अध्यादेशमार्फत दूरसञ्चार प्राधिकरणको बोर्ड खाली गरिँदै, अध्यक्षसहित सबै पदाधिकारी पदमुक्त हुने
बैशाख १९, २०८३ २२:८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ सँगै नेपाल दूरसञ्चार प्राधिकरणको वर्तमान नेतृत्व पनि पदमुक्त हुने भएको छ ।
राष्ट्रपति कार्यालयसम्बद्ध विश्वस्त स्रोतका अनुसार, दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सबै सदस्यहरू पदमुक्त हुने भएका छन् । यो अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै प्राधिकरणको बोर्ड पूर्ण रूपमा खाली हुनेछ ।
अध्यादेश कार्यान्वयनमा आएसँगै प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी तथा सदस्यहरू रबिन्द्र झा, गोकर्णप्रसाद सिटौला, कृष्णप्रसाद पोख्रेल र नवराज अधिकारी स्वत: पदमुक्त हुनेछन् ।
वर्तमान अध्यक्ष भूपेन्द्र भण्डारीलाई तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० फागुन ६ गते पाँच वर्षका लागि अध्यक्ष नियुक्त गरेको थियो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सल्लाहकारका रूपमा कार्यरत भण्डारीलाई मन्त्री शर्माकै विशेष जोडमा नियुक्त गरिएको थियो । भण्डारीले पदभार ग्रहण गरेको दुई वर्षपछि नै यो अध्यादेशका कारण पद छाड्नुपर्ने भएको छ ।
यो अध्यादेशले नेपाल दूरसञ्चार प्राधिकरण मात्र नभई नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण र विभिन्न विश्वविद्यालयका पदाधिकारीसहित कुल ११० ओटा कानुनमा संशोधन गरी १५ सय ३४ सार्वजनिक पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने बाटो खोलेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८३ २२:२७
