अनुमति बिना तस्बिर प्रयोग गरेको भन्दै पप स्टार युवतीले सामसङविरुद्ध हालिन् करिब सवा २ अर्बको मुद्दा
बैशाख २७, २०८३ १५:८
काठमाडौँ । बेलायती पप स्टार तथा गायिका डुआ लिपाले सामसङ इलेक्ट्रोनिक्स विरुद्ध कम्तीमा १ करोड ५० लाख अमेरिकी डलर (करिब सवा २ अर्ब रुपैयाँ) को क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छन् । कम्पनीले अनुमतिबिना टेलिभिजनको प्याकेजिङ बक्समा आफ्नो तस्बिर प्रयोग गरेको भन्दै उनले कम्पनी विरुद्ध मुद्दा हालेकी हुन् ।
शुक्रबार क्यालिफोर्नियाको सेन्ट्रल डिस्ट्रिक्टको संयुक्त राज्य जिल्ला अदालतमा दायर गरिएको उक्त उजुरीअनुसार सामसङले गत वर्षदेखि आफ्नो क्रिस्टल यूएचडी टिभी सिरिजको कार्डबोर्ड प्याकेजिङको अगाडिको भागमा लिपाको तस्बिर राखेर अमेरिकाभर बिक्री वितरण गरिरहेको छ । उक्त तस्बिर सन् २०२४ मा अस्टिन सिटी लिमिट्स म्युजिक फेस्टिभलको ब्याकस्टेजमा खिचिएको थियो । अमेरिकी प्रतिलिपि अधिकार कार्यालयमा Dua Lipa – Backstage at Austin City Limits, 2024 को नाममा आधिकारिक रूपमा दर्ता रहेको छ । यस तस्बिरको प्रतिलिपि अधिकार लिपामै निहित रहेको दाबी गरिएको छ ।
लिपाको कानुनी टोलीले सामसङमाथि प्रतिलिपि अधिकार उल्लङ्घन, ट्रेडमार्क उल्लङ्घन, क्यालिफोर्नियाको पब्लिसिटी अधिकारसम्बन्धी कानुनको उल्लङ्घन र सङ्घीय लानहम ऐन (Lanham Act) अन्तर्गत गलत विज्ञापन तथा झुटो इन्डोर्समेन्टको आरोप लगाएको छ । सामसङले कुनै पनि सम्झौता, लाइसेन्स वा स्वीकृति बिना व्यापारिक रूपमा तस्बिर प्रयोग गरी लिपाको ख्याति र सेलिब्रेटी छविको फाइदा उठाएको दाबी गरिएको छ । यसले गर्दा उपभोक्ताहरू उनी ब्रान्ड प्रचारका लागि एम्बेस्डर हुन् र उक्त उत्पादनसँग उनको सहकार्य रहेको छ भन्ने भ्रममा परेका छन् ।
यस दाबीलाई पुष्टि गर्न उजुरीमा सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) का प्रतिक्रियाहरू पनि प्रमाणका रूपमा प्रस्तुत गरिएका छन् । जसमा केही ग्राहकहरूले तस्बिरकै कारण प्रभावित भएर टिभी किनेको बताएका छन् । प्रयोगकर्ताहरूले लेखेका छन्, "म टिभी किन्ने योजनामा थिइनँ । तर बक्समा डुआ लिपालाई देखेर किनेँ", "डुआ लिपा भएकै कारण म त्यो टिभी किन्छु, म उनीप्रति यति धेरै मोहित छु।"
लिपाले आफ्नो प्रिमियम ब्रान्ड कायम राखेको र ब्रान्ड साझेदारी (Endorsements) को मामिलामा आफू धेरै छनोटपूर्ण रहेको उजुरीमा उल्लेख गरेकी छन् । उनले आम उपभोक्ता उत्पादनको प्याकेजिङ मोडेलको रूपमा काम गर्न आफूले कहिल्यै सहमति नदिएको र नदिने स्पष्ट पार्दै आफ्नो जानकारी र नियन्त्रण बिना ठुलो मार्केटिङ अभियानमा आफ्नो अनुहार प्रयोग गरिएको बताएकी छन् ।
अदालती कागजातका अनुसार लिपाको पक्षले सन् २०२५ को जुन महिनामै सामसङलाई उक्त तस्बिरको प्रयोग रोक्न र वितरण गरिएका सामग्री हटाउन माग गरेको थियो । तर कम्पनीले उक्त आग्रहलाई उपेक्षाको रूपमा बेवास्ता गर्दै बिना कुनै ठोस कारबाही टिभीको बिक्री जारी राखेको आरोप छ ।
यसै कारण लिपाले विवादित उत्पादनहरूको थप बिक्रीमा तत्काल रोक लगाउन, कम्तीमा १ करोड ५० लाख डलरको आर्थिक क्षतिपूर्ति, दण्डात्मक क्षतिपूर्ति र कानुनी खर्चको भुक्तानी पाउनुपर्ने माग अदालत समक्ष राखेकी छन् ।
सन् २०१५ मा न्यु लभ सिङ्गल ट्र्याकमार्फत डेब्यु गरेकी र सन् २०१७ मा आफ्नो पहिलो डुआ लिपा नामक एल्बम निकालेकी ३० वर्षीया लिपाले हालसम्म ३ वटा ग्रामी अवार्ड र ७ वटा ब्रिट अवार्ड जितिसकेकी छन् ।
यस कानुनी विवादले अन्तर्राष्ट्रिय ब्रान्ड र सेलिब्रेटीहरूबिचको प्रतिलिपि र तस्विरमाथिको अधिकारका विषयमा अनलाइन जगत्मा ठुलो बहस निम्त्याएको छ । यद्यपि यस विषयमा सामसङ इलेक्ट्रोनिक्सले हालसम्म कुनै पनि आधिकारिक सार्वजनिक प्रतिक्रिया वा वक्तव्य जारी गरेको छैन ।
पछिल्लो अध्यावधिक: बैशाख २७, २०८३ १५:१०
