत्य हो ।

-भारतीय सञ्चार माध्यमहरूको सहयोगमा ।

 

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ ११:२९