close

कुहिने फोहोरमैलाको वैज्ञानिक तथा प्रविधियुक्त व्यवस्थापन गर्ने उपाय खोज्दै काठमाडौँ महानगर

टेकपाना टेकपाना

बैशाख २७, २०८३ १०:२५

कुहिने फोहोरमैलाको वैज्ञानिक तथा प्रविधियुक्त व्यवस्थापन गर्ने उपाय खोज्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र उत्सर्जन हुने कुहिने फोहोरमैलाको वैज्ञानिक तथा प्रविधियुक्त व्यवस्थापनका लागि उपयुक्त विधि सिफारिस गर्न सम्बन्धित व्यक्ति, सङ्घ-संस्था तथा कम्पनीहरूसँग सुझाव माग गरेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आइतबार एक सूचना जारी गर्दै १५ दिनभित्र यस्तो सुझाव पेस गर्न आह्वान गरेको हो ।

आर्थिक वर्ष ०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममार्फत महानगरपालिकाले स्रोतमा फोहोरमैला वर्गीकरण, वेस्ट टु इनर्जी (waste to energy) र जिरो वेस्ट (zero waste) सिटीको लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरूप कुहिने फोहोरलाई स्रोतको रूपमा प्रयोग गरी वातावरण संरक्षण गर्ने, ल्यान्डफिल साइटमा विसर्जन हुने फोहोरको भार घटाउने र चक्रीय अर्थतन्त्रमा सहयोग पुर्‍याउने महानगरको उद्देश्य रहेको छ ।

महानगरपालिकाका अनुसार सिफारिस गरिने विधि प्रविधियुक्त, गन्ध रहित, वातावरणमैत्री हुनुका साथै सामाजिक विकास र नेपाल सरकारको स्वीकृत मापदण्डलाई समेत ध्यानमा राखेको हुनुपर्नेछ । व्यवस्थापन गर्न इच्छुक व्यक्ति, सङ्घ-संस्था तथा कम्पनीहरूले प्राविधिक र व्यावसायिक सम्भाव्यतासहितको प्रस्ताव काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको वातावरण व्यवस्थापन विभागमा हार्ड कपि बुझाउन वा [email protected] ईमेल मार्फत पठाउन सक्ने व्यवस्था मिलाइएको छ ।

यसरी प्राप्त भएका सुझाव र सिफारिसहरूको आधारमा उपयुक्त विधि र प्रक्रिया छनोट गरी महानगरपालिकाले आगामी दिनमा कुहिने फोहोरमैला व्यवस्थापन गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८३ १०:४७