close

यात्रुका निजी विवरण सामाजिक सञ्जालमा लिक गर्दै राइड शेयरिङ चालक, प्रहरी भन्छ- कारबाही गर्छौँ

टेकपाना टेकपाना

बैशाख २५, २०८३ १९:३

यात्रुका निजी विवरण सामाजिक सञ्जालमा लिक गर्दै राइड शेयरिङ चालक, प्रहरी भन्छ- कारबाही गर्छौँ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले राइड शेयरिङ एप प्रयोग गर्ने यात्रुहरूको व्यक्तिगत विवरण र फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने चालकहरूलाई कारबाहीको चेतावनी दिएको छ । पछिल्लो समय पठाओ, इनड्राइभ, याङ्गोजस्ता एपका चालकहरूले भाडा कम भएको वा अन्य असन्तुष्टिको नाममा यात्रुको गोपनीयता हनन् गरेको पाइएको भन्दै प्रहरीले सचेत गराएको हो ।

परिसरले विभिन्न राइड शेयरिङ चालकहरूले कम भाडा लगायतका विषयमा यात्रुको नाम, फोन नम्बर र फोटोसमेत देखिने गरी स्क्रिनशट सामाजिक सञ्जालमा पोस्ट गरिरहेको पाइएको जनाएको छ । यस्ता कार्यले यात्रुको गोपनीयताको हक र सुरक्षामा खतरा पैदा गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गर्दै आएका छन् ।

पछिल्लो समय विभिन्न राइड शेयरिङ एपसँग सम्बन्धित सामाजिक सञ्जाल ग्रुपहरूमा चालकहरूले बिना अनुमति यात्रुसँगको कुराकानी रेकर्ड गर्ने, अपशब्द प्रयोग गर्ने तथा यात्रुको तस्बिर-भिडिओ खिचेर सार्वजनिक गरेको देखिन्छ । 

“पछिल्लो समय विभिन्न राइड शेयरिङ चालकहरूले यात्रुको विवरण सामाजिक सञ्जालमा हाल्ने गरेको पाइएको छ, त्यस्ता कार्य नगर्न अनुरोध गरिन्छ । अब उप्रान्त त्यस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ,” परिसरले एक सूचनामा भनेको छ ।

विशेषगरी महिला यात्रुहरूलाई लक्षित गरी उनीहरूको विवरण सार्वजनिक गरिँदा असुरक्षा र मानसिक तनाव बढ्ने भन्दै नागरिक समाज र अधिकारकर्मीहरूले पनि चिन्ता व्यक्त गर्दै आएका छन् । कतिपय चालकले भाइरल हुन वा अन्य चालकलाई सचेत गराउने बहानामा यात्रुको मानमर्दन गरिरहेको गुनासोका आधारमा प्रहरी सक्रिय भएको परिसरले जनाएको छ ।

प्रहरीले पहिले नै यस्ता सामग्री पोस्ट गरिसकेका चालकहरूलाई पनि तत्काल त्यस्ता पोस्ट हटाउन आग्रह गरेको छ । यात्रुको फोटो वा विवरण बिना सहमति सार्वजनिक गर्नु गोपनीयता सम्बन्धी कानुन र विद्युतीय कारोबार ऐन विपरीतको कसुर हो ।

यदि कुनै यात्रुको विवरण यसरी सार्वजनिक गरिएको पाइएमा सम्बन्धित राइड शेरिङ कम्पनीको ‘सपोर्ट’ मा उजुरी गर्नुका साथै नजिकैको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बर १०० र १०३ मा सम्पर्क गर्न सकिन्छ ।

राइड शेयरिङ कम्पनीहरूले पनि आफ्ना चालकहरूलाई आचारसंहिता पालना गराउन र उल्लंघन गर्ने चालकलाई प्लेटफर्मबाट हटाउन प्रहरीले ध्यानाकर्षण गराएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८३ १९:३