close

सिटीपेको प्राविधिक सहकार्यमा अमेरिकी फ्रेन्चाइज वर्ल्ड अफ डान्स नेपालको दोस्रो सिजन सुरु हुँदै

टेकपाना टेकपाना

बैशाख १३, २०८३ १४:५३

सिटीपेको प्राविधिक सहकार्यमा अमेरिकी फ्रेन्चाइज वर्ल्ड अफ डान्स नेपालको दोस्रो सिजन सुरु हुँदै

काठमाडौँ । विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज 'वर्ल्ड अफ डान्स' को दोस्रो संस्करण 'वर्ल्ड अफ डान्स नेपाल २०२६' को औपचारिक घोषणा गरिएको छ । गत आइतबार काठमाडौँमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत यस प्रतियोगिताको सुरुवात गर्दै जुरी, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो ।

यस पटकको संस्करणमा डिजिटल वालेट सिटीपेले प्राविधिक सहकार्य गरेको छ । सफ्टवेयर डेभलपमेन्टलाई पनि सिर्जनात्मक विधाको रूपमा आत्मसात् गर्दै सिटीपेले यस शोको अन्तर्राष्ट्रिय फर्म्याटसँग मिल्ने गरी डिजिटल व्यवस्थापन र प्रणालीको विकास गरेको छ । अब कुनै पनि ठुला इभेन्ट म्यानेजमेन्ट र डिजिटल व्यवस्थापनका लागि सिटीपे पूर्ण रूपमा तयार रहेको कम्पनीले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने डान्सरहरूले सिटीपे एप डाउनलोड गरी केवाईसी भेरिफिकेसन गरेर Events सेक्सनमा गई आफ्नो पायक पर्ने स्थानका लागि आवेदन दर्ता गर्न सक्नेछन् । साथै दर्शकहरूले पनि ग्राण्ड फिनालेको टिकट सिटीपेमार्फत नै बुक गर्न पाउने व्यवस्था मिलाइएको छ ।

यस सिजनको मुख्य आकर्षणको रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसलाई 'सेलिब्रेटी ग्रान्ड जज' को रूपमा घोषणा गरिएको छ । 'डान्स इन्डिया डान्स' र 'इन्डियाज बेस्ट डान्सर' जस्ता ठुला शोका अनुभवी निर्णायक लुइसको उपस्थिति नेपाली प्रतिभाहरूका लागि विशेष हुने आयोजकको विश्वास छ । उनीसँगै निर्णायक मण्डलमा वाइल्ड रिपर्ज क्रुका किरण थापा र जेडी तमु रहनेछन् ।

प्रतियोगितालाई चार वटा डिभिजनमा विभाजन गरिएको छ । जसमा अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन रहेका छन् ।

प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट सुनको जलप लगाइएको (Real Gold Plated) ट्रफी र विभिन्न उपहारहरू प्राप्त गर्नेछन् । साथै विजेताले विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाउनेछन् ।

नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुनेछ । जसअनुसार १९ वैशाखमा नेपालगन्ज, २२ वैशाखमा बुटवल, २६ वैशाखमा पोखरा, ३० वैशाखमा काठमाडौँ र २ जेठमा इटहरीमा आयोजना हुनेछ ।

अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको सेमिफाइनल २१ जेठमा र भव्य ग्राण्ड फिनाले २३ जेठमा सम्पन्न हुनेछ । यो सिजनको फाइनल इभेन्ट 'प्याराडाइम टिभी' मार्फत युट्युबमा समेत प्रसारण गरिनेछ ।

सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको 'वर्ल्ड अफ डान्स' अहिले ५० भन्दा बढी देशमा फैलिसकेको छ । नेपाली डान्सरहरूलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमको घोषणा समारोहमा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्कर, अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, नृत्याङ्गना कविता नेपाली र भ्लगर सिसन बानियाँ लगायतको उपस्थिति थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८३ १५:४३