काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना क्रियाशील सदस्यताको अद्यावधिक कार्य अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले एक सूचना जारी गर्दै क्रियाशील सदस्यहरूले अब मोबाइल एप तथा कम्प्युटरमार्फत आफैँ आफ्नो सदस्यता अद्यावधिक गर्न सक्ने जनाएको हो ।
समितिका अनुसार सदस्यता अद्यावधिक गर्नका लागि सदस्यहरूले काँँग्रेसको वेबसाइटकाे दायाँ तर्फ माथिल्लो भागमा रहेको स्वयँ सदस्यता आवेदन फाराममा अथवा सिधै यहाँ क्लिक गरी आवश्यक विवरण भर्न सकिने छ । फाराम भरिसकेपछि सम्बन्धित विवरण स्वतः वडा सभापतिको प्रणालीमा पुग्ने समितिले जनाएको छ ।
त्यसपछि वडा सभापतिले सदस्यले उल्लेख गरेको मोबाइल नम्बरमा पठाइने ओटीपी मार्फत विवरण प्रमाणीकरण गर्नेछन् । प्रमाणीकरण प्रक्रिया पुरा भएपछि क्रियाशील सदस्यता सहज रूपमा अद्यावधिक हुने समितिले जनाएको छ ।
नेपाली काँग्रेसले यस प्रणालीमार्फत सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउने लक्ष्य राखेको छ । अनलाइन प्रणाली लागु भएपछि सदस्यहरूले सम्बन्धित स्थानसम्म धाउनुपर्ने झन्झट कम हुने पार्टीको विश्वास छ ।
सदस्यता अद्यावधिकका क्रममा कुनै समस्या आएमा ९७०१२५५५५५, ९७१२२६५६३१ र ९७१२०५६३५२ नम्बरमा सम्पर्क गर्न सकिने सदस्यता व्यवस्थापन केन्द्रीय समितिले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १३:२९
