close

अब च्याटजीपीटीभित्र बाटै याङ्गो एप चलाउन सकिने, यसरी बनाउनेछ राइड बुकिङलाई स्मार्ट

टेकपाना टेकपाना

बैशाख १३, २०८३ १६:२७

अब च्याटजीपीटीभित्र बाटै याङ्गो एप चलाउन सकिने, यसरी बनाउनेछ राइड बुकिङलाई स्मार्ट

काठमाडौँ । प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म च्याटजीपीटी भित्रै आफ्नो आधिकारिक एप सार्वजनिक गरेको छ । यो नयाँ एकीकरणसँगै अब प्रयोगकर्ताहरूले च्याटजीपीटीसँगको कुराकानीकै क्रममा आफ्नो यात्राको रुट योजना बनाउन र राइड बुकिङ प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

यो सेवा नेपालसहित २५ भन्दा बढी देशहरूमा विस्तार गरिएको छ । यसले प्रयोगकर्ताहरूलाई एउटा एपबाट अर्कोमा स्विच नगरीकन सहजै यात्राको योजना बनाउन मद्दत गर्नेछ ।

च्याटजीपीटी भित्रको याङ्गो एपमा प्रयोगकर्ताले आफूले रोजेको रुटको स्पष्ट मूल्य हेर्न सक्नेछन् । यसमा कुनै पनि नखुलाइएका शुल्कहरू हुने छैनन् ।

विभिन्न वैकल्पिक रुटहरूमा लाग्ने समयको तुलना पनि यसमा गर्न सकिनेछ । जसले गर्दा प्रयोगकर्ताले आफ्नो अनुकूल रुट छान्न सक्नेछन् ।

त्यस्तै यात्रा पुरा हुन लाग्ने समय र सवारी साधन आइपुग्ने समयको वास्तविक जानकारी प्राप्त गर्न सकिनेछ । प्रतीक्षा समय घटाउनका लागि प्रणालीले सबैभन्दा उपयुक्त पिकअप स्थानहरू पहिचान गर्न सहयोग गर्नेछ ।

च्याटजीपीटीभित्र रुट र भाडाको विवरण तय भइसकेपछि अन्तिम बुकिङका लागि प्रयोगकर्तालाई याङ्गो एप वा यसको वेब संस्करणमा लगिनेछ । त्यहाँबाट प्रयोगकर्ताले सुरक्षित रूपमा आफ्नो बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन् । यो सुविधा च्याटजीपीटीको वेब इन्टरफेसका साथै एन्ड्रोइड र आईओएस मोबाइल एपहरूमा पनि उपलब्ध छ ।

याङ्गो राइडका अनुसार यो प्रणाली रियल टाइम (तत्काल) को ट्राफिक डेटा र स्मार्ट रुटिङ प्रविधिमा आधारित छ । यसले सडकको अवस्था र ट्राफिक चाप अनुसार यात्राको समय र लागतलाई निरन्तर अद्यावधिक गरिरहन्छ । यो सुविधा विशेष गरी बारम्बार यात्रा गर्ने व्यक्तिहरू, पर्यटकहरू र व्यावसायिक क्षेत्रका प्रयोगकर्ताहरूका लागि उपयोगी हुने विश्वास गरिएको छ ।

याङ्गो ग्रुपले च्याटजीपीटीसँगको यस सहकार्यलाई अझै विस्तार गर्ने लक्ष्य राखेको छ । कम्पनीले आगामी दिनमा राइड–हेलिङका साथै डेलिभरी सेवा, सार्वजनिक यातायातका विकल्पहरू र फुड डेलिभरी जस्ता सुविधाहरू पनि यसै प्लेटफर्ममार्फत उपलब्ध गराउने योजना बनाएको छ ।

यो सेवा प्रयोग गर्न तपाईंले सबैभन्दा पहिला च्याटजीपीटीको सेटिङ हुँदै एप्स अन्तर्गत याङ्गो एप खोजेर कनेक्ट गराउनु पर्ने हुन्छ । त्यसपछि च्याटजीपीटीको नियमित च्याट सेक्सनमा @yango टाइप गरी यो सेवा प्रयोग गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८३ १६:२७