close

प्रयोगकर्तालाई थाहै नदिई गुगल क्रोमले मोबाइल तथा कम्प्युटरमा सुटुक्क ४ जीबीको फाइल घुसाएको खुलासा

टेकपाना टेकपाना

बैशाख २४, २०८३ १६:२८

प्रयोगकर्तालाई थाहै नदिई गुगल क्रोमले मोबाइल तथा कम्प्युटरमा सुटुक्क ४ जीबीको फाइल घुसाएको खुलासा

काठमाडौँ । विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर गुगल क्रोमले आफ्ना प्रयोगकर्ताहरूलाई जानकारी नै नदिई ब्याकग्राउन्डमा करिब ४ जीबी साइजको ठुलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल डाउनलोड गरिरहेको तथ्य सार्वजनिक भएको छ । कम्प्युटर वैज्ञानिक र सुरक्षा अनुसन्धानकर्ता अलेक्जेण्डर हान्फले यसको खुलासा गरेपछि प्रविधि जगतमा नयाँ बहस सुरु भएको हो ।

हान्फ 'द प्राइभेसी गाई' को नामले समेत चिनिन्छन् । उनका अनुसार, क्रोमले weights.bin नामको एक ठुलो फाइल प्रयोगकर्ताको कम्प्युटरमा OptGuideOnDeviceModel नामक फोल्डरमा लुकाएर राखिरहेको छ । यो फाइल वास्तवमा गुगलको जेमनाई नानो हो, जुन विशेष गरी स्मार्टफोन र कम्प्युटर जस्ता उपकरणहरूमा सिधै चल्ने गरी डिजाइन गरिएको हलुका एआई मोडेल हो ।

यो मोडेलले क्रोममा उपलब्ध एआई सुविधाहरू जस्तै Help me write (मलाई लेख्न मद्दत गर), टेक्स्टको सारांश निकाल्ने, अटो-फिल र अन-डिभाइस स्क्याम डिटेक्सन (ठगी पहिचान) लाई पावर दिने गर्दछ । अन-डिभाइस मोडेल हुनुको अर्थ यसले प्रयोगकर्ताको डेटा क्लाउड सर्भरमा नपठाई कम्प्युटर तथा मोबाइलकै सीपीयू वा जीपीयू प्रयोग गरेर प्रोसेसिङ गर्दछ । जसले गोपनीयतामा मद्दत पुर्‍याउँछ ।

यस घटनाले एआई मोडेलको उपयोगिताभन्दा पनि यसलाई उपलब्ध गराउने तरिकामा प्रश्न उठाएको छ । अनुसन्धानकर्ता हान्फले दाबी गरेअनुसार गुगलले यो फाइल इन्स्टल गर्न प्रयोगकर्तासँग कुनै अनुमति माग्दैन । न त यसको बारेमा कुनै सूचना नै दिन्छ । यदि प्रयोगकर्ताले यो फाइल म्यानुअल रूपमा डिलिट गरे पनि क्रोम रिस्टार्ट गर्दा यो फेरि आफैँ डाउनलोड हुन्छ ।

हान्फका अनुसार यसले युरोपेली युनियनको जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) को कानुनी, निष्पक्ष र पारदर्शी सिद्धान्तहरूको उल्लङ्घन गर्न सक्छ । साथै उनले यसको वातावरणीय प्रभावबारे पनि चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार यदि यो ४ जीबीको फाइल विश्वभरका ५० करोड डिभाइसमा डाउनलोड भयो भने यसले करिब ३० हजार टन कार्बन उत्सर्जन गर्नेछ । जुन ६,५०० कारले एक वर्षमा गर्ने उत्सर्जन बराबर हो ।

सोसल मिडियामा कतिपयले यसलाई स्पाइवेयरको संज्ञा दिए पनि विज्ञहरूले भने यो मालवेयर नभई गुगलको प्रविधि विस्तारको एक अपारदर्शी तरिका मात्र भएको बताएका छन् ।

विवाद बढेपछि गुगलका प्रवक्ताले स्पष्टीकरण दिँदै भनेका छन्, "हामीले सन् २०२४ देखि नै क्रोमका लागि जेमनाई नानो उपलब्ध गराउँदै आएका छौँ । यसले क्लाउडमा डेटा नपठाई स्क्याम डिटेक्सन जस्ता महत्त्वपूर्ण सुरक्षा फिचरहरू प्रदान गर्दछ । यदि प्रयोगकर्ताको कम्प्युटरमा स्टोरेज क्षमता कम छ भने यो मोडेल स्वतः अनइन्स्टल हुन्छ ।"

गुगलले सन् २०२६ को फेब्रुअरीदेखि नै प्रयोगकर्ताहरूलाई क्रोम सेटिङमार्फत यो सुविधा बन्द गर्ने र मोडेल हटाउने विकल्प दिन थालेको पनि दाबी गरेको छ । यद्यपि धेरै प्रयोगकर्ताहरूले अझै पनि आफ्नो ब्राउजरमा त्यस्तो कुनै सेटिङ नदेखिएको गुनासो गरेका छन् ।

तपाईँको कम्प्युटरमा यो फाइल छ कि छैन कसरी जाँच गर्ने ?

यदि तपाईँ क्रोम प्रयोगकर्ता हुनुहुन्छ र आफ्नो स्टोरेज घटेको महसुस गर्नुभएको छ भने तपाईँले आफ्नो फाइल म्यानेजरमा गएर OptGuideOnDeviceModel फोल्डर खोज्न सक्नुहुन्छ । उक्त फोल्डर खोज्न विन्डोजमा File Explorer अथवा म्याकमा Finder मा जानुपर्ने हुन्छ ।

यसलाई हटाउनका लागि सबैभन्दा पहिला क्रोमको एड्रेस बारमा chrome://on-device-internals टाइप गरेर तपाईँको डिभाइसमा मोडेल छ कि छैन र यसले कति ठाउँ ओगटेको छ हेर्न सक्नुहुन्छ । त्यसपछि यसलाई बन्द गर्न क्रोमको Settings > System मा गएर On-device AI को टोगल बन्द गर्नुपर्ने हुन्छ ।

यदि यो विकल्प उपलब्ध छैन भने chrome://flags मा गएर एआईसँग सम्बन्धित फिचर (Optimization guide on device) डिसेबल गर्न सकिन्छ ।

विज्ञहरूका अनुसार यो मोडेल हटाउँदा क्रोमका एआई फिचरहरूले काम गर्ने छैनन् र केही अवस्थामा ब्राउजरको प्रदर्शनमा सामान्य असर पर्न सक्छ । यो घटनाले ठुला प्रविधि कम्पनीहरूले एआई लागु गर्दा प्रयोगकर्ताको स्टोरेज, ब्यान्डविथ र गोपनीयताप्रति कत्तिको जिम्मेवार हुनुपर्छ भन्ने गम्भीर प्रश्न उठाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८३ १६:२९