close

दूरसञ्चार सेवामार्फत नेपाल टेलिकमले ९ महिनामै कमायो करिब २६ अर्ब रुपैयाँ, खुद मुनाफा ६ अर्व २७ करोड

टेकपाना टेकपाना

बैशाख ३१, २०८३ ८:१२

दूरसञ्चार सेवामार्फत नेपाल टेलिकमले ९ महिनामै कमायो करिब २६ अर्ब रुपैयाँ, खुद मुनाफा ६ अर्व २७ करोड

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मुनाफा र आम्दानी दुवैमा सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा दूरसञ्चार सेवामार्फत मात्रै करिब २६ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको हो ।

वित्तीय प्रतिवेदन अनुसार कम्पनीको कूल सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ करोड २० लाख रुपैयाँ (२.४२ प्रतिशत) ले बढी हो । विशेषगरी जीएसएम सेवातर्फको राजस्वमा ५७ करोड ७४ लाख रुपैयाँ (२.७६ प्रतिशत) को वृद्धि देखिएको छ । जसले कूल आम्दानी बढाउन मुख्य भूमिका खेलेको छ । त्यस्तै कम्पनीको कूल आय २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको खुद मुनाफामा समेत राम्रो सुधार देखिएको छ । चैत मसान्तसम्ममा टेलिकमले ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ५६ करोड २४ लाख रुपैयाँ अर्थात् ९.८५ प्रतिशतले बढी हो । नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ४२.३ रुपैयाँबाट बढेर ४६ रुपैयाँ ४७ पैसा पुगेको छ ।

यस पटक नाफा बढ्नुमा सञ्चालन आम्दानीमा भएको वृद्धि मात्र नभई खर्च व्यवस्थापनले पनि सहयोग गरेको देखिन्छ । प्रतिवेदनका अनुसार ह्रासकट्टी खर्च ३८ करोड ६९ लाख रुपैयाँ (८.४६ प्रतिशत) ले घटेको छ । जसले नाफालाई माथि लैजान मद्दत पुर्‍याएको छ । यद्यपि बजारमा ब्याजदर घट्दा कम्पनीको वित्तीय आम्दानी भने करिब ५७ करोड ६६ लाख रुपैयाँ (२०.५७ प्रतिशत) ले घटेको उल्लेख छ ।

टेलिकमका लागि फेसबुक, मेसेन्जर, ह्वाट्सएप र भाइबर जस्ता ओटीटी एपहरूको बढ्दो प्रयोग ठुलो चुनौतीको रूपमा रहँदै आएका छन् । यसले गर्दा अन्तर्राष्ट्रिय र आन्तरिक भ्वाइस सेवाबाट हुने आम्दानीमा सङ्कुचन आएको छ । यस चुनौतीलाई चिर्न टेलिकमले पुराना कपर प्रविधिमा आधारित एडीएसएल र पीएसटीएन ग्राहकहरूलाई द्रुत गतिको एफटीटीएचमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ । हाल ७७ वटै जिल्लामा फोरजी एलटीई सेवा विस्तार भइसकेको र प्रविधि रूपान्तरणमा जोड दिइएको व्यवस्थापनको विश्लेषण छ ।

टेलिकमको यो वित्तीय अवस्थाले कम्पनी पुन: लयमा फर्किन खोजेको सङ्केत गरेको छ । यद्यपि तीव्र प्रतिस्पर्धा र प्रविधिमा भइरहेको परिवर्तनले निम्त्याएका चुनौती भने अझै कायमै छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ ८:१२