काठमाडौँ । नेपालमा राइड शेयरिङ सेवाको पर्यायवाची बनेको पठाओ नेपालबाट प्रबन्ध निर्देशक असीममानसिंह बस्न्यात बाहिरिएका छन् । सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले नेपालमा राइड शेयरिङ सेवाको नयाँ संस्कृतिको स्थापना गरेको मानिन्छ ।
यद्यपि उनको बहिर्गमनको कारण भने स्पष्ट छैन । स्थापनाकालदेखि पठाओ नेपालमा आबद्ध बस्न्यातको कार्यकालले मङ्गलबार मात्रै आठ वर्ष पुरा गरेको थियो । टेकपानासँगको संक्षिप्त कुराकानीमा उनले ८ वर्षमा जिम्मेवारीबाट बिदा हुने आफ्नो पुरानै उद्घोष रहेको र सोही अनुरूप बिदा भएको सुनाए ।
प्रारम्भिक चरणमा नियामकीय अस्पष्टता, बजारको अविश्वास र पूर्वाधारको अभाव जस्ता चुनौतीका बीच बस्न्यातको नेतृत्वले कम्पनीलाई अघि बढाएको थियो । उनको नेतृत्वमा पठाओले केवल सेवा विस्तार मात्र गरेन, सहरी जीवनशैलीमै परिवर्तन ल्याउने गरी राइड शेयरिङ प्रयोगको बानी बसाल्यो । यसको जस बस्न्यातको नेतृत्वलाई नै जान्छ ।
हाल पठाओ नेपाल काठमाडौँ उपत्यका र देशका सातै प्रदेशमा सञ्चालनमा छ । यसले हजारौँ चालक साझेदारलाई रोजगारी तथा आम्दानीको अवसर उपलब्ध गराएको छ । जसले गिग इकोनोमीको विस्तारमा समेत योगदान पुर्याएको छ ।
पछिल्लो समय कम्पनी बहुआयामिक सेवातर्फ विस्तार हुँदै गएको छ । अब यो केवल सवारी सेवा मात्र नभई लामो दूरीका सवारी बुकिङ, सहरबिचको आवतजावत सेवा, खाना डेलिभरी, नेपालभर पार्सल डेलिभरी र बजार प्लेटफर्मजस्ता सुविधासहित एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
पठाओ नेपालले बस्न्यातको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै उनको आगामी यात्राका लागि शुभकामना दिएको जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २३, २०८३ १३:९
