close

गुगलसँगको प्रतिस्पर्धमा टिक्न नसकेपछि झन्डै ३० वर्षपछि Ask.com ले बन्द गर्‍यो आफ्नो सेवा

टेकपाना टेकपाना

बैशाख २०, २०८३ ८:५३

गुगलसँगको प्रतिस्पर्धमा टिक्न नसकेपछि झन्डै ३० वर्षपछि Ask.com ले बन्द गर्‍यो आफ्नो सेवा

काठमाडौँ । कुनै समय गुगलको प्रमुख प्रतिस्पर्धी मानिने र डट कम युगको चर्चित सर्च इन्जिन आस्क डट कम (Ask.com) ले आधिकारिक रूपमा आफ्नो सेवा बन्द गरेको छ । सन् १९९६ मा आस्क जिभ्स (Ask Jeeves) को रूपमा सुरु भएको यो प्लेटफर्मले १ मे, २०२६ देखि आफ्नो झन्डै तीन दशक लामो यात्रा अन्त्य गरेको हो ।

आस्क जिभ्सको स्थापना सन् १९९६ मा भएको थियो र यो सन् १९९७ देखि पूर्ण रूपमा सञ्चालनमा आएको थियो । प्राकृतिक भाषामा सोधिएका प्रश्नहरूको कुराकानी शैलीमा उत्तर दिने यसको विशेषताका कारण यो विशेष गरी प्रारम्भिक इन्टरनेट प्रयोगकर्ताहरू (मिलनियल पुस्ता) माझ निकै लोकप्रिय थियो । यसलाई आजका आधुनिक एआई च्याटबटहरूको प्रारम्भिक रूप वा पूर्ववर्ती मान्न सकिन्छ ।

सन् २००५ मा होल्डिङ कम्पनी आईएसीले यसलाई अधिग्रहण गर्‍यो । त्यसको लगत्तै सन् २००६ मा यसको नामबाट जिभ्स शब्द र त्यससँग जोडिएको बटलर (भान्से) को लोगो हटाएर आस्क डटकममा परिवर्तन गरियो । यद्यपि नाम परिवर्तन गरे पनि यसले गुगलको बढ्दो बजार हिस्सासँग प्रतिस्पर्धा गर्न भने सकेन ।

सन् २०१० सम्म आइपुग्दा कम्पनीले आफ्नै सर्च टुलहरू विकास गर्न बन्द गर्‍यो र केवल प्रश्न-उत्तर सेवामा केन्द्रित भयो । सोही वर्ष आईएसीका अध्यक्ष ब्यारी डिलरले एक कार्यक्रममा आस्क डटकमले अब गुगलसँग प्रतिस्पर्धा गर्न नसक्ने स्वीकार गरेका थिए ।

हाल आस्क डट कमको वेबसाइटमा एउटा बिदाइ सन्देश राखिएको छ । जसमा लेखिएको छ: "हरेक महान सर्चको अन्त्य हुन्छ । आईएसीले आफ्नो लक्ष्यलाई थप प्रस्ट र केन्द्रित बनाउँदै लैजाँदा हामीले हाम्रो सर्च व्यवसाय बन्द गर्ने निर्णय गरेका छौँ । विश्वका प्रश्नहरूको जवाफ दिएको २५ वर्षपछि, १ मे, २०२६ मा आस्क डटकम आधिकारिक रूपमा बन्द भएको छ ।"

सन्देशमा कम्पनीले आफ्ना इन्जिनियर, डिजाइनर र दशकौँदेखि विश्वास गर्ने लाखौँ प्रयोगकर्ताहरूलाई धन्यवाद दिँदै उल्लेख गरेको छ, "जिभ्सको आत्मा सधैँ जीवित रहनेछ ।" वेबसाइटको सन्देशले '२५ वर्ष' सेवा दिएको दाबी गरे पनि यसको स्थापना सन् १९९६ मा भएको हिसाबले यसले झन्डै ३० वर्ष पुरा गरिसकेको छ ।

आस्क डटकम बन्द हुनुलाई प्रविधि जगतमा एउटा महत्त्वपूर्ण युगको अन्त्यको रूपमा हेरिएको छ । डटकम युगको यो अवशेष प्लेटफर्म एआईको आधुनिक युगमा आएर विलिन भएको छ ।

विडम्बना के छ भने, आस्क जिभ्सले तीन दशकअघि जुन 'कुराकानी शैली'को अवधारणा ल्याएको थियो, आजका एआई च्याटबटहरूले त्यही बाटो पछ्याइरहेका छन् । गुगलसँगको प्रतिस्पर्धामा पछि परे पनि आस्क डटकमले इन्टरनेटको प्रारम्भिक विकासमा एउटा अमिट छाप भने छोडेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८३ ८:५३