close

कम्प्युटर ह्याक गरेर कनेक्ट आईपीएस मार्फत साढे सात लाख रुपैयाँ चोरी, प्रतिवादी सबै फरार

टेकपाना टेकपाना

बैशाख १६, २०८३ १२:५३

कम्प्युटर ह्याक गरेर कनेक्ट आईपीएस मार्फत साढे सात लाख रुपैयाँ चोरी, प्रतिवादी सबै फरार

 

काठमाडौँ । डेस्कटप कम्प्युटर ह्याक गरी बैङ्क खातामा रहेको साढे सात लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा पाँच जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । काठमाडौँका सुजन चित्रकारको जाहेरीको आधारमा साइबर ब्युरोले अनुसन्धान पुरा गरेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ‘विद्युतीय माध्यम सम्बद्ध ठगी कसुर’मा मङ्गलबार उक्त मुद्दा दायर गरेको हो ।

अभियोग पत्र अनुसार पीडित सुजन चित्रकारले आफ्नो कम्प्युटरमा ईमेल लगइन गरेर चलाउने गरेका थिए । त्यही क्रममा एक पटक पासवर्ड परिवर्तन गर्न भन्दै लगातार करिब १०० वटा जति ओटीपी मेसेज आएका थिए । ती मेसेजले काम गर्न बाधा पुर्‍याएपछि उनले पासवर्ड परिवर्तन गरी गुगलमा सेभ गरेका थिए । त्यसको केही समयपछि कम्प्युटरको स्क्रिन अचानक बन्द भई ‘अपडेट हुँदैछ’ भन्ने मेसेज देखिएको थियो । 

यता ह्याकरको समूहले भने उनको डेस्कटप नियन्त्रणमा लिई ‘कनेक्ट आईपीएस’मा पहुँच बनाएर विभिन्न खातामा रकम पठाउन थाले । त्यसका लागि आवश्यक पर्ने ओटीपी उनीहरूले डेस्कटपमै लगइन रहेको ईमेलबाट प्राप्त गरे र क्षणभरमै विभिन्न खातामा साढे सात लाख रुपैयाँ ट्रान्सफर गरे ।

ह्याकरको उक्त समूहले पीडितको लुम्बिनी विकास बैङ्क र लक्ष्मी सनराइज बैङ्कको खातामा अनधिकृत पहुँच पुर्‍याएर कूल सात लाख ५४ हजार रुपैयाँ विभिन्न व्यक्ति र कम्पनीको खातामा रकमान्तर गरेको अनुसन्धानबाट खुलेको छ ।

जसअनुसार सप्तरीको राजविराज नगरपालिका-९ का १९ वर्षीय सन्जिवकुमार शर्माको खातामा पाँच लाख ४९ हजार, बाजुराको जगन्नाथ गाउँपालिका-२ का २२ वर्षीय सरोज बिष्टको खातामा एक लाख र मोरङको बेलवारी नगरपालिका-८ का २२ वर्षीय उज्वल बस्नेतको खातामा ५० हजार रुपैयाँ ट्रान्सफर गरिएको थियो । 

यसैगरी जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का २१ वर्षीय डनिश शाहीले ‘आरएससी इन्टरप्राइजेज’को खाता हुँदै ५० हजार र पर्साको पर्सागढी नगरपालिका-३ की २२ वर्षीया रुपाकुमारी थापाले ‘जय श्री महालक्ष्मी सर्जिकल हाउस’को खाता हुँदै पाँच हजार रुपैयाँ लिएको अभियोग पत्रमा उल्लेख छ । ठगीमा संलग्न यी पाँचै जना अभियुक्त हाल फरार सूचीमा छन् ।

अभियोगपत्रमा पीडित युवकको डेस्कटप कसरी ह्याक भयो र त्यतिबेला उनी के गर्दै थिए भन्ने खुलाइएको छैन । त्यसैगरी फरार सूचीमा रहेका पाँच प्रतिवादीको भूमिकाबारे पनि केही उल्लेख छैन । सबै प्रतिवादी फरार रहेकाले अभियोगपत्रमा उनीहरूको बयान समावेश हुन सकेको छैन ।

सरकारी वकिलको कार्यालयले अभियुक्तले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) विपरीत ठगीको कसुर गरेको भन्दै सोही दफाको उपदफा (३) को खण्ड (ग) बमोजिम कारबाहीको माग गरेको छ । उक्त कानुनअनुसार कसुर ठहर भएमा अभियुक्तलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ ।

साथै, संहिताको दफा २५४ बमोजिम पीडितको गुमेको कूल बिगो रकम सात लाख ५४ हजार रुपैयाँ अभियुक्तबाटै असुल उपर गराउनुपर्ने र अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसूरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्कसमेत जम्मा गराउन अदालत समक्ष मागदाबी लिइएको छ । अदालतमा दायर गरिएको उक्त मुद्दामा फरार रहेका सबै प्रतिवादीको नाममा पक्राउ पुर्जी जारी गरी थप कानुनी कारबाही अघि बढाउन अनुरोध गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८३ १२:५३