प्रधानमन्त्री बालेनलाई ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङको नाममा भाइरल भएको स्क्रिनशट नक्कली
बैशाख २६, २०८३ १३:१८
काठमाडौँ । सामाजिक सञ्जालमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै प्रतिपक्षी दलका नेता एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले ज्यान मार्ने धम्की दिएको भन्दै फैलिएको एक फेसबुक पोस्टको स्क्रिनशट नक्कली भएको पाइएको छ । शनिबारदेखि सामाजिक सञ्जालमा चर्चा पाइरहेको उक्त स्क्रिनशट जस्तो देखिने फोटो नक्कली रहेको पुष्टि भएको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङको आधिकारिक फेसबुक अकाउन्टबाट पोस्ट गरिएजस्तो देखिने स्क्रिनशटमा प्रधानमन्त्री बालेनलाई मार्ने व्यक्तिलाई एक करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको दाबी गरिएको छ । उक्त दाबीसहितको तस्बिर विभिन्न फेसबुक ग्रुप र व्यक्तिगत अकाउन्टबाट शेयर भइरहेको छ । तर, टेकपानाले गरेको प्राविधिक विश्लेषणले उक्त स्क्रिनशट वास्तविक पोस्ट नभई एडिट गरिएको भ्रामक सामग्री भएको देखाएको छ ।

उक्त भाइरल स्क्रिनशट नक्कली भएको पुष्टि गर्ने पहिलो र प्रमुख आधार त्यसमा रहेका गम्भीर भाषिक त्रुटिहरू हुन् । वास्तविक पोस्टमा रहेको टेक्स्टलाई एडिट गरी हटाएर भ्रामक जानकारी राख्ने क्रममा धेरै शब्दको हिज्जे र शुद्धाशुद्धि बिगारिएको छ ।

उदाहरणका लागि उक्त भ्रामक पोस्टमा ‘पार्टी’ लेखिनुपर्ने ठाउँमा ‘पाटी’ र ‘करोड’ हुनुपर्ने ठाउँमा ‘कोरोड’ जस्ता अशुद्ध शब्दको प्रयोग गरिएको छ । यसले यो सामग्री हतारमा वा असावधानीपूर्वक बनाइएको नक्कली पोस्ट हो भन्ने स्पष्ट पार्छ ।
त्यसैगरी प्राविधिक पक्षबाट हेर्दा फन्ट र अलाइनमेन्ट (अक्षरहरूको सजावट र स्थान) मा पनि त्रुटि फेला परेका छन् । टेकपानाको गरेको परीक्षणबाट यो स्क्रिनशट सुरुमा कुनै एन्ड्रोइड स्मार्टफोनबाट लिइएको पृष्ठभूमिलाई प्रयोग गरेर बनाइएको देखिन्छ ।
सामान्यतया फेसबुक अकाउन्ट वा पेजबाट कुनै पनि ब्याकग्राउन्ड प्रयोग गरेर टेक्स्ट पोस्ट गर्दा फेसबुकको सिस्टमले स्वचालित रूपमा अक्षरलाई ‘मिडल अलाइनमेन्ट’ (बीच भागमा) राख्ने गर्छ । तर, भाइरल स्क्रिनशटमा अक्षर ब्याकग्राउन्डको बीचमा नभई निकै माथि र असन्तुलित रूपमा राखिएको देखिन्छ । यसका साथै, उक्त पोस्टमा प्रयोग गरिएको फन्ट फेसबुकले ब्याकग्राउन्ड पोस्टका लागि प्रयोग गर्ने स्ट्यान्डर्ड टाइपोग्राफीसँग मेल खाँदैन । दुई लाइनबीचको दुरी पनि बढी छ ।

तस्बिरको थप विश्लेषण गर्दा अक्षरको वरिपरि ‘कम्प्रेसन आर्टिफ्याक्ट्स’ अर्थात् पिक्सेल धमिलो वा लत्पतिएको प्रष्ट देखिन्छ । कुनै पनि पहिल्यै रहेको तस्बिरमाथि डिजिटल रूपमा नयाँ अक्षर थप्दा अर्थात् ‘म्यानुअल ओभरले’ गर्दा पृष्ठभूमि र अक्षरको पिक्सेल नमिल्दा यस्तो प्राविधिक त्रुटि देखिने गर्दछ । यसले उक्त टेक्स्ट फेसबुकको ओरिजिनल पोस्ट नभई बाहिरबाट एडिट गरेर टाँसिएको हो भन्ने प्राविधिक पुष्टि गर्छ ।
भाइरल तस्बिरमा उक्त पोस्ट ‘चार घण्टाअघि’ गरिएको भनेर समय समेत देखाइएको छ । तर, एड्भान्स सर्च र सामाजिक सञ्जालका विभिन्न अनुसन्धान पद्धति प्रयोग गरेर खोजतलास गर्दा सांसद साम्पाङको आधिकारिक पेज वा अकाउन्टमा यस्तो कुनै पनि सामग्री पोस्ट भएको भेटिएन । साथै, देशको प्रधानमन्त्री जस्तो उच्च पदस्थ व्यक्तिलाई प्रतिपक्षी दलको संसदीय दलको नेताले सार्वजनिक रूपमै ज्यान मार्ने धम्की दिनु र एक करोडको अफर गर्नु सामान्य विषय होइन । यदि त्यस्तो पोस्ट साँच्चै गरिएको भए देशका सबैजसो मूलधारका राष्ट्रिय सञ्चारमाध्यममा यो विषयले प्रमुख प्राथमिकताका साथ स्थान पाउने थियो, जुन अहिलेसम्म कतै पनि समाचार बनेको छैन ।
पछिल्लो समय प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर सांसद साम्पाङले सरकारको आलोचना गर्दै आएका छन् । देशको यही समसामयिक राजनीतिक सन्दर्भलाई जोडेर हर्क साम्पाङ र बालेनबिच वैमनश्यता रहेको देखाउने र समाजमा भ्रम फैलाउने मनसायले नक्कली स्क्रिनशट तयार पारिएको देखिन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८३ १४:१७
