close

फोटो भाइरल भएपछि रास्वपाका अर्का सांसद विवादमा, भन्छन्ः छाता ओढाएको थाहै पाइनँ, माफी चाहन्छु

टेकपाना टेकपाना

बैशाख १३, २०८३ ११:११

फोटो भाइरल भएपछि रास्वपाका अर्का सांसद विवादमा, भन्छन्ः छाता ओढाएको थाहै पाइनँ, माफी चाहन्छु

काठमाडौँ । शनिबार बारपाक सुलिकोट गाउँपालिकामा आयोजित एक सार्वजनिक कार्यक्रममा आफूलाई अर्का व्यक्तिले छाता ओढाइदिएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि सांसद कविन्द्र बुर्लाकोटीले स्पष्टीकरण दिँदै माफी मागेका छन् । गोरखा क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुर्लाकोटीले यस घटनालाई 'असावधानी' भन्दै आम जनसमुदायसँग क्षमायाचना गरेका हुन् ।

बारपाक सुलिकोट गाउँपालिकामा आयोजित ११ औँ भूकम्प स्मृति दिवस कार्यक्रममा सांसद बुर्लाकोटीलाई पछाडि बसेका एक व्यक्तिले छाता ओढाइरहेको दृश्य सार्वजनिक भएको थियो । तर उक्त दृश्यमा पानी परेको वा सामान्य अवस्था भन्ने कुरा स्पष्ट देखिन्नथ्यो ।

सामाजिक सञ्जालमा जितबहादुर नेपालीले पोस्ट गरेको ३ मिनेट ५ सेकेन्ड लामो भिडिओमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले भाषण गरिरहँदा बुर्लाकोटीलाई पछाडिबाट छाता ओढाइएको देखिन्छ । सुरुमा उनी ध्यानपूर्वक भाषण सुनिरहेका देखिन्छन् भने केही समयपछि मात्र आफूलाई छाता ओढाइएको चाल पाएर ती व्यक्तिसँग कुरा गरेको देखिन्छ । पछि पानी पर्ने क्रम बढेपछि मन्चमा आसन अन्य अतिथिहरू समेत उभिन्छन् र वरपर रहेका मानिसहरूले छाता ल्याएर ओढाउँछन् ।

आफ्नो फेसबुक पोस्टमार्फत स्पष्टीकरण दिँदै सांसद बुर्लाकोटीले आफू कार्यक्रममा ध्यानमग्न भएर पालिका अध्यक्षको कुरा सुनिरहेको हुँदा सुरुमा छाता ओढाएको थाहा नपाएको उल्लेख गरेका छन् । उनले भनेका छन्, "करिब १ मिनेट जति छाता ओढाएको देखिने फोटो, भिडिओ मैले थाहा नपाइकन भएको घटनाको हो ।" पछि छाताको बलेनीले आफ्नो शरीर भिज्न थालेपछि र पछाडिका व्यक्तिले पानी छेक्न खोजेको देखेको र आफूले उनलाई अगाडि बोलाएर सँगै छाता ओढेको उनले बताएका छन् ।

यो दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सांसद बुर्लाकोटीको कडा आलोचना सुरु भएको छ । प्रयोगकर्ताहरूले यसलाई 'राजसी रवाफ' र 'नयाँ राजाको अवतार' भन्दै टिप्पणी गरेका छन् । 'जनताका छोरालाई छाता ओढाउन लगाएर माननीय मञ्चमा मख्ख' भएको भन्दै कतिपयले रास्वपाका सांसदहरूको आचरणमाथि समेत प्रश्न उठाएका छन् । एक प्रयोगकर्ताले त यो दृश्यले 'बहुत बिझाएको' भन्दै घामपानी बेहोरेर आएका सांसदलाई छाता ओढाउनुपर्ने परिस्थिति कसरी आयो भनी प्रश्न गरेका छन् ।

पछिल्लो समय रास्वपाका सांसदहरू आफ्नो व्यवहारका कारण विवादमा तानिने क्रम बढेको छ । केही दिनअघि मात्रै सोही पार्टीका अर्का सांसद विश्वराज पोखरेलले ओखलढुङ्गामा एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडिओ भाइरल भएपछि माफी मागेका थिए । सार्वजनिक जीवनमा रहँदा बोली र व्यवहार मर्यादित हुनुपर्ने भन्दै रास्वपाका जनप्रतिनिधिहरूको आलोचना भइरहेको सन्दर्भमा बुर्लाकोटीको यो 'छाता प्रकरण' सार्वजनिक भएको हो ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८३ ११:११