close

चीनले सुरु गर्‍यो विश्वकै पहिलो प्रि-सिक्सजी परीक्षण नेटवर्क, फाइभजीभन्दा १० गुणा बढी क्षमता

टेकपाना टेकपाना

बैशाख १३, २०८३ ९:३४

चीनले सुरु गर्‍यो विश्वकै पहिलो प्रि-सिक्सजी परीक्षण नेटवर्क, फाइभजीभन्दा १० गुणा बढी क्षमता

काठमाडौँ । चीनले आफ्नो सञ्चार प्रविधिलाई अर्को उचाइमा पुर्‍याउँदै विश्वकै पहिलो 'प्रि-सिक्सजी' (Pre-6G) परीक्षण नेटवर्क सञ्चालनमा ल्याएको छ । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा हालै यो नेटवर्क आधिकारिक रूपमा सुरु गरिएको हो ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजका अनुसार यो परीक्षणले सिक्सजी प्रविधिलाई वास्तविक जीवन र व्यावसायिक प्रयोगको अझ नजिक पुर्‍याएको छ । यो नेटवर्कले हाल प्रचलनमा रहेको फाइभजी पूर्वाधारमै सिक्सजीका अत्याधुनिक सुविधाहरूलाई एकीकृत गरेको छ ।

यो नयाँ नेटवर्कको क्षमता हालको फाइभजीको तुलनामा १० गुणा बढी रहेको बताइएको छ । यसमा उच्च ब्यान्डविथ, लामो दूरीको कभरेज, न्यूनतम ढिलाइ (लो लेटेन्सी) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहज एकीकरण जस्ता विशेषताहरू छन् । यसले सञ्चार क्षेत्रमा प्रणालीगत प्रमाणीकरणको नयाँ चरण सुरु गरेको छ, जसले भविष्यमा सिक्सजीको विश्वव्यापी मापदण्डका लागि बलियो आधार खडा गर्नेछ ।

हाल यो नेटवर्कले विशेष गरी चारवटा प्रमुख क्षेत्रमा परीक्षण गरिरहेको छ । जसमा लो-अल्टिच्युड इन्सपेक्सन, इन्डस्ट्रियल म्यानुफ्याक्चरिङ, रोबोटिक्स र एम्बडेड इन्टेलिजेन्स, होलोग्राफिक कम्युनिकेसन रहेका छन् ।

वरिष्ठ बजार विश्लेषक मा जिहुआका अनुसार प्रि-सिक्सजीको सुरुवातले फाइभजीको एड्भान्स संस्करण 'फाइभजी-ए' (5G-Advanced) लाई थप बलियो बनाउनेछ । यो परीक्षण चीनको १५ औँ पञ्चवर्षीय योजना (२०२६-२०३०) का लक्ष्यहरू पुरा गर्न सहयोगी हुने बताइएको छ । जसले एयरोस्पेस, नयाँ ऊर्जा र नयाँ सामग्री जस्ता क्षेत्रको बढ्दो मागलाई सम्बोधन गर्नेछ ।

चीनले यसअघि नै विश्वकै ठुलो फाइभजी नेटवर्क स्थापना गरिसकेको छ । मार्च २०२६ को अन्त्यसम्ममा चीनमा फाइभजी बेस स्टेसनको सङ्ख्या ४९ लाख ५८ हजार पुगेको छ भने ३३० सहरमा एड्भान्स फाइभजी-ए सेवा उपलब्ध छ । यही मजबुत आधारले चीनलाई सिक्सजी प्रविधिमा विश्वकै अग्रणी (First-mover) बन्ने अवसर प्रदान गरेको छ । सरकारले आगामी पाँच वर्षमा एआई र रोबोटिक्स जस्ता प्रविधिमार्फत अर्थतन्त्रलाई बलियो बनाउन सिक्सजी अनुसन्धान र इकोसिस्टम निर्माणमा थप लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८३ ९:३४