close

डिजिटल प्लेटफर्मबाट प्राप्त सङ्गीतको रोयल्टी बाँडिदै, स्रष्टा र प्रकाशकबिचको लिखित सम्झौतासहित आउन आग्रह

टेकपाना टेकपाना

जेठ ५, २०८३ ८:२४

डिजिटल प्लेटफर्मबाट प्राप्त सङ्गीतको रोयल्टी बाँडिदै, स्रष्टा र प्रकाशकबिचको लिखित सम्झौतासहित आउन आग्रह

काठमाडौँ । सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालले आगामी २५ जेठमा डिजिटल प्लेटफर्महरूबाट सङ्कलन भएको सङ्गीत रोयल्टी वितरण गर्ने भएको छ । स्थापना दिवसको अवसरमा समाजले सङ्गीत रोयल्टी वितरण गर्न लागेको हो । 

‘सङ्गीत रोयल्टी वितरण मापदण्ड, २०७९’ को दफा ७ बमोजिम डिजिटल प्लेटफर्महरूबाट सङ्कलन भएको रोयल्टी वितरण गर्न लागिएको बताइएको छ । उक्त दफामा समाजले सङ्कलन गरेको रोयल्टी समाजमा सदस्य नभएका सदस्यको रकम छुट्टै खाता खोलेर राख्नुपर्ने व्यवस्था छ ।

जसअनुसार समाजको सदस्यता लिएर रचियताले उक्त रोयल्टी रकम भुक्तानी लिन सक्नेछन् । दफा ७ मा भनिएको छ, “सङ्कलित रोयल्टी मध्ये यस समाजमा सदस्य नभएको रचयिताको डेटा खुलेको रोयल्टी छुट्टै खाता खोली ५ वर्षसम्म राख्नु पर्नेछ । सो सम्बन्धित रचयिता यस समाजको सदस्यता लिइ रोयल्टी भुक्तानी लिनु पर्ने हुन्छ। सो कार्य ५ वर्षसम्ममा पनि नभएको खण्डमा यस मापदण्डको दफा ७ को उपदफा ५ बमोजिम स्थापना भएको कोषमा जम्मा गर्नुपर्ने छ ।” 

रोयल्टी समाजका अध्यक्ष, गायक एवं सङ्गीतकार सुरेश अधिकारीका अनुसार रोयल्टीका लागि सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालमा सदस्य नभएका, नेपालमा गीत बजेका विदेशी रचनाकार तथा प्रकाशकहरूले समेत आवेदन दिन सक्नेछन् । उनका अनुसार स्रष्टा र प्रकाशकलाई ५०/५० प्रतिशत रोयल्टी प्रदान गरिनेछ । 

यसका लागि  प्रकाशकले आफ्ना स्रष्टाहरूसँग गरिएको गीत सङ्गीत प्रकाशन सम्बन्धी लिखित सम्झौता पत्र र गीतका विस्तृत विवरण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । रोयल्टीका लागि १५ जेठसम्ममा कागजात बुझाइ सक्नु पर्ने छ ।  जुनसुकै समयमा प्रकासित भएका सङ्गीतका प्रकाशक र रचनाकारहरू आवश्यक कागजात सहित रोयल्टीका लागि आउन सक्ने अध्यक्ष अधिकारीले बताए । 

हालसम्म युट्युब, टिकटक, मेटा, स्पोटिफाई जस्ता डिजिटल प्लेटफर्मबाट सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालले लाइसेन्स प्राप्त गरेको अध्यक्ष अधिकारीले जानकारी दिए । उनले भने, “यी प्लेटफर्मबाट लाइसेन्स पनि भर्खरै पाएको हो । पहिला यिनीहरूमा पनि हाम्रो एक्सेस कहाँ थियो र ! हामीसँग सफ्टवेयर र तालिम प्राप्त जनशक्ति थिएनन् । प्रकाशकहरूले पनि आवश्यक डेटाहरू उपलब्ध गराएका छैनन् । स्रष्टाहरूलाई रोयल्टीको बारेमा जानकारी नै छैन,” पछिल्लो समयमा समाजले बढीभन्दा बढि डिजिटल प्लेटफर्मसँग जोडिन कोसिस गरिरहेको उनले बताए । 

हाल रोयल्टी वितरण डिजिटल प्लेटफर्ममा मात्र केन्द्रित रहेको छ । संस्था अझै पूर्ण रूपमा सङ्गठित हुने र जनशक्ति व्यवस्थापन गर्ने प्रारम्भिक चरणमा रहेकाले रेडियो, टेलिभिजन वा सार्वजनिक यातायात जस्ता अफलाइन क्षेत्रबाट रोयल्टी सङ्कलन र अनुगमन गर्ने संयन्त्र अझै प्रभावकारी भइसकेको छैन । त्यसैले, तत्कालका लागि उपलब्ध डेटाका आधारमा डिजिटल प्लेटफर्मबाट प्राप्त विवरणलाई नै आधार मानी वितरण गर्न लागिएको अध्यक्ष अधिकारीले बताए ।

सङ्गीत रोयल्टी सङ्कलन समाजले प्रकाशक र रचनाकारहरूलाई वार्षिक रूपमा रोयल्टी प्रदान गर्दै आएको छ । अध्यक्ष अधिकारीले भने,  “तीन तीन महिनामा दिने हाम्रो चाहना हो । तर, अहिले हामीले वार्षिक रूपमा मात्र रोयल्टी प्रदान गर्न सकिरहेका छौँ ।”

 

 

पछिल्लो अध्यावधिक: जेठ ५, २०८३ ८:३६