अमेरिकी आईटी कम्पनीहरू नेपालमा लगानी गर्न इच्छुक छन्, सरकारले सहज वातावरण बनाओस्- कार्यवाहक राजदूत
बैशाख १२, २०८३ १९:३१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबिच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबिचको द्विपक्षीय सहकार्य सुदृढ बनाउने तथा नेपालको सूचना प्रविधि क्षेत्रको रूपान्तरण गर्ने सम्बन्धमा छलफल भएको हो ।
भेटका क्रममा कार्यवाहक राजदूत अर्बमले नेपालमा अमेरिकाले सहयोग गर्न सक्ने व्यावसायिक क्षेत्रहरूको पहिचान गर्नुपर्नेमा जोड दिएका थिए । उनले नेपालको सूचना प्रविधि क्षेत्रमा अमेरिकी निजी क्षेत्रका लगानीकर्ताहरूले ठुलो चासो देखाएको बताए ।
नेपालले सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा उपयुक्त नीति तथा सहज लगानी वातावरण बनाउन सके थप व्यावसायिक लगानी भित्रिन सक्ने विचार उनले राखे । साथै, अर्बमले अमेरिकी सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूको कार्यप्रगतिका बारेमा समेत चासो राखेका थिए ।
जवाफमा मन्त्री डा. तिमिल्सिनाले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाले पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिए । उनले नेपाल अहिले राजनीतिक स्थायित्वको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार सुशासन, पारदर्शिता र संस्थागत सुधारका लागि पूर्ण प्रतिबद्ध रहेको बताए ।
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा व्यवसाय गर्ने वातावरण सहज बनाउन र नियमकीय स्पष्टता ल्याउन सरकारले काम गरिरहेको जानकारी समेत मन्त्री तिमिल्सिनाले दिए ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ २०:२७
