काठमाडौँ । सामसङले आफ्नो आगामी एन्ड्रोइड एक्सआर (Android XR) मा आधारित स्मार्ट चस्माको तयारीलाई तीव्र बनाएको छ । हालैका केही रिपोर्ट र गल्तीले बाहिरिएका जानकारीहरूले यो नयाँ उपकरणको बारेमा रोचक तथ्यहरू खुलासा गरेका छन् ।
सामसङको एक सिस्टम एप नियरबाइ डिभाइस स्क्यानिङको पछिल्लो अपडेट (संस्करण ११.१.२३.४) मा यस उपकरणलाई मात्र 'Glasses' भनेर उल्लेख गरिएको छ । यदि यही नाम कायम रह्यो भने सामसङले लामो समयपछि आफ्ना उत्पादनका लागि यति छोटो र सरल नाम प्रयोग गर्नेछ । यसका साथै यी चस्माहरूले सामसङको 'क्विक पेयर' (Quick Pair) सुविधालाई सपोर्ट गर्नेछन् । जसले ग्यालेक्सी फोनहरूसँग ब्लुटुथ ५.३ मार्फत तुरुन्तै कनेक्ट गर्न मद्दत गर्नेछ ।
सामसङले दुई प्रकारका स्मार्ट चस्माहरूमा काम गरिरहेको बताइएको छ । जिन्जु (Jinju) पहिलो मोडेल हुनेछ, जसमा कुनै डिस्प्ले हुने छैन । यसको डिजाइन मेटा रे-बानसँग मिल्दोजुल्दो हुनेछ । त्यस्तै अर्को हयान (Haean) प्रिमियम मोडेल हुनेछ । जसमा लेन्सभित्रै माइक्रो-एलईडी डिस्प्ले राखिनेछ । यो मोडेल सन् २०२७ सम्ममा मात्र बजारमा आउने अपेक्षा गरिएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार डिस्प्ले नभएको मोडेलमा क्वालकम स्न्यापड्रागन एआर-१ प्रोसेसर हुनेछ । त्यस्तै क्यामेराको रूपमा १२ मेगापिक्सेलको सोनी IMX681 सेन्सर, १५५ एमएएच ब्याट्री र ५० ग्राम तौल रने जस्ता जानकारीहरू बाहिर आएका छन् ।
यस बाहेक अडियोको रूपमा डिरेक्सनल स्पिकरहरू र पेटेन्ट अनुसार बोन-कन्डक्सन प्रविधि हुन सक्ने बताइएको छ । यो चस्मामा फोटोक्रोमिक ट्रान्जिसन लेन्स (घाममा कालो हुने) का साथै गुगलको जेमनाई एआई पनि समावेश हुनेछ । जसले सङ्केतहरू अनुवाद गर्न, फोटो खिच्न, मौसमको जानकारी लिन र गुगल म्याप्समार्फत दिशा निर्देश गर्न मद्दत गर्नेछ ।
सामसङले यी चस्माका फ्रेमहरूका लागि प्रख्यात चस्मा निर्माता कम्पनीहरू वार्बी पार्कर (Warby Parker) र जेन्टल मन्स्टर (Gentle Monster) सँग सहकार्य गरेको छ । यो मेटाले रे-बानसँग गरेको सहकार्य जस्तै हो । बजारमा सामसङले मेटा, गुगल, एक्सरियल र भविष्यमा आउन सक्ने एप्पलका स्मार्ट ग्लासेसहरूसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
डिस्प्ले नभएको जिन्जु मोडेलको मूल्य ३७९ डलरदेखि ४९९ डलर (करिब रु. ५५,००० देखि ७४,०००) सम्म पर्ने अनुमान गरिएको छ । त्यस्तै २०२७ मा आउने डिस्प्ले भएको मोडेलको मूल्य ६०० डलरदेखि ९०० डलर (९० हजार रुपैयाँ) सम्म हुन सक्छ ।
सामसङले आगामी जुलाईमा आयोजना गर्ने अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड ८ र फ्लिप ८ को साथमा यी चस्माको पहिलो झलक (Tease) देखाउन सक्ने सम्भावना छ । यद्यपि पूर्ण रूपमा बिक्रीका लागि उपलब्ध हुन भने केही समय लाग्न सक्नेछ ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८३ १२:२७
