close

नमस्ते पे र मयूर यातायातको सहकार्यमा सञ्चालनमा आयो एनएफसी मेट्रो कार्ड, एपमै बसको लाइभ लोकेसन

टेकपाना टेकपाना

जेठ १, २०८३ ९:२१

नमस्ते पे र मयूर यातायातको सहकार्यमा सञ्चालनमा आयो एनएफसी मेट्रो कार्ड, एपमै बसको लाइभ लोकेसन

काठमाडौँ । नमस्ते पे र मयूर यातायातबिचको सहकार्यमा एनएफसी मेट्रो कार्ड सेवा सञ्चालनमा आएको छ । यससँगै काठमाडौँको माछापोखरीदेखि काभ्रेको धुलिखेलसम्म चल्ने रुटमा मयूर यातायात चढ्ने यात्रुहरूले कार्डमार्फत नै बस भाडा भुक्तानी गर्न सक्नेछन् ।

हाल मयूर यातायातका २५ वटा बसहरूमा एनएफसी मेट्रो कार्ड प्रणाली जडान गरिएको छ । नमस्ते पेकी प्रवक्ता स्वेता बग्लाका अनुसार सोमबारदेखि नै बसहरूमा स्मार्ट पीओएस (पोइन्ट अफ सेल) मसिन उपलब्ध गराइएको छ । मयूर यातायातबाट सुरु गरिएको यो सेवालाई आगामी दिनमा अन्य यातायात कम्पनीहरूसँगको समन्वयमा विस्तार गर्ने योजना कम्पनीको छ ।

कसरी लिने कार्ड ?

यात्रुहरूले यो सेवा लिनका लागि एन्ड्रोइड वा आईओएस स्टोरबाट नमस्ते पेएप डाउनलोड गर्नुपर्ने हुन्छ । आगामी आइतबार (३ जेठ) रातिदेखि एपमा एनएफसी मेट्रो कार्डका लागि आवेदन दिने फिचर सार्वजनिक गरिने प्रवक्ता बग्लाले जानकारी दिइन् । एपको होम फिडमा नै मेट्रो कार्डको फिचर राखिने छ । 

 

प्रयोगकर्ताले एपमार्फत नै आफूलाई पायक पर्ने ‘पिकअप पोइन्ट’ छनोट गरी कार्डका लागि आवेदन दिन सक्नेछन् । नमस्ते पेले माछापोखरीदेखि धुलिखेलसम्मका बस स्टेसनहरू नजिकै कार्ड सङ्कलन केन्द्र (पिकअप पोइन्ट) हरू तोक्नेछ । 

कार्ड छापिएपछि यात्रुले तोकिएको स्थानबाट आफ्नो कार्ड प्राप्त गर्न सक्नेछन् । हरेक बस स्टेसन नजिकै रहेका पसलहरूलाई पिकअप पोइन्ट तोक्ने गरी सम्झौता भइरहेको उनले जानकारी दिइन् । 

प्रयोग र भुक्तानी प्रक्रिया

कार्ड प्राप्त गरेपछि प्रयोगकर्ताले आफ्नो नमस्ते पे वालेटमार्फत त्यसमा रकम लोड गर्नुपर्ने हुन्छ । हाललाई मेट्रो कार्डमा अधिकतम ५ हजार रुपैयाँसम्म लोड गर्न सकिने व्यवस्था मिलाइएको छ । 

वालेटमा भएका कारोबारको विवरण र रकम कम भएमा त्यसको जानकारी प्रयोगकर्तालाई नोटिफिकेसन मार्फत जानकारी दिइनेछ । यात्राका क्रममा कन्डक्टरले यात्रुको एनएफसी कार्डलाई पीओएस मसिनमा स्क्यान गर्नेछन् । यस प्रक्रियामा यात्रा सुरु भएको र झर्ने स्थानको विवरण (इन्ट्री) गरेपछि आधिकारिक भाडा दर अनुसारको रकम स्वतः काटिनेछ र मसिनबाट टिकेट निस्कनेछ ।

यो कार्ड प्रयोग गर्दा यात्रुले यात्रा गरेको दूरीका आधारमा मात्र भाडा काटिने र मयूर यातायात चल्ने जुनसुकै स्थानबाट सहजै चढ्न र झर्न सकिने कम्पनीले जनाएको छ । 

यस्तै नमस्ते पे एपबाट नै एनएफसी मेट्रो कार्डमा आबद्ध भएका बसहरूको लाइभ लोकेसन अर्थात बस कुन ठाउँमा आइपुग्यो भनेर समेत हेर्न सकिनेछ । नेपाली यातायात क्षेत्रलाई प्रविधिमैत्री र नगद रहित (क्यासलेस) बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । 

“मयूर यातायातसँगको यो सहकार्य एउटा सुरुवात मात्र हो,” प्रवक्ता बग्लाले भनिन्, “हाम्रो लक्ष्य अन्य यातायात व्यवसायीहरूसँग मिलेर देशभर प्रविधिमैत्री यातायात सेवा विस्तार गर्नु हो ।”

 

 

पछिल्लो अध्यावधिक: जेठ १, २०८३ ९:२१