‘नीति निर्माण गर्ने ठाउँमा पुग्दा डिजिटल हिंसाको शिकार झन् धेरै हुनु परेको छ’
बैशाख २१, २०८३ १६:५३
भूमिका श्रेष्ठ
म २७५ जना प्रतिनिधि सभा सदस्यमध्ये लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने एक्लो सांसद हुँ । बाहिरबाट हेर्दा सांसदको कुर्सी र पद आकर्षक देखिएला, तर लैङ्गिक अल्पसङ्ख्यक समुदायको सांसद भइरहँदा आइपर्ने मानसिक सास्ती र डिजिटल हिंसा पनि कम छैन ।
पहिलो कुरा । हाम्रो समाज र परिवारले हामी (लैङ्गिक अल्पसङ्ख्यक समुदाय)लाई हेर्ने दृष्टिकोण पहिलेदेखि नै फरक थियो । बाल्यकालदेखि नै ‘हेट स्पिच’ र मानसिक तनाव भोग्दै आएकाले यी कुरा मेरा लागि नयाँ त होइनन् ।
तर, अहिले एउटा सांसदको रूपमा जिम्मेवारी सम्हालिरहँदा यो तनावको स्वरूप फेरिएको छ । पहिले म एउटा अधिकारकर्मीको रूपमा एनजीओमा काम गर्थेँ, त्यतिबेला अधिकार माग गर्न सजिलो थियो । अहिले अधिकार दिने ठाउँमा पुग्दा जनताका असीमित अपेक्षा छन् । नयाँ भएका कारण सिक्दै गर्नुपर्ने काम धेरै छन् ।
त्यतातिर ध्यान दिन खोज्यो अर्को तिर ट्रोलिङको शिकार हुनु परेको छ । हुन त सामाजिक सञ्जालमा आएका नकारात्मक कमेन्टहरू नहेर्नु भन्छन् । आफ्नो बारेमा कसैले केही नराम्रो भनेको छ भने हेर्न मन लागि हाल्छ । म पनि मान्छे हुँ, मन दुख्छ । अनि त्यसले मानसिक रूपमा असर पुर्याउँछ ।
एक महिना ९ दिन भयो सांसद पदको शपथ लिएको । त्यस दिनदेखि कतै खुल्ला रूपमा हिँड्न सकेको छैन । जहाँ गए पनि केही न केही प्रश्न वा ट्रोलिङको सिकार हुनुपर्छ । केही दिनदेखि ‘अध्यादेश’ को विषयलाई लिएर त्यस्तै ट्रोलिङ भइरहेको छ ।
संसदीय दलको कार्यालयमा पार्टी सभापतिसँगको मिटिङ लम्बिएर हामी तीन चार घण्टादेखि भोकै थियौँ । बाहिर निस्किँदा पत्रकारहरूको भीड थियो । भोक र थकान थियो । बाहिर बसेका पत्रकारहरूले सँधै सन्दर्भभन्दा बाहिरको प्रश्न सोध्ने भएकाले हैरान भएकी म सकेसम्म त्यस्ता प्रश्नबाट बच्न खोज्दै थिएँ ।
त्यहाँ मलाई अध्यादेशको बारेमा प्रश्न गरियो । मलाई अध्यादेशको बारेमा थाहा नभएको त होइन तर मैले ‘मलाई थाहा छैन’ भनेर पन्छ्याएर त्यहाँबाट उम्किन खोजेँ । त्यसपछि त सामाजिक सञ्जालमा “भूमिका श्रेष्ठलाई अध्यादेश नै थाहा रहेनछ” भन्ने न्यारेटिभ बनाएर भिडिओ सार्वजनिक गरियो ।
मान्छेहरू भन्छन्, ‘पब्लिक फिगर भएपछि जसले जेसुकै भने पनि वास्ता गर्नुहुँदैन ।’ तर, म पनि त मान्छे नै हुँ । मेरा पनि भावना छन् । सामाजिक सञ्जालका कमेन्ट हेर्छु, त्यहाँ ‘रत्नपार्कमा ताली पिट्ने मान्छेलाई किन सांसद बनाएको ?’, ‘यस्तालाई राज्यको करबाट किन तलब खुवाउने?’ जस्ता एकदमै तल्लो स्तरको शब्द देख्छु । यस्ता कमेन्ट देख्दा हाम्रो समाजबाट मानवीय संवेदना हराइसक्यो जस्तो लाग्छ । अध्यादेशको विषयलाई लिएर ट्रोलिङ भएका भिडिओमा आएका कमेन्ट हेरेर म त्यो दिन रातभर निदाउन सकिनँ ।
मेरो काम र योग्यताभन्दा मेरो व्यक्तिगत जीवन र हुलियामाथि प्रहार गरिन्छ । प्रधानमन्त्रीज्यूको सम्पत्ति विवरण सार्वजनिक हुँदा मलाई संसद भवनबाहिर बसेका पत्रकारहरूले प्रश्न गरे, “प्रधानमन्त्रीको त १९० तोला सुन रहेछ, तपाईंको घाँटीमा सुन खोइ ?”
म स्कुटरमा हिँड्छु । “अरू भीआईपी कारमा हिँड्छन्, तपाईँ किन स्कुटरमा ?” भनेर व्यङ्ग्य गर्छन् । मेरो शपथ ग्रहणको दिनमा "भूमिका श्रेष्ठको पहिलो यौन सम्बन्धको अनुभव" भनेर पुराना असान्दर्भिक भिडिओ भाइरल बनाइयो । मेरो ‘ब्रेस्ट इम्प्लान्ट’ जस्ता व्यक्तिगत कुरालाई लिएर अमेरिकाको पैसा लिएर गरेको भन्दै भद्दा मजाक गरियो । के एउटा सांसदको चाहिँ व्यक्तिगत जीवन हुँदैन र !
अहिले हातमा महँगो मोबाइल र माइक बोकेर हिँड्ने धेरैजसो पत्रकार हुन् कि ट्रोलर, म आफैँ अलमलमा पर्छु । राज्यको चौथो अङ्गको भूमिका त समाजलाई सही दिशा दिने र सरकारको काममा सहि हो वा होइन भनेर खबरदारी गर्ने हो । पत्रकारिताका नाममा अधिकांश मानिसहरू ‘कसरी अरूलाई खराब देखाएर भ्युज बटुल्ने?’ भन्ने होडबाजीमा छन् । म लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्छु । कानुन, न्याय तथा मानव अधिकार समितिमा पनि छु । मलाई योसँग सम्बन्धित विषयमा प्रश्न आओस् न । व्यक्तिगत र अनावश्यक प्रश्न मात्र किन आउँछ ?
नीति निर्माण गर्ने ठाउँमा पुगेको नाताले मलाई के लाग्छ भने, यो अनलाइन ट्रोलिङ र हेट स्पिचलाई अब व्यवस्थित गर्नैपर्छ । प्रेस स्वतन्त्रताको नाममा कसैको व्यक्तिगत निजता र मानसिक स्वास्थ्यमाथि खेलबाड गर्ने छुट कसैलाई हुनुहुँदैन । म यो विषयमा सदनमा पनि आवाज उठाउनेछु ।
(प्रतिनिधि सभा सदस्य भूमिका श्रेष्ठले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा टेकपानाले आइतबार आयोजना गरेको कार्यक्रममा राखेका भनाइमा आधारित)
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८३ १७:४८
